राजनीति

कलाकारहरूले प्रधानमन्त्रीलाई भने : यो देश बचाउनुहोस्

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिनुभएको छ।

समकालीन नेपाली सिनेमाका चर्चित ९ जना कलाकारले प्रधानमन्त्री कार्कीलाई बुधबार बालुवाटारमा भेटी भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न भन्नुभएको हो।

‘सरकारसँग हामी केही माग्न आएका होइनौँ,’ उहाँहरूको भनाइ थियो, ‘यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला। पहिला यो देश बचोस्। देश बस्नलायक होस्। यसका लागि सरकारले दह्रो खुट्टा टेकेर अघि बढोस्। हामी साथमा छौँ।’

निष्कलंक छवि र मुलुकको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास कायम गरिसकेर घरमा आराम गरिरहेको अवस्थामा यो कठिन परिस्थिति सम्हाल्न आउनुभएकामा प्रधानमन्त्री कार्कीप्रति उहाँहरूले कृतज्ञता पनि प्रकट गर्नुभयो।

‘अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न आमा आउनुभएको छ,’ अभिनेतृ ऋचा शर्माले भन्नुभयो, ‘हामीलाई ढुक्क भएको छ। यहाँको सरल, सादगीपूर्ण र स्पष्टवक्ता शैलीका कारण पनि भरोसा जागेको छ। अब मुलुक ठिक दिशामा अघि बढ्नेछ। यहाँहरू अविचलित रही अघि बढ्नुहोस्, हामी साथमा हामी छौँ।’

यो परिवर्तन नरुचाएका तत्तहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसहित यो सरकारलाई विवादमा तान्न खोजेको र त्यसका लागि सामाजिक सञ्जालमा दुष्प्रचार भइहरेकोमा पनि कलाकारहरूले चिन्ता व्यक्त गर्नुभयो। यस्तो दुस्प्रचार र प्रोपोगान्डाप्रति सचेत रही सरकारले गरेका कामकारबाहीको विवरण नियमित सार्वजनिक गर्नुपर्ने उहाँहरूको आग्रह थियो।

अभिनेता विपिन कार्कीले भन्नुभयो, ‘गृहमन्त्रीज्यूका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति हामीलाई भएको छ। सरकारप्रति थप विश्वास र आशा जागेको छ। अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाऊँ।’

गृहमन्त्रीले कानुनको शासनका पक्षमा देखाएको अडान र विपद् व्यवस्थापनमा खेलेको भूमिकाको सह्राहना गर्दैै उहाँहरूले देशमा सरकार छ भन्ने कुराको अनुभूति भएको बताउनुभयो। ‘सरकारले नबोलेका कारण पनि चर्को स्वरले कराउने खराब र दूषित तत्वहरू सामाजिक सञ्जालमा हाबी भएका छन्,’ अभिनेता निश्चल बस्नेतले भन्नुभयो, ‘आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनुपर्दैन। ढुक्कसँग अघि बढ्नुहोस्। तपाईँको पक्षमा हामी छौँ। देशलाई थप अफ्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ। सरकारलाई सहयोगको खाँचो छ। र, यतिखेर सकारात्मकताको खाँचो छ।’ विभिन्न प्रकारका दागी र भ्रष्टाचारका आरोपीहरूले के भन्छन् भन्ने कुरालाई महत्व नदिन पनि उहाँहरूको आग्रह थियो।

साहित्य र कलाले आलोचनात्मक चेत बोक्ने भए पनि अहिले तटस्थ नागरिक सरकार रहेको र पूर्वप्रधानन्यायाधीशदेखि समाजका प्रतिष्ठित, विज्ञ, विशेषज्ञहरू मन्त्रिमण्डलमा सामेल भएका कारण पनि कम्तीमा विगतमा जस्तो बेथितिको संरक्षण हुने छैन भन्ने विश्वास पनि उहाँहरूले व्यक्त गर्नुभयो। संगीतकार कालीप्रसाद बाँस्कोटाले भन्नुभयो, ‘समाज भड्काउन सजिलो छ। सम्हाल्न गाह्रो छ। अहिले भड्काउन खोज्नेहरू बढी देखिएका छन्। त्यस्ता तत्वहरूप्रति सचेत रहँदै सम्हाल्ने र सम्हालिने समय हो यो।’

यो सरकारलाई बदनाम र कमजोर बनाउँदै अस्थिरताको लाभ लिन खोज्नेहरूले नियोजित रुपमा चलाइरहेका अभियानलाई निस्तेज बनाउन जेनजी युवादेखि परिवर्तनपक्षधर सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि सर्जकहरूले औँल्याउनुभयो। अभिनेता विजय बरालले भन्नुभयो, ‘यो परिवर्तनको पक्षमा रहेका हामी सारा नेपाली जनता एकातिर छौँ। जनताबाट तिरष्कृत एउटा फुच्चे पावर अर्कोतिर छ। त्यसले हामीलाई पेलिरहेको छ। यो कुरा हामी सबैले बुझ्नुपर्छ।’

प्रधानमन्त्री कार्कीले छलफलको अन्त्यमा भन्नुभयो, ‘साथ सहयोग सबैको चाहिन्छ। समाजमा तपाईँहरूको प्रभाव छ। दुष्प्रचार चिर्नका लागि तपाईँहरूले पनि भूमिका खेलिदिनुहोस्। हाम्रा केही कमी कमजोरी भए पनि औँल्याइदिनुहोस्। तर, असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौँ। हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौँ।’

भेटघाटमा कलाकार तथा सर्जकहरू विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, रिचा शर्मा, कर्मालगायतको उपस्थिति थियो।
भेटघाटको संयोजन पुकार बमले गर्नुभएको थियो।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...