मुटु, मिर्गौला, क्यान्सर जस्ता नसर्ने रोगको प्रमुख कारकतत्वलाई चुरोट,बिडी गाँजा जस्ता सुर्तीजन्य पदार्थको सेवनलाई लिइने भए पनि सरकारले यस्ता सुर्तीजन्य पदार्थको बेचबिखन तथा यसमा लाग्ने करलाई बढाउन सकेको छैन।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बढ्दो नसर्ने रोगहरूको प्रमुख कारणलाई सुर्तीजन्य पदार्थ सेवनलाई प्रमुख कारकतत्त्व मान्दै आएको छ भने यसको नियन्त्रणका लागि यस्ता सुर्तीजन्य पदार्थलाई करको दायरामा ल्याउनुपर्ने बताउँदै आएको छ।
नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको प्रयोग घटाउन नेपाल जस्तो मुलुकले यसमा लाग्ने करको दर कम्तिमा ७५ प्रतिशत पुर्याउनुपर्ने डब्लुएचओले बताउँदै आएको छ। हाल नेपालमा सुर्तीजन्य पदार्थमा ३५ प्रतिशत मात्रै कर लगाउँदै आएको छ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. जयकुमार गुरुङले भने‚ ‘नसर्ने रोग नियन्त्रण र यसको उपचारमा पर्ने आर्थिक भारलाई कम गर्ने भनेकै नसर्ने रोगहरूको प्रमुख कारकतत्त्व मानिएको सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण हो र यसको नियन्त्रण गर्ने प्रमुख उपाय भनेको सुर्तीजन्य पदार्थमा करको दर बढाउने हो तर हाम्रोमा त्यो हुन सकेको छैन।’
डा गुरुङले भने‚ ‘हामीले लामो समयदेखि सरकारलाई सुर्तीजन्य पदार्थमा कर बढाउ बढाउ भनेका छौँ तर यो भएको देखिदैन, कर बढाउँदा एक यसको प्रयोगमा कमी आउँछ भने अर्कोतर्फ सरकारले राजस्व पनि धेरै उठाउँछ।’
तर सुर्तीजन्य पदार्थ उत्पादन तथा आयत गर्ने ठूला उद्योगहरूको पहुँचले गर्दा सुर्तीजन्य पदार्थमा कर बढ्न नसकेको उनले बताए।
स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी फोकल पर्सन वरिष्ठ जनस्वास्थ्य अधिकृत उपेन्द्र ढुंगानाले पछिल्ला वर्षहरूमा युवा उमेर समूहका र किशोर किशोरीहरू नै धेरै सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको र यसले भविष्यमा झनै नसर्ने रोग बढ्ने जोखिम बढाएको भन्दै बेलैमा सबै सरोकार निकायहरू सचेत हुनुपर्ने बताउँछन्। किशोर किशोरीहरू विद्युतीय चुरोट धेरै प्रयोग भएको भन्दै जस्तो प्रकारको चुरोट खाए पनि धुवाँजन्य पदार्थले असर गर्ने हुँदा यसलाई गम्भीरताका साथ लिनुपर्ने ढुंगानाले बताए।




