नेकपा एमालेलाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने योजनामा छौं : शंकर पोखरेल

देश चुनावमय भएको छ । स्थानिय चुनाव नजिकदै गर्दा दलका नेताहरु आफ्नो दलको चुनावी प्रचारप्रसारमा जुटेका छन् ।  शहर गाँउ जताततै चुनावको माहोल देखिएको छ ।जुन सुकै ठाँउमा पनि चुनावमाको मात्र चर्चा मात्र सुन्न पाइन्छ । भोट आफ्नो पक्षमा पार्नको लागी विभिन्न दलहरुले आफ्नो आफ्नो रणनीति अपनाएर जनता सामु गएका छन् । यहि वैशाख ३० गते हुन लागेको चुनामा पाँचदलीय सत्ता गठबन्धन छ भने अर्कोतिर प्रतिपक्षी नेकपा एमाले एक्लै गठबन्धनका विरुद्ध चुनाव लड्दैछ। नेकपा एमालेलाइ यो निर्वाचनमा गठबन्धनसँग लड्न त्यती सहज भने छैन् । नेकपा एमाले पहिलेको चुनावमा पहिलो पाटी भएको थियो । तर यो चुनवमा के हुने हो त्यो त चुनाव पछिको परिमाणले नै देखाउँछ । आज हामीले  एमाले यो चुनावमा जित्नको लागि   गरेको तयारीको बारेमा नेकपा एमालेका महासिचव शंकर पोखरेलसँग दीपा रेग्मीद्वारा गरिएको कुराकानी:

 एमाले एक्लै चुनावी मैदानमा छ भने अर्कोतर्फ सत्ता गठबन्धन छ। यस्तो अवस्थामा निर्वाचनबाट एमालेले कसरी आफ्नो पक्षमा जीत हासिल गर्छहोला यसलाइ एमालेले कसरी हेरेको छ ?

अहिले जुन प्रकारको लहर देखापरेको छ। यो लहरको आधारमा हामीले गर्ने अनुमानभन्दा पनि परिणाम अझ सकारात्मक हुने अवस्था देख्छु म । जसरी विगतमा हामीले ६ वटा महानगरमध्ये दुईवटा मात्रै जितेका थियौँ। अहिले महानगरमा चमत्कार नै हुने अवस्था देखिएको छ। हामीले कुनै महानगर हार्ने अवस्था देखिँदैन । यद्यपी चुनाव हो। चुनावी अन्तिम परिणाम के हुन्छ भन्ने कुरा त चुनावको प्रतिक्षा गर्नुपर्छ । तर हरेक ठाउँमा माहोल छ । चुनाव जित्ने सम्भावना प्रवल बनेको छ।

हामीले स्वभाविकरुपमा बुझ्ने कुरा स्थानीय तहमा जुन सनाखत गर्ने समयमा १० प्रतिशतभन्दा कमले मात्र विभाजनका पक्षमा सनाखत गरे । त्यसको ठूलो हिस्सा फर्कि नै सकेको छ। पार्टी सदस्यता नवीकरण गर्दा चार प्रतिशतले मात्रै नवीकरण गरेनन् । सबै नवीकरण गर्नेहरू विभाजनका पक्षमा भन्न मिल्दैन ।

यसैपनि एकप्रकारको माहोल छ। त्यसर्थमा अहिलेको अवस्थालाई हेर्दा २०५४ सालमा हामीले जुन हिसाबले मनमोहन अधिकारीको नेतृत्वको सरकार ढालेपछि जनतामा जुन प्रकारको मनमोहन अधिकारी वा नेकपा एमालेप्रति आकर्षण वृद्धि भएको थियो, अहिले केपी ओली नेतृत्वको सरकारलाई काम गर्न नदिएपछि त्यस्तै प्रकारको आकर्षण जनतामा नेकपा एमालेप्रति देखिन्छ। त्यतिबेला हामीले झण्डै दुई तिहाई स्थानमा विजय हासिल गरेका थियौँ । अब अहिले त्यसकै हाराहारीमा हामी पुग्ने सम्भावना छ। यो चुनावमा हामी ५० प्रतिशत भन्दा माथिको परिणाम प्राप्त गर्न सक्छौं।

 

पछिल्लो समय तपाईले दुई पार्टीको ध्रुवीकरणको कुरा उठाउँदै आउनुभएको विषय हो। तपाईंले भनेको ध्रुवीकरण कस्तो  किसिमको हो र यो समय गठबन्धन भर्सेस एमालेको अवस्था कस्तो छ?

माओवादी केन्द्र र माधव नेपाल पक्ष आफ्नो नीति कार्यान्वयन गर्ने पक्षमा रहनुभएन । उहाँहरू नेपाली कांग्रेसमाथि आश्रित रहनुपर्ने बाध्यता रह्यो । माओवादी केन्द्रले चुनावी घोषणापत्र जारी गर्न आवश्यक पनि ठानेन । अब २५ प्रतिशत उम्मेदवार खडा गरेर राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा त मजाकको विषय हो। त्यसर्थमा ध्रुवीकरण त सुरू भइसक्यो उहाँ कांग्रेसको सहयोगी बन्नुभयो । स्वतन्त्र अस्तित्व उहाँहरूले गुमाइसक्नुभयो । विचारका हिसाबले उहाँहरूले आफूलाई कम्युनिष्ट समाजवादी भन्नुहुन्छ । कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वको सरकार बनाउने काम गरिसकेपछि उहाँहरू कम्युनिष्ट आन्दोलनबाट विचलित पक्षका रूपमा रहनुभएको छ । त्यसर्थमा अबको राजनीति भनेको एमाले भर्सेस कांग्रेस हो । अथवा समाजवाद भर्सेस पूँजीवाद नै हो । अथवा स्थायीत्व भर्सेस अस्थिरता र नीतिगत नेतृत्व भर्सेस गठबन्धन । यो नेपालको राजनीतिका मुख्य प्रवृत्ति हुन् ।

 

अहिले चुनावी प्रचारप्रसार अभियानमा एमालेले कसरी चलाइरहेको छ । एमालेले चु्नाव जित्नको लागी के कस्तो रणनिति अपनाएको छ  ?

नेकपा एमालेको नेतृत्वको सरकारलाई विस्थापन गर्ने र मुलुकलाई अस्थिरतातर्फ लैजाने नीतिहिन अवसरवादी गठबन्धनका माध्यमबाट मुलुकको राजनीतिलाई कमजोर बनाउने जे खेल भएको छ त्यसका विरुद्धको चुनावको रुपमा हामी चुनावको तयारीमा जुटेका छौं। स्थानीय तहको चुनावको माध्यमबाट हामी नेकपा एमालेलाई राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने योजनामा छौं। त्यसको बलियो सम्भावना र आधार तयार भएको छ। यो चुनावमा ३ वटा मान्यताहरू एमाले पङ्तिभित्र स्थापित भएका छन्। पहिलो कुरा हरेक नेता कार्यकर्ताले आफ्नो वडाको जिम्मा लिने । ‘म जिताउँछु मेरो वडा। हामी जिताउँछौं हाम्रो पालिका ।’ हाम्रो चुनावी क्याम्पियन मूलतः स्थानीयकरण भएको छ। सबै नेता कार्यकर्ताहरू आफ्नो पालिका र वडामा केन्द्रित हुनुभएको छ। दोस्रो सन्दर्भ चैँ स्वभाविकरुपमा यो चुनावको समयमा एउटा नयाँ भावना पार्टी पङ्तिभित्र विकसित भएको छ। ‘टिकट पाए म जितेर देखाउँछु, टिकट नपाए जिताएर देखाउँछु ।’ यो एमालेको भावनाका रुपमा अगाडि आएको छ। यसले पार्टीलाई एकतावद्ध बनाउने कुरामा सहयोग पुर्‍याएको छ। तेस्रो कुरा हामीले यो बीचको अवधीमा नेकपा एमाले सिङ्गो राष्ट्रको स्वीकार्य शक्तिको रुपमा। राष्ट्रिय शक्तिको रुपमा स्थापित हुने प्रक्रियामा छ। त्यसर्थमा हामीले एकता र एकीकरणको प्रकृयालाई पार्टी प्रवेश अभियानका रुपमा अगाडि बढाएका छौं। जसले हाम्रो पार्टीलाई चुनाव जिताउने मात्रै होइन सिङ्गो प्रतिनिधिमूलक पार्टीका रुपमा राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने कुराको आधार तयार गर्दैछ। त्यो दिशातर्फ चुनावको क्याम्पेयन अगाडि बढिरहेको छ।

 

यो भन्दा पहिलेकोा निर्वाचनमा एमाले पहिलो दल बनेको थियो । तर अहिले एमालेबाट असन्तुष्टी रहेकाहरु फुटेर जानुभएको अवस्था छ  एमालेले यसलाई कसरी जोगाउने तयारीमा छ?

स्थानीय चुनावमा नेकपा एमालेले विगतमा जे जनमत प्राप्त गरेको थियो त्यो ‘लुज’ कति गर्छ। माधव नेपाल पक्षले कति क्षति पुर्‍याउला भन्दाखेरि त्यो क्षति पुर्‍याउने संख्या अत्यन्त नगन्य छ । किनकी उहाँहरूले दलको विभाजन जनप्रतिनिधिमार्फत गर्न सक्नुभएन । उहाँहरूले गरेको विभाजन पार्टी केन्द्रीय कमिटी मार्फत गर्नुभयो । त्यो पनि कानुन बदलेर अध्यादेशका माध्यमबाट गर्नुभयो । सामान्यतया पार्टी प्रणालीभित्र के जोसँग बहुमत छ पार्टी त्यसैका पक्षमा हुन्छ भन्ने एउटा प्रचलित अभ्यास र मान्यता छ । अर्कोतर्फ हामीले स्वभाविकरुपमा बुझ्ने कुरा स्थानीय तहमा जुन सनाखत गर्ने समयमा १० प्रतिशतभन्दा कमले मात्र विभाजनका पक्षमा सनाखत गरे । त्यसको ठूलो हिस्सा फर्कि नै सकेको छ। पार्टी सदस्यता नवीकरण गर्दा चार प्रतिशतले मात्रै नवीकरण गरेनन् । सबै नवीकरण गर्नेहरू विभाजनका पक्षमा भन्न मिल्दैन । त्यसर्थमा नवीकरण नगर्नेहरूको संख्यालाई आधार बनाउने हो भने दुई तीन प्रतिशतको हाराहारीमा मात्रै नवीकरण नहुनेहरू चैँ त्यता लागेका हुन सक्छन् भनेर अनुमान गर्न सकिन्छ।

मतदाताको तहमा जाँदा मतदाताको मनोविज्ञान कसले चुनाव जित्ने भन्ने कुरामा बढी केन्द्रित हुन्छ। सामान्यतया हार्नेलाई आम मतदाताले मतदान गर्दैनन्। कार्यकर्ताहरू आफ्नो पार्टी रोज्छन् । आम मतदाताले जित्ने उम्मेदवार खोज्छन् । कसले जित्छ त्यसका पक्षमा मतदान गर्छन् । त्यसर्थमा माधव नेपाल पक्षले हामीलाई हाम्रो जनाधारमा पुर्‍याउने क्षति अत्यन्त न्यून छ। अर्कोतर्फ जति क्षति पुर्‍याएको छ त्यो भन्दा धेरै हामीले माओवादी केन्द्रतर्फको जनाधारबाट थुप्रै लाभ लिन सक्ने आधार तयार गरेका छौं । किनकी अहिले नेकपा एमालेभित्र केन्द्रीय कमिटीमै झण्डै ३ दर्जनको हाराहारीमा केन्द्रिय नेतृत्वमा माओवादी केन्द्रबाट आउनुभएका साथीहरू हुनुहुन्छ। स्थानीय तहसम्म यो फराकिलो दायरामा विस्तार भएको अवस्था छ। त्यसअर्थमा हामीले झण्डै माओवादीको जनाधारबाट २५/३० प्रतिशतको हाराहारीमा जनमतलाई आफ्नोतर्फ आकर्षित गर्न सफल भएका छौं।

अर्कोतर्फ तराई मधेशमा जुन प्रकारको हिजो हामी प्रवेशै गर्न नपाउने अवस्था थियो । त्यो अवस्था आज अन्त्य भएको छ। तराई मधेशमा हामीले सरकारका माध्यमबाट गरेका कामहरूको प्रभाव तराईका जनताहरूमा उल्लेख्य मात्रामा परेको छ। आज हामी तराईमा पहिलो शक्तिका रूपमा स्थापित भएका छौं। यो अर्थमा आउने चुनाव नेकपा एमाले पहिलो पार्टी होइन मुलुकको पहिलो र महत्वपूर्ण राष्ट्रिय शक्तिका रुपमा स्थापित हुने हिसाबले । भविष्यमा तीन वटै तहका सरकार नेतृत्व गर्ने पार्टीका रुपमा नेकपा एमाले जनताका मनमा स्थापित भइसकेको छ ।

 

तपाईले एमाले राम्रो भएको छ यो चुनामा एमाले पहिलो दल होइन महत्वपूर्ण राष्ट्रिय शक्ति बन्छ पनि भनिरहनुभएको छ, यसको आधार के छ?

