समाचार
३१ असोज २०८२ १७:२१
खबर सेवा · More from author
‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ कृति विमोचन
खबर सेवा
काठमाडौं। पैरवी बुक हाउस प्रालीको आयोजनामा आज यहाँ एक कार्यक्रमकाबीच अध्येता रोशनकुमार झाद्वारा लिखित ‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ कृति विमोचन गरिएको छ ।
नेपालको ऐतिहासिक सहर सिम्रौनगढ र त्यसको नेपाल मण्डलसँगको सम्बन्धमाथि केन्द्रित रहेर उक्त कृति लेखिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहासको गहिरो अध्ययन र पुनःपाठको आवश्यकता औँल्याउँदै सिम्रौनगढ र नेपाल मण्डलबीचको ऐतिहासिक सम्बन्धबारे अझ अनुसन्धान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार फेरिए पनि इतिहास मेटिँदैन र फेरिँदैन । सिम्रौनगढको इतिहासको गहिराइ बुझ्न थप खोज र अनुसन्धान अपरिहार्य छ । किरात सभ्यता र नेपाल मण्डलबीचको अन्तक्र्रिया अझ खोतलिनुपर्ने विषय हो ।”
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राष्ट्रको इतिहास चिनाउने मेरुदण्डका रूपमा पुस्तक रहेको उल्लेख गर्नुहुँदै इतिहास लेखनको परिप्रेक्ष्य अझ समावेशी, तथ्यपूर्ण र आलोचनात्मक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी इतिहास लेख्छौँ तर सिम्रौनगढजस्ता ऐतिहासिक क्षेत्र अझै पनि नेपाली इतिहासको मूलधारमा पूर्ण रूपमा समाहित भएका छैनन् । इतिहास राम्रोसँग लेख्नसके मात्र हामी नेपाललाई इतिहासमा सही ढङ्गले चिनाउन सक्छौँ ।”
कार्यकारी अध्यक्ष झाले नेपाल मण्डलले अझै पनि सिम्रौनगढलाई ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले स्वीकार गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाललाई राम्रो ढङ्गले चिनाउने हो भने इतिहास राम्रोसँग लेख्नु जरुरी छ । नेपाल मण्डलले जसरी सिम्रौनगढलाई जसरी स्वीकार गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । हाम्रो इतिहास पुनर्लेखन गर्न आवश्यक छ ।”
कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले सिम्रौनगढ क्षेत्रको पुरातात्त्विक महत्त्वमाथि प्रकाश पार्नुहुँदै विभाग सिम्रौनगढका सम्पदाको संरक्षणमा सक्रिय रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्पदा संरक्षणको काम केबल सरकारको एकल जिम्मेवारी होइन, यो साझा दायित्व हो । सिम्रौनगढको सम्पदा नेपाली पहिचानको गौरव हो र यसको संरक्षणमा हामी प्रतिबद्ध छौँ ।”
कार्यक्रममा लेखक रोशनकुमार झाले पुस्तक लेखनको प्रेरणा, उद्देश्य र अनुसन्धान प्रक्रियाबारे जानकारी गराउँदै सिम्रौनगढ क्षेत्रको ऐतिहासिक महत्व अझै पनि गहिरो रूपमा नबुझिएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो कृति नेपाल मण्डल र सिम्रौनगढबीचको ऐतिहासिक सम्बन्धका नयाँ पाटा उजागर गर्ने प्रयास भएको बताउनुभयो ।
नेपाल बार एशोसियसनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्र, वरिष्ठ पत्रकार सुधीर शर्मा, संस्कृतिविद् जगमान गुरुङ, इतिहासविद् प्रा डा पुरुषोत्मलोचन श्रेष्ठ, पूर्वन्यायाधीश शेषराज शिवाकोटी, प्रभाकरलाल झा, देवेन्द्रनाथ तिवारी, दिनेशराज पन्त, नागरिक अगुवा कनकमणि दीक्षितलगायतले नेपालको ऐतिहासिक सहर सिम्रौनगढ र त्यसको नेपाल मण्डलसँगको सम्बन्धजस्ता ऐतिहासिक क्षेत्रलाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्नुपर्ने र यस्ता अनुसन्धानात्मक कृतिहरूलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
—
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...
१० चैत २०८२ २१:१७
आमाको नामबाट तीन हजारले लिए नागरिकता
काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...
१० चैत २०८२ १४:१५
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
काठमाडौँ। ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब...
१० चैत २०८२ ११:१९
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
काठमाडौँ। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।...
१० चैत २०८२ ८:५६




