प्रणय शिखरमा रमाउँदै प्रेमिल जोडी
गलेश्वर । आज फेबु्रअरी १४ अर्थात् माया साटासाट गर्ने दिन । भ्यालेन्टाइन डे का नामले चिनिने आजको दिनमा म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल (प्रणय शिखर) मा मायालु जोडीको भीड लागेको छ ।
आज मौसम पनि खुलेको छ । लभ्लीहिलको उत्तरतर्फ चाँदी झैँ सेता हिमश्रृङ्खला मुसुक्क मुस्कुराइरहेजस्ता देखिएका छन् । बेनी बजारलाई फन्को मारेर कालीगण्डकी र म्याग्दी नदी नागबेली हुँदै बगेको दृश्यलाई नियाल्दै प्रणय शिखरको शिरमा ऐतिहासिक ज्यामरुककोटको खड्गभवानी र पुछारमा बेनी बजारको सुन्दरतालाई साक्षी राखेर सुन्दर जोडी माया साटासाट गरिरहेका छन् ।
एउटा हातमा गुलाबको फूल र अर्को हातमा उपहार लिएर प्रणय शिखर ९लभ्लीहिल० मा पुगेका मायालु जोडीमा आज बिहानैदेखि बेग्लै रौनक र उमङ्ग देखिएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि करिब आधा घण्टाको उकालो उक्लिएपछि पुगिने लभ्लीहिल बेनी नगरपालिका वडा नं २ मा पर्दछ । लभ्लीहिलमा रेष्टुरेन्ट सञ्चालन गर्नुभएका मानकाजी घिमिरेका अनुसार अघिपछिको तुलनामा केही दिनयता युवायुवतीको आगमन बढेको छ ।
केही दिनयता टाढाटाढाबाट समेत युवायुवती आउन थालेपछि यहाँको रौनक थपिएको लभ्लीहिलमा विगत छ वर्षदेखि खाजा घर सञ्चालन गर्दै आएका चन्द्रबहादुर कार्कीले बताए । “अघिपछि खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवती आज गुलाबका फूल र अन्य विभिन्न किसिमका उपहार बोकेर आएका छन्”, स्थानीय नारायण कार्कीले भने, “अघिपछिको भन्दा आजको माहोल छुट्टै छ, युवायुवतीको भीडले लभ्लीहिलको रौनक पनि बढेको छ ।”
यहाँ अहिले विभिन्न आधुनिक पोसाकमा सजिएर बाइक, स्कुटीलगायतका सवारी साधनमा युवायुवती आएका छन् । सडकको पहुँच र पदमार्ग निर्माण भएपछि लभ्लीहिलमा आउने युवायुवती र पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्थानीय चन्द्रबहादुर कार्की बताउछन् ।
आज बिहान आफ्नी प्रेमिकाका साथमा लभ्लीहिलमा आउनुभएका बेनीका एक युवाले आफ्नी प्रेमिकालाई उत्तरतिरको हिमाल देखाउँदै आफ्नो माया पनि हिमालजस्तै अटल र पवित्र रहेको आश्वासन दिइरहेका छन् । यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत आठ हिमाल, बेनीबजार, नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकी नदी, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्र देख्न सकिन्छ ।
लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयको भनाइ छ । पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्लीहिल बनेपछि समूहसमूह बनाएर दैनिकरुपमा युवापुस्ता पुग्ने गरेका छन् । सामान्य समयमासमेत लभ्लीहिलमा मानिसको उपस्थिति देखिन्छ भने बिदाको समय र शनिबारको दिनमा त झन् भीडै लाग्ने गरेको छ । प्रायःकलेज पढ्ने उमेरका युवायुवती लभ्लीहिलमा देखिन्छन् । पछिल्लो समय तस्बीर खिचाउन र टिकटक बनाउन पनि यहाँ दैनिकजसो युवायुवतीको भीड लाग्ने गरेको छ ।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...




