भिडियो

खबरसेवा ब्रिफिङ: यसरी छानिन्छन् ११० समानुपातिक सांसद

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिकतर्फ निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् ।

जम्मा जम्मी ११० सिटका लागि हुने समानुपातिक निर्वाचनमा ५८ निर्वाचन चिह्नमा ६४ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन्।  जसमा ५४ दलले आफ्नो निर्वाचन चिह्न र गठबन्धन गरेका १० दलले ४ वटा चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने भएका हुन्।

समानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने दलहरूमध्ये १८ वटाले आ-आफ्नै चुनाव चिह्नमा चुनाव लड्ने गरी ११० सिटमै उम्मेदवारी दिएका छन् ।

सहभागी सबै दलका गरी समानुपातिकमा ३ हजार ४ सय २४ जनाको उम्मेदवारी परेको छ। यो भनेको आवश्यकभन्दा ३० गुणा बढीको उम्मेदवारी हो।

अब यतिका धेरै उम्मेदवारबाट कुन समुदायबाट कति र कसरी ११० जना निर्वाचित हुन्छन् त? अब यस बारे चर्चा गरौं।

११० मध्य कुन समुदायको कति प्रतिशत उम्मेदवार वा प्रतिनिधित्व हुनुपर्छ? यो हेर्नहोस:

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेद्वारको बन्दसूची पेश गरेका छन्।

राष्ट्रिय जनगणना, २०७८ को विवरणका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची १ मा संशोधन गरिएको थियो।

पछिल्लो कानुनी प्रबन्धअनुसार, दलले पेश गर्ने बन्दसूचीमा दलित १३ दशमलव ४४ प्रतिशत, आदिवासी जनजाति २८ दशमलव ७२ प्रतिशत, खस आर्य ३० दशमलव २८ प्रतिशत, मधेसी १६ दशमलव १५ प्रतिशत, थारु छ दशमलव ५२ प्रतिशत र मुस्लिम चार दशमलव ८९ प्रतिशत हुने गरी उम्मेद्वारको नाम समावेश हुनुपर्छ। यो प्रतिशतभित्र पनि कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ ।

अब ११० जना चयन हुने विधि बारे कुरा गरौं।

दलहरूले समानुपातिक मतगणनामा पाएको कुल मत अनुसार त्यसलाई भाग लगाएर सांसद सङ्ख्या निर्धारण गरिन्छ । दलहरूले सांसद सङ्ख्या पाएपछि यसअघि आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार मनोनयन गर्नुपर्ने व्यवस्था छ ।

कुल समानुपातिक मतबाट कसरी निकालिन्छ सिट सङ्ख्या ?

समानुपातिक प्रणालीमा सिङ्गो देशलाई एउटा क्षेत्र मानेर राजनीतिक दलले पाएको मतको एकमुस्ट रूपमा गणना हुन्छ।

समानुपातिक सिटका लागि कुल खसेको मतको ३ प्रतिशत मत कटाउने दलले मात्र सिट सुरक्षित गर्न सक्छन् ।  ३ प्रतिशत मत नपाउने दलले समानुपातिक तर्फको सिट पाउन नसक्ने व्यवस्था छ भने सो मत सिटका लागि गणनाभित्र नपर्ने हुन्छ अर्थात् खेर जान्छ। यसलाई थ्रेसहोल्ड भनिन्छ।

त्यसकारण सुरुमा देशभरको समानुपातिक तर्फको सदर मतको कुल सङ्ख्याबाट ३ प्रतिशत मत कति हुन्छ पत्ता लगाइन्छ।

त्यसपछि ३ प्रतिशतको थ्रेस होल्ड कटाउने र नकटाउने दलको पहिचान गरिन्छ।

समानुपातिक सिटका लागि ३ प्रतिशत मत कटाउने दलहरू छुट्याएपछि फेरि ३ प्रतिशत मत कटाउने दलहरूले पाएको मतलाई जोडेर कुल योगफल  निकाल्नुपर्छ।

त्यसपछि सो कुल योगफललाई समानुपातिकको कुल सिट सङ्ख्या ११० ले भाग गरिन्छ। ११० ले भाग गर्दा जति अङ्क आउँछ त्यो अङ्कले फेरि ३ प्रतिशत मत कटाएका राजनीतिक दलले पाएको समानुपातिक तर्फको कुल मतलाई भाग गर्नुपर्छ। त्यसरी भाग गर्दा जुन अङ्क आउँछ त्यति बराबर सिट पाउने हुन्छ।

सो सिट संख्याका आधारमा कलस्टरअनुसार बन्दसूचीबाट समानुपातिक सांसद निर्वाचित हुन्छन्। कलस्टर र समावेशिता मिलाउन दलले प्रत्यक्षमा पाएको सिटको पनि प्रभाव रहन्छ।

त्यसरी आयोगले दलको समानुपातिक सिट सङ्ख्या निकालेपछि एक साताभित्र दलहरूलाई सांसदको नाम पठाउन भन्छ।

त्यसपछि दलहरूले यसअघि नै बुझाएको बन्दसूचीको विभिन्न क्लष्टरमा रहेको पहिलो स्थानमा रहेका नामलाई प्राथमिकता दिँदै सांसदहरूको छनौट गरेर आयोगमा पठाउनुपर्छ।

उदाहरणका लागि २०७९ मा भएको निर्वाचनमा दलहरुले प्राप्त गरेको मतका आधारमा कुनले कति सिट पाएका थिए त? यहाँ हेर्नुहोस्।

२०७९ मा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका थिए।

ती  सात राजनीतिक दलले ९२ लाख ७१ हजार सात सय १२ मत प्राप्त गरेका थिए । यसअनुसार नेकपा एमालेले कूल सदर मतको ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरी ३४ सिट प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले २९ दशमलव २९ प्रतिशत मत प्राप्त गरी ३२ सिट पाएको थियो।

यस्तै तेस्रो धेरै समानुपातिक मत ल्याएको नेकपा माओवादी केन्द्रले कूल सदर मतको १२ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गरेको गरेको थियो भने चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले १२ दशमलव १९ प्रतिशत मत प्राप्त गरी १३ सिट प्राप्त गरेको थियो।

त्यसैगरी पाँचौ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ दशमलव ३५ मत प्राप्त गरी सात सिट, जनता समाजवादी पार्टीले ४ दशमलव ५४ मत प्राप्त गरी पाँच सिट र जनमत पार्टीले ४ दशमलव २६ मत प्राप्त गरी पाँच सिट प्राप्त गरेका थिए।

अब यो पटक कुन दलले कति मत ल्याउँछन्  फागुन २१ कुरौं।

सम्बन्धित समाचार

सांसदको ‘असