सोमवार, साउन १३, २०८२
English
Follow us:

भ्रष्टाचार मुद्दामा जोडिएकी रञ्जिता श्रेष्ठले दिइन् शिव बास्तोलालाई कार्यवाहक

भ्रष्टाचार मुद्दामा जोडिएकी रञ्जिता श्रेष्ठले दिइन् शिव बास्तोलालाई कार्यवाहक

  • खबर सेवा

  • आइतवार, साउन १२, २०८२

  • 27
    SHARES
भ्रष्टाचार मुद्दामा जोडिएकी रञ्जिता श्रेष्ठले दिइन् शिव बास्तोलालाई कार्यवाहक

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद नयाँ मोड लिएको छ । केन्द्रीय समितिको बैठकको माग उठिरहेको वेला सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सो पार्टीका वरिष्ठ नेता शिव बास्तोलालाई दिएकी छन् ।

पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएका थिए । ११ गतेसम्म बैठक नबोलाए त्यही दिन २ बजे केन्द्रीय समितिको बैठक बोलाएर आवश्यक निर्णय लिने भनिएको थियो । तर अध्यक्ष श्रेष्ठले केन्द्रीय समितिको बैठक नै नबोलाई आफ्नो सम्पूर्ण अधिकार दिएर बास्तोलालाई कार्यवाहक बनाएकी हुन् । भनिन्, ‘अस्वस्थ्य भएकाले बास्तोलाई कार्यवाहक दिएको हुँ, अब उहाँले सबै काम कारवाही हेर्नुहुन्छ ।’

यता बहुमत सदस्यहरूको बैठक पुरानो बानेश्वरमा बस्न लागेको छ । २४ घण्टाको अल्टिमेट दिइएको र अध्यक्ष श्रेष्ठले बैठक नबोलाएका कारण बहुमत केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको सो पार्टीका नेता रामलाल डगौंराले जानकारी दिए । उनले भने, ‘शिव बास्तोला २१ जना संस्थापकमध्ये होइन, अध्यक्षज्यूले उहाँलाई कार्यवाहक दिन मिल्दैन, कसरी दिनुभयो थाह छैन ।’

बैठक बसिरहेको र त्यसबारे पनि आवश्यक निर्णय हुने उनले बताए। कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवा प्रकरणलाई लिएर पार्टीमा नयाँ विवाद उत्पन्न भएको छ।

सोही प्रकरणलाई लिएर रेशम चौधरीले केन्द्रीय समितिको बैठक बोलाए पनि अध्यक्ष श्रेष्ठले उक्त बैठकलाई मान्यता नदिने भनेपछि बहुमत केन्द्रीय सदस्यले २४ घण्टे अल्टिमेट दिएका थिए। तर त्यसलाई पनि उनले अस्वीकार गर्दै अर्को नेतालाई कार्यवाहक दिएकी हुन् ।

सरुवा प्रकरणलाई लिएर श्रेष्ठले अख्तियारमा बयान पनि दिइसकेकी छिन् ।

रेशम चौधरी जेलमा रहेका वेला रञ्जिताकै अध्यक्षतामा २०७८ पुसमा यो पार्टी गठन भएको थियो । यो पार्टीले २०७९ को चुनावमा अपेक्षाकृत राम्रै नजिता ल्यायो । २०८० जेठमा रेशम रिहा भएपछि पार्टीका गतिविधि सशक्त गतिमा बढिरहेको थियो ।

तर २०८० पुसमा पार्टीको महाधिवेशन भयो अनि आन्तरिक विवाद सुरु थाल्यो । रेशम महाधिवेशनबाट पार्टीको अध्यक्ष भए, जुन रञ्जितालाई मन परेन । उनी पनि अध्यक्षको आकांक्षी थिइन् । रञ्जिता महाधिवेशन स्थल छाडेर काठमाडौँ आएपछि पार्टीको विवाद झनै छताछुल्ल भयो । त्यतिबेला रञ्जिता श्रेष्ठ भूमि मन्त्री थिइन् ।

रेशम अध्यक्ष भएपछि निर्वाचन आयोगमा मुद्दा पर्‍यो । र अध्यक्षमा रञ्जितालाई नै कायम भइन् । त्यसवेलादेखि पार्टीभित्र द्वन्द्व सुरु भएको हो । पार्टीमा गुटगत राजनीति सुरु भयो । त्यो गुट स्थानीय तह, प्रदेशदेखि केन्द्रसम्म देखियो । कहिले मुख्यमन्त्रीका लागि विवाद त कहिले मन्त्रीका लागि विवाद भइरह्यो ।

पार्टीभित्रकै विवादका कारण सुदूरपश्चिम प्रदेशमा पाउने मुख्यमन्त्री नागरिक उन्मुक्तिले पाएन । मन्त्रीका लागि विवाद भइरह्यो । सुदूरपश्चिमका दुई मन्त्री बर्खास्तीमा परेपछि पार्टीले केन्द्रीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीमा विवाद यतिसम्म देखियो कि, केन्द्रीय समिति कहिले पनि एउटा मितिमा बसेन । एउटा गुटले बोलाएको बैठकमा अर्को गुट नजाने, अर्कोले बोलाएको बैठक अर्को जाने परस्थिति सधैँ भइरह्यो । रञ्जिताले संस्थापक केन्द्रीय समितिलाई मान्यता दिन्छिन् भने रेशमले महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिलाई मान्यता दिएका छन् ।

एकपटक दुवै जनाबिच कुरा मिलेपछि महाधिवेशबाट बनेको केन्द्रीय समिति र संस्थापक दुवै पक्षको बैठक बसेको थियो । त्यसपछि जनमत पार्टीसँग एकताका लागि छलफल गर्न बैठक बसेको थियो ।

यद्यपि पार्टीकै आन्तरिक विवादका कारण जनमत पार्टीसँग अन्तिम समयमा एकता हुन सकेन । एकता हुने दिन एउटा नक्कली पत्रको आधारमा रेशमलाई पक्राउ गरेपछि एकता प्रक्रिया भाँडियो । र सोही प्रकरणपछि जनमतसँग नागरिक उन्मुक्तिको ‘एकता च्याप्टर क्लोज’ भइसकेको छ ।

र अहिले आएर पार्टीमा नयाँ ट्विस्ट थपिएको हो । यो घटनाले पार्टीलाई कहाँ पुर्‍याउँछ त्यो आजको केन्द्रीय समितिको बैठकले तय गर्ने एक नेताले बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology