
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर थापा अमेरिकाबाट डिपोर्ट भएका छन्।उनलाई केही दिनअघि अमेरिकाले डिपोर्ट गरेको हो।
थापालाई गत फागुनमा अमेरिकी अध्यागमनले हिरासतमा राखेको थियो। अमेरिकामा उनी धेरै ‘फ्रड’का मामिलामा मुछिएका थिए। रास्वपा सभापति रवि लामिछाने अमेरिकामा हुँदा नै थापाको उनीसँग राम्रो सम्बन्ध थियो। रास्वपा गठन हुँदा उनी पनि नेपाल आएर केन्द्रीय सदस्य बनेका थिए।
अहिले थापा रास्वपाको जिम्मेवारीबाट अलग भइसकेका छन्। उनले सात महिनाअघि नै राजीनामा दिएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए।
रास्वपाको केन्द्रीय समितिबाट राजीनामा दिए पनि निर्वाचन आयोगको रास्वपाको अभिलेखबाट भने उनको नाम हटेको छैन। आयोगले पछिल्लो पटक अद्यावधिक गरेको सूचीमा थापाको नाम छ।