काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र स्वाधीन मधेस जनअभियानबीच कार्यगत एकता घोषणा गरिएको छ।
सोमबार ललितपुरको बालकुमारीस्थित जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुबै पक्षले संयुक्त संघर्ष अघि बढाउने सहमति गरेका हुन्।
घोषणापत्रमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापना, स्थानीय तहलाई विकासको प्रमुख आधार बनाउँदै दलविहिन निर्वाचन प्रणालीको पक्षमा संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ। साथै संविधानलाई अधुरो, अपुरो र विभेदकारी ठहर गर्दै संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखनका लागि संघर्ष जारी राख्ने उल्लेख छ।
संघीय शासन प्रणालीलाई सुदृढ गर्दै प्रदेशलाई अधिकारसम्पन्न बनाउने, मधेसी, दलित, महिला, जनजाति, खस, मुस्लिम अल्पसंख्यक तथा पिछडावर्गको अधिकार, पहिचान र सम्मानका लागि निरन्तर संघर्ष गर्ने र राज्यका सबै तहमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संयुक्त प्रयास गर्ने सहमति भएको छ।
कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेस जनअभियानका संयोजक कैलाश महतोले घोषणापत्रमा हस्ताक्षर गर्नुुभएको छ।




