राजनीति

एमालेको विधान महाधिवेशन : प्रतिवेदनमाथि छलफल गर्न १० समूहमा प्रतिनिधि बाँडियो

काठमाडौं । नेकपा (एमाले)को जारी दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमा विस्तृत छलफल गर्न १० वटा समूह बनाइएको छ।

भोलि ती समूहहरूमा दिनभर छलफल गरेर निष्कर्ष निकाल्ने कार्यसूची तय भएको छ । आइतबार प्रत्येक समूहको निष्कर्ष प्रस्तुत गरिनेछ। समूहहरूको प्रस्तुतिबाट आएको निष्कर्ष प्रतिवेदन प्रस्तोताहरूले स्पष्ट पार्नेछन् र त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनलाई सम्बोधन गर्दै औपचारिक रूपमा समापन गर्ने कार्यक्रम तय भएको छ।

आजबाट सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यस पछि महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसहितको प्रतिवेदन पेस गर्नुभयो भने सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहराले सल्लाहकारको प्रतिवेदन प्रस्तुत गर्नुभयो।

यद्यपि, निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन भने समयाभावका कारण आज प्रस्तुत हुन सकेनन्। ती प्रतिवेदन भोलि बिहान प्रस्तुत गरिने भएको छ । त्यससँगै फरक मत राख्दै आएका कर्ण थापालाई पनि आफ्नो धारणा राख्न छुट्टै समय दिने तयारी गरिएको छ।

प्रतिवेदन प्रस्तुतिपछि भोलिदेखि हुने समूह छलफलका लागि पार्टीले प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह तोकेको छ। कोशी, सुदूरपश्चिम, मधेस, कर्णाली, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहमा छलफल गर्नेछन्। त्यसै गरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवासमा संलग्न प्रतिनिधिहरूको छुट्टै समूह बनाइएको छ। यस्तै केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचनालाई समेटेर अर्को समूह तोकिएको छ भने केन्द्रीय निकाय आयोजकहरूलाई सुझाव दिने मात्र उद्देश्यका लागि छुट्टै समूहमा राखिएको छ।

यी समूहहरूले आ-आफ्नो क्षेत्र, संगठन र जिम्मेवारीअनुसार राजनीतिक, सांगठनिक र विधानसम्बन्धी प्रतिवेदनका विषयमा गहिरो छलफल गर्नेछन्। छलफलमा आएका निष्कर्षहरू आइतबारको सत्रमा प्रस्तुत भएपछि प्रतिवेदन प्रस्तोताहरूले स्पष्टीकरण दिने र त्यसपछि महाधिवेशनको निर्णयमा रूपान्तरण गर्ने तयारी गरिएको छ।

महाधिवेशनमा भोलि हुने समूह छलफललाई एमाले नेतृत्वले विशेष महत्वका साथ हेरेको छ। राजनीतिक प्रतिवेदनमार्फत प्रस्तुत गरिएका मुलुकको वर्तमान राजनीतिक परिदृश्य, संघीयता, आर्थिक अवस्था र सरकार सञ्चालनका सवालमा विस्तृत बहस हुने अपेक्षा गरिएको छ।

त्यस्तै सांगठनिक प्रतिवेदनले पार्टीभित्रको सदस्यता विस्तार, संगठनात्मक संरचना, कमिटी गठन, प्रशिक्षण र आन्तरिक अनुशासनबारे छलफललाई केन्द्रमा राख्नेछ। विधान संशोधन प्रस्तावबारे पनि छलफल गरी निष्कर्ष निकालिने छ ।

एमालेको विधान महाधिवेशनले आन्तरिक बहसमार्फत संगठनलाई थप सुदृढ बनाउने मात्र नभई आगामी निर्वाचन र मुलुकको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्ने आधार तय गर्ने अनुमान गरिएको छ। यही कारण पनि प्रत्येक समूहमा हुने छलफललाई केन्द्रीय नेतृत्वले महत्वका साथ हेरेको छ ।

सम्बन्धित समाचार

हर्क साम्पाङ सुनसरी १ बाट विजयी

हर्क साम्पाङ सुनसरी १ बाट विजयी

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ सुनसरी– १ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् । उनले ३५ हजार...

मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी

मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी

काठमाडौँ।  मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी भएका छन्। शाही सात हजार ९१४ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।...

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ।...

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

रास्वपाले प्रत्यक्षमा कटायो सय सिट, अरुको कति ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय सिटको आँकडा पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले १०२...