अर्थ

‘जेन्जीको आन्दोलनले पुँजीवादको जालो भत्काएको छ’

काठमाडौं। अर्थतन्त्रका जानकारहरुले जेनजीको प्रदर्शन बेथिती,कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनको रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयमा भएको भर्चुअल अन्तरक्रियामा उनीहरुले अब पनि पुरानै शैलीमा अघि बढ्न नहुने बताएका हुन्।

नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारका विरुद्ध मुलुकभरबाट मानिसहरु एकसाथ जाग्नुलाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिए।

अहिलेको समस्या प्राकृतिक र महामारी विपत्ती नभइ आन्तरिक रुपमा मानव सृजित समस्या भएकाले दातृ निकायबाट सहयोग प्राप्त हुने अवस्था सहज नभएको समेत उनले बताए।

पूर्व अर्थसचिव खनालले भने ‘नयाँ पुस्ताको नेतृत्वमा मुलुकभरबाट भ्रष्टाचारका विरुद्ध मानिसहरु एकसाथ जाग्नु हाम्रा लागि उपलब्धि हो, संविधान संशोधनलगायतका विषय पछि जोडिएका हुन् ।

अब यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनःनिर्माण, नयाँ लगानीको अवसर सृजना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुपर्छ ।

यसप्रकारको अवस्था २०३६ साल र माओवादीको द्वन्द्वको समयमा पनि देखिएको थियो, तत्कालीन समयमा भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो, सडक, पुलमा ठूलो क्षति हुनुका साथै सञ्चार सेवा नै अवरुद्ध भएको अवस्था थियो । तर अहिले त्यो अवस्था छैन, त्यसैले हामीलाई फेरि उठ्नका लागि ठूलो समस्या हुन्छ भन्ने लाग्दैन ।’

पूर्वसचिव खनालले अन्य मुलुकको तुलनामा नेपाल छिटो ‘रिकभर’ गर्ने मुलुक भएकाले उल्लेख गर्दै प्रदर्शनको तेस्रो दिनमै स्थिरतातर्फ उन्मुख हुनु मुलुकका लागि सकारात्मक पक्ष भएको बताए। यस प्रदर्शनले भ्रष्टाचार र कुशासन हटाउँदै शासकहरुलाई सच्चिनका लागि पनि सन्देश दिएको उनको धारणा रहेको छ।

‘जेनजीले जुन विषय उठाएर प्रदर्शन गरे र त्यसले जुन रुप लियो, यसबाट हामीलाई भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउन र आसेपासे पुँजीवादको जालो भत्काउन सहयोग गरेको छ,’ खनालले भने, ‘आगामी दिनमा मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार हटाउन सहयोग पुग्छ भन्नेमा मलाई विश्वास छ।’

खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरु रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए ।

अर्थशास्त्री डा. समर खतिवडाले जेन जी प्रदर्शनले नेपाललाई कोर्स करेक्शनको अवसर दिएको टिप्पणी गरेका छन्। खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको बताए  ।

अर्थशास्त्री खतिवडाले भने, ‘जेनजी प्रदर्शनले ‘क्रोनी क्यापिटालिजम’लाई भत्काउने प्रयास गरेको छ, नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ । यो फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को ग्रे लिस्टबाट नेपाललाई निकाल्नका लागि प्राप्त भएको अवसर पनि हो । अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ।’

उनले सरकारले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक रहेको  बताउँदै भने,  ‘हामीले ल्याइरहेको विदेशी लगानी कुल ग्राहस्थ्य उत्पादनको ०.३ प्रतिशत मात्रै हो, त्यो आफैमा सानो आकार भएकाले ठूलो चिन्ता लिनुपर्ने अवस्था छैन, बरु अब यसलाई बढाएर कसरी तीन प्रतिशत बनाउन सकिन्छ भन्ने विषयमा काम गर्न सकिन्छ ।’

अर्थशास्त्री खतिवडाले अबको अर्थतन्त्रमा खुला, पारदर्शी, स्वतन्त्र नीति अपनाउनुपर्नेमा जोड दिनुभयो । जेन जीको प्रदर्शनले प्रत्यक्ष विदेशी लगानीमा ठूलो असर नपर्ने उहाँको भनाइ छ । -न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...