अर्थ

बीपी राजमार्ग सञ्चालनमा

काभ्रेपलाञ्चोक। बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो ।

अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

सुक्खा पहिरोका कारण डाइभर्सन तथा अवरोध हटाउन केही समस्या भएको इञ्जिनियर योगेशले बताउनुभयो । यस्तै, रोशी-१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उहाँले बताउनुभयो । “सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो ।

यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक माथिबाट निरन्तर सुक्खा पहिरो खसेकाले बिहीबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाइएको इञ्जिनियर योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबारदेखिको अविरल वर्षाले नमोबुद्ध नगरपालिका ६ चौकीडाँडा, बिरुवाडाँडा डालाबेँसी, नार्के, चारसयबेँसी, घुमाउनेलगायत स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर राजमार्गका विभिन्न भाग अवरुद्ध भएका थिए । यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण पटकपटक सवारी सञ्चालनमा रोक लगाइँदै आइएको थियो ।

गत वर्षको असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो । “सडक बगेपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो”, उहाँले भन्नुभयो ।

बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो ।

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइएको जनाएको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । रासस

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...