राजनीति

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयहरूलाई सार्वजनिक खर्चमा मितव्ययिता कायम राख्न र सार्वजनिक कोषको प्रभावकारी तथा नतिजामूलक उपयोग गर्न निर्देशन दिनुभएको छ।

उहाँले सोमबार दिउँसो सिंहदरबारमा अन्तरिम सरकार गठनपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिँदै यस्तो निर्देशन दिनुभएको हो।

प्रधानमन्त्री कार्कीले गत भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म र भावना अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन, र प्रभावकारी सेवा प्रवाह आजको आवश्यकता भएको बताउनुभयो। उहाँले निजी क्षेत्रको मनोबल बढाएर औद्योगिक वातावरण सुधार गर्न, आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न मन्त्रालयहरूलाई निर्देशन दिनुभएको छ।

प्रधानमन्त्रीले भन्नुभयो, “सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्। सार्वजनिक खर्चमा मितव्ययिता कायम राख्न अर्थ मन्त्रालयको जारी परिपत्रलाई कडाइका साथ पालना गर्नुहोस्। आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने र निजामती कर्मचारी तथा सुरक्षाकर्मीहरूको मनोबल बढाउने उपायहरू अवलम्बन गर्नुहोस्। कर्मचारीहरूको सरुवा–बढुवा प्रणालीलाई अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउन आवश्यक कामहरू गर्नुहोस्। आन्दोलनमा क्षतिग्रस्त संरचना, मेशिनरी, औजार र उपकरणमा पुगेको क्षति तुरुन्त मूल्याङ्कन गरी पुनर्निर्माणको नीति तथा कार्ययोजना बनाउनुहोस्।”

प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण तयार पार्न निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवालाहरूसँग निरन्तर संवाद कायम राख्न समेत निर्देशन दिनुभएको छ। साथै, मन्त्रालयहरूको वार्षिक कार्ययोजना कार्यान्वयनको समीक्षा गरी परम्परागत शैलीबाट माथि उठेर नयाँ मानक स्थापना गर्न पनि उहाँले आग्रह गर्नुभयो।

उहाँले थप भन्नुभयो, “प्रदेशमा जनशक्ति व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेछ। तीनै तहका सरकारबीच समन्वय थप प्रभावकारी बनाउन आवश्यक कामहरू गर्नुहोस्। कानूनको शासन प्रत्याभूत गर्न सबै खाले आपराधिक क्रियाकलाप नियन्त्रण गर्न कुनै सम्झौता नगर्नुहोस्। अनावश्यक संरचना खारेज, गाभ्ने वा हस्तान्तरण गरेर सार्वजनिक प्रशासनलाई चुस्त, दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने काम तत्काल प्रारम्भ गर्नुहोस्।”

प्रधानमन्त्री कार्कीले स्थायी सरकारजस्ता जिम्मेवारी निर्वाह गर्न, आफ्नो ज्ञान, सीप र अनुभव प्रयोग गर्दै समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासन प्रत्याभूत गर्न सबै जिम्मेवारीहरू पूर्ण गर्न मन्त्रालयहरूलाई निर्देशन दिनुभयो।
– न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...