अफगानिस्तानसँग पनि नेपालको हार
काठमाडौं। नेपाली टोली लगातार तीन खेल हार्दै एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।
नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी यू–१९ एसिया कपको आफ्नो तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । यसअघि, नेपाली टोली आफ्नो पहिलो खेलमा श्रीलंकासँग आठ विकेटले र दोस्रो खेलमा बंगलादेशसँग सात विकेटले पराजित भएको थियो ।
नेपाल समूह ‘बी’ तालिकामा सबैभन्दा तल रह्यो । उक्त समूहबाट श्रीलंका र बंगलादेश प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भए । नेपाललाई हराएको अफगानिस्तान पनि उपाधि होडबाट बाहिरियो ।
समूह ‘ए’ बाट भने तीनवटै खेल जित्दै भारत ६ अंकसहित विजेताका रूपमा सेमिफाइनलमा पुग्यो । उक्त समूहबाट पाकिस्तान उप–विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यूएई र मलेसिया भने बाहिरिए ।
दुबईस्थित द सेभेन्स स्टेडियममा खेलिएको आफ्नो अन्तिम खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० मध्ये ४६.४ ओभरमै अलआउट हुनुअघि एक सय २४ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ६८ बलमा चारवटा चौका हिर्काए ।
तल्लोक्रमका ब्याट्सम्यान चन्दन रामले २७ रन बनाए । उनले ४० बलमा दुई छक्का र एक चौका हिर्काए । अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन जोडे ।
नेपाली टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । ओपनर साहिल पटेल एक र निरज कुमार यादव आठ रनमै पेभेलियन फर्किएका थिए ।
विकेटकिपर ब्याट्सम्यान आशिष लुहार चार, कप्तान अशोक धामी पाँच र युवराज खत्री नौ रनमा आउट भए । नितिस कुमार र विपिन शर्माले खाता खोल्न सकेनन् ।
नेपालले अतिरिक्त रूपमा ६ रन पायो । अफगानिस्तानका बलर जैतुल्लाह शाहिनले तीन विकेट लिए । वाहिदुल्लाह जदरान, नुरिस्तानी ओमरजाई र अब्दुल अजिजले पनि दुई–दुई विकेट हात पारे ।
जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले २६.५ ओभरमै केवल चार विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्यो । अफगानिस्तानको जितमा उजाइरुल्लाह निजाईले सर्वाधिक ६१ रनको योगदान गरे ।
चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ५९ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काए । ओपनर ओस्मान सदातले पनि ५१ बलमा तीन चौकाको मद्दतले २८ रन बनाए ।
अर्का ओपनर फैसल सिनोजादा १६ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै पेभेलियन फर्किए । कप्तान महबुब खान ११ र अजिजुल्लाह मिखाइल पनि ११ रनमा अविजित रहे ।
अफगानिस्तानले अतिरिक्त रूपमा केवल एक रन पायो । नेपाली टोलीका बलर अभिषेक तिवारीले दुई विकेट लिए । विपिन शर्मा र चन्दन रामले पनि एक–एक विकेट हात पारे ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




