अर्थ

केरा बिक्री नहुँदा किसान मर्कामा

घोराही (दाङ) दाङका केरा किसान अहिले ठूलो आर्थिक संकटमा परेका छन्। स्थानीय उत्पादन बजारमा नपुग्दा र भारतीय केरा सस्तोमा भित्रिँदा उनीहरूको वर्षभरको मेहनत बारीमै कुहिन थालेको छ।

राप्ती गाउँपालिका–७ सिसहनियाका ५४ वर्षीय रणप्रसाद सुवेदी सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आउनुभएको छ। दुई बिघाबाट सुरु गरिएको खेती अहिले ५४ बिघासम्म विस्तार भए पनि यस वर्ष उहाँ चिन्तित हुनुहुन्छ — कारण, बिक्री नहुँदा हजारौँ थान केरा बारीमै नष्ट भइरहेका छन्।

“यो साल केरा बिक्री नहुँदा कारोबार ठप्प छ। बोटमै पाकेर खेर जाने अवस्था छ,” सुवेदीले बताउनुभयो। बजारमा दर्जनको रु १२० भन्दा बढीमा बिक्री हुने केरा किसानले रु २५ दर्जनमा दिन खोज्दा पनि व्यवसायीले नलिने गुनासो उहाँको छ।

सुवेदीका अनुसार थोक व्यापारीहरूले भारतबाट सस्तो मूल्यमा केरा भित्र्याउँदा स्थानीय उत्पादनले बजार गुमाएको छ। “बिक्रीका लागि व्यापारी आउँदैनन्, बारीमा जान मन लाग्दैन,” उहाँले दुखेसो पोख्नुभयो। अघिल्ला वर्षमा ३५ जनालाई रोजगारी दिने सुवेदीले अहिले १५ जना मात्रै कामदार राख्नुभएको छ।

राप्ती केरा प्रवद्र्धन कृषक समूहका अध्यक्षसमेत रहेका सुवेदीले विगतका वर्षहरूमा रु सवा करोडसम्मको कारोबार गर्दै रु ३० लाखसम्म नाफा कमाउँदै आउनुभएको भए पनि यो वर्ष घाटा व्यहोर्ने अवस्था आएको बताउनुभयो। समूहमा १८ जना व्यावसायिक किसान आबद्ध छन्।

त्यस्तै, सोही गाउँका अर्का किसान तीर्थ ज्ञवाली पनि ५० कट्ठामा केराखेती गर्दै आउनुभएको छ। बिक्रीमा समस्या भएपछि उहाँले ‘डोर–टू–डोर सेलिङ’ गर्ने तयारी गर्नुभएको छ। “व्यापारीले नलिँदा स्थानीयलाई सस्तोमा दिएर घरघरमा लगेर बिक्री गर्ने योजना बनाएको छु,” ज्ञवालीले भन्नुभयो।

भारतीय बजारबाट दाङमा दैनिक रूपमा सस्तो केरा भित्रिएपछि यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको किसानहरूको भनाइ छ।

सिसहनियाकी गायत्री चौधरीले पनि दुई बिघामा गरिएको खेतीबाट उत्पादित केरा बारीमै कुहिन थालेको बताउनुभयो। “व्यापारीले दर्जनको रु २० मात्रै दिन्छन्। त्यति पैसामा त लगानी पनि उठ्दैन,” उहाँको गुनासो छ।

धान, तोरी, मसुरो जस्ता परम्परागत खेती छाडेर सजिलो र लाभदायक ठानेर किसानहरू केराखेतीतिर आकर्षित भएका हुन्। तर, बजार अभाव र मूल्य अस्थिरताका कारण अहिले लाखौँ रुपैयाँ डुब्ने जोखिम बढेको उनीहरूको चिन्ता छ।

दाङमा मालभोग, हरिसाल, चिनी केरालगायत जातका केरा करिब ६०० बिघा क्षेत्रमा खेती हुने गरेको छ। किसानका अनुसार एउटा केराको बोटमा जातअनुसार रु २५० देखि रु ५०० सम्म लगानी लाग्ने गर्छ।

किसानहरूले सरकारलाई स्वदेशमा उत्पादित केराको समर्थन मूल्य तोकी बजारको ‘ग्यारेन्टी’ गर्न माग गरेका छन्।

सम्बन्धित समाचार

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...

नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न

नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न

कास्की। कास्कीको पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य हालसम्म ५७ प्रतिशत सम्पन्न भएको छ । मुग्लिङ–पोखरा सडक...

आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति

आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति

काठमाडौँ। पश्चिम एशियामा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र...

सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ...