
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानअन्तर्गत ४६ लाख रूपैयाँ नगद जुटाएको छ। यस क्रममा २४ लाख हस्ताक्षर जुटेको पनि रास्वपाले दाबी गरेको छ।
बिहीबार पत्रकार सम्मेलनमा अभियान संयोजक दीपक बोहराले प्रस्तुत गरेको विवरणअनुसार, हालसम्म जम्मा भएको सहयोग रकम ४६ लाख १२ हजार ६३७ रूपैयाँ रहेको छ।
तर, खर्च भने ५९ लाख ६७ हजार भएको छ। १३ लाख ५४ हजार ४८६ रूपैयाँ घाटामा रहेको बोहराले जानकारी दिए। आम्दानीभन्दा खर्च बढी भएकाले अभियान अझै लामो समय चल्दा थप खर्च हुने अनुमान छ।
रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै जनसमर्थन जुटाउन असार ७ गतेदेखि अभियान सुरु गरेको थियो। यो अभियान कम्तीमा एक सय दिन चल्ने बताएको छ।
हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितिले अभियानको नेतृत्व गरेका छन्। साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्याउन घरदैलो गर्नेछन्।