हामी जनादेशमा जान डराउँदैनौँ : एमाले
काठमाडौँ। नेकपा एमालेले सो पार्टी ताजा जनादेशमा जाने कुराबाट कहिल्यै पनि नभाग्ने बताएको छ ।
पार्टीको दशौँ केन्द्रीय कमिटी बैठकले निर्वाचनको कार्यादेश प्राप्त गरेको वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनेतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउने दिशामा उद्यत रहेको निष्कर्ष निकालेको छ । त्यसैले प्रतिनिधि सभा पुनर्स्थापना गरी विधिको शासन सञ्चालन गर्नुपर्ने एमालेको निष्कर्ष छ । ‘निर्वाचन पनि हुन नसक्ने र प्रतिनिधिसभा पनि कायम नरहेको वर्तमान अवस्थाले राजनीतिक रिक्तता र अस्थिरताको भयावह अवस्था सिर्जना गर्ने हुनाले नेकपा एमाले केन्द्रीय कमिटीको यो बैठक असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने माग गर्दछ र त्यसले मात्रै मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्छ भन्ने स्पष्ट मान्यता राख्दछ’, शुक्रबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले निष्कर्ष निकालेको छ ।
निर्वाचनको कार्यादेश प्राप्त गरेको वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनेतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउने दिशामा उद्यत देखिएको एमालेको ठहर छ । ‘निर्वाचनको मूल पक्षका रूपमा दलहरूसँग संवाद, परामर्श र सहकार्य त परै छाडौँ, सम्पर्क समेत गर्न चाहिरहेको छैन, उल्टै निषेध र मुठभेडको बाटोमा हिँडिरहेको छ’, एमालेले भनेको छ ।
नेताहरूलाई स्थान हद तोक्ने, राहदानी रद्द गर्ने, शान्तिपूर्ण कार्यक्रमलाई निषेध गर्ने, मिडिया ट्रायल गर्दै चरित्र हत्या गर्ने काममा सरकार लागेको एमालेले जनाएको छ । ‘पार्टीहरूका र खास गरी हाम्रो पार्टीका अध्यक्षमाथि झूटा आरोपमा मुद्दा चलाउन र जसरी भए पनि गिरफ्तार गर्ने दुष्प्रयासमा सरकार लागिरहेकै छ, सरकारको संरक्षणमा रहेका सन्देहास्पद पात्रहरू खुलेआम राजनीतिक नेताहरूमाथि भौतिक हमलाका लागि दुरुत्साहन गर्ने, पार्टीहरूलाई चुनावमा भाग लिन नदिने, उनीहरूले जिते परिणाम खारेज गर्ने र नेताहरूलाई विभिन्न मुद्दा लगाएर बाहिरै निस्कनै नदिने धम्की दिइरहेका छन्, तर सरकार मौन छ’, एमालेले पास गरेको प्रस्तावमा उल्लेख छ ।
प्रहरीबाट लुटिएका हजारौँ थान हतियार र गोलीगठ्ठा बाहिरै राखेर, हजारौँ कैदीहरूलाई खुलेआम हिँड्न र पुनः आपराधिक काममा लाग्न छुट दिने काम भइरहेको वर्तमान अवस्थामा राजनीतिक दलहरू निर्भयतापूर्वक जनता समक्ष जान नसक्ने एमालेले जनाएको छ । यस्तो अवस्थामा मतदाताहरू निर्धक्कसँग मतदान केन्द्रसम्म पुग्न नसक्ने भन्दै एमालले सरकार यी समस्याको समाधान गर्ने र निर्वाचनको आधार बनाउनेतिर होइन, मुलुकलाई बहुआयामिक सङ्कटतिर धकेल्न उद्यत रहेको जनाएको छ ।
सरकाले कार्यादेश विपरीत अन्य मुलुकहरूसँग मुलुकलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने तयारी गरिरहेको भन्दै एमालेले सचेत गराएको छ । राजदूतहरू फिर्ता गर्ने, नियुक्ति र बर्खास्ती लगायतका विषयलाई प्राथमिकताका साथ अगाडि बढाएर निर्वाचनको आधार बनाउनेतिर होइन, सरकार उल्टो बाटो हिँडिरहेको एमालेको निष्कर्ष छ ।
राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र सामाजिक प्रबन्धहरू नै सङ्कटमा परिरहेको, नेपाली जनताले लामो सङ्घर्ष पश्चात् हासिल गरेका उपलब्धिहरू नै धरापमा परेको वर्तमान चुनौतीपूर्ण अवस्थालाई बोध गर्दै मुलुकलाई लोकतान्त्रिक बाटोमा फर्काउन संविधानका पक्षधर सबै शक्तिहरू, संसदमा रहेका दलहरू, सबै लोकतान्त्रिक र देशभक्त नागरिक तथा आम जनसमुदायलाई आपसी संवाद, सहकार्यका लागि एमालेले आह्वान गरेको छ ।
मुलुकमा शान्ति सुरक्षाको अवस्था निकै नाजुक बनेको भन्दै एमालेले ठुलो सङ्ख्यामा प्रहरीका हातहतियार र गोलीगठ्ठा लुटिएको एवं जेलबाट भागेका कैदीहरूको ठुलो सङ्ख्या अझै बाहिर रहेको अवस्थाले गर्दा जनता सन्त्रासमा रहेका जनाएको छ ।
सुरक्षाकर्मीहरूको मनोबल खस्किएको, सन्दिग्ध र विवादास्पद पात्रहरूले सरकारी कार्यालय र व्यावसायिक प्रतिष्ठानहरूमा अनधिकृत ढङ्गले पसेर राष्ट्रसेवकहरू र व्यवसायीहरूलाई धम्क्याइरहेका र कानुन हातमा लिइरहेका एमालेले जनाएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीशहरू एवं संवैधानिक अङ्गका प्रमुखहरू लगायतलाई राजीनामाका लागि धम्की दिँदै विधिको शासन, संविधानवाद र लोकतान्त्रिक पद्धतिमाथि खुलेआम हमला गरिएको एमालेको ठहर छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