राष्ट्रिय राजनीति ध्रुवीकरणतर्फ जाँदैछ। अब नेपालमा धेरै राजनीतिक दलहरू लामो समय अस्तित्वमा रहन सक्दैनन् । नेपालमा विकास र समृद्धिका सन्दर्भमा धेरै दलहरू हुनु आफैंमा चुनौती हो, बाधा हो । त्यसर्थमा जति धेरै दल त्यति धेरै नीति र विचलन । जति धेरै राजनीतिक दल त्यति धेरै अस्थिरता । जति धेरै राजनीतिक दल त्यति धेरै वैदेशिक चलखेल । यो हामीले व्यहोरेको पीडा हो । अब मुलुकलाई विकास र समृद्धिको बाटोमा स्थायित्वतर्फ लाने हो भने दलहरूको संख्यामा कटौती जरूरी छ । त्यसका लागि ध्रुबीकरण आवश्यक छ । नेपालको राजनीति मूलतः दुई ध्रुबतर्फ केन्द्रित भएको छ। एउटा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन । अर्को नेकपा एमालेको नेनृत्वमा नीतिगत स्पष्टतासहितको सहि दिशातर्फको यात्रा । जसलाई विकास र समृद्धिको यात्रा भन्न सक्नुहुन्छ । समृद्ध नेपाल सुखी नेपालीतर्फको राष्ट्रिय आकांक्षाको यात्रा भन्न सक्नुहुन्छ । ती दुईटा प्रवृत्तिका बीचको ध्रुबीकरण सुरू भएको छ । वास्तवमा गठबन्धन एमालेलाई रोक्नका लागि गरिएको प्रयास हो । त्यो असफल भइसकेपछि मुलुक बन्छ भन्ने कुराको सन्देश जनताका बीचमा सम्प्रेषण भइराखेको छ। नेपालमा हामी विकास र समृद्धिको कुरा गर्दा केपी ओलीलाई घेराबन्दीमा राख्ने प्रयास भएको छ। विकास र समृद्धिको यात्रालाई रोक्ने जुन कोशिस भएको छ यो कोशिसलाई असफल पार्ने काम हामीले गर्‍यौँ भने मुलुक बन्ने प्रकृया सुरु हुन्छ । त्यो दिशातर्फ आम जनताको मूल पनि बनिरहेको छ। यो चुनावले मुलुकको भविष्यको एउटा रेखाङ्कन गर्छ भन्ने म ठान्छु।

प्रवेश भनेको ध्रुवीकरणतर्फको सिम्बोल हो। राष्ट्रिय राजनीति ध्रुवीकरणतर्फ जाँदैछ। अब नेपालमा धेरै राजनीतिक दलहरू लामो समय अस्तित्वमा रहन सक्दैनन्। नेपालमा विकास र समृद्धिका सन्दर्भमा धेरै दलहरू हुनु आफैंमा चुनौती हो।

मलाई लाग्छ नेपालको विकास र समृद्धिमा एउटा नीतिगत स्पष्टता जरुरी छ। विकास र समृद्धिका लागि सवल शक्तिको आवश्यकता छ। यो परिपेक्षमा नेकपा एमाले जनताको रोजाइ बन्दैछ भन्ने कुरालाई बुझ्नु आवश्यक छ।

स्थानीय चुनावपछि बाम एकता हुन्छ भन्ने पनि सुनिन थालेको छ । त्यो सम्भावना के छ ?

हामी एकता एकीकरणको मूल प्रवृत्ति हौँ । अहिले पनि पार्टी प्रवेशको अभियान जुन चलाइरहेका छौं त्यो एकता एकीकरणको एउटा नयाँ प्रकृया हो । अहिले हामीले नेताका टाउका जोडेर एकता गर्ने कुरा असफल भयो। हामी कार्यकर्ताको मन जोड्न चाहान्छौं। कार्यकर्ताको भावना जोड्न चाहन्छौं। त्यसका माध्यमबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन चाहान्छौं भनेका छौं । त्यसर्थमा अहिले जुन प्रकारको ध्रुवीकरणको प्रकृया पार्टी प्रवेश मार्फत देखापरेको छ। यो त्यसकै संकेत हो। त्यसर्थमा बलियो कम्युनिष्ट पार्टी निर्माणको प्रकृया जारी नै छ । त्यो रोकिएको छैन । प्रचण्ड र माधव नेपालले त्यो यात्राबाट आफूलाई अलग गर्नुभयो । नेकपा एमाले त्यो यात्रामा दृढ छ ।

You might also like
Comments
Loading...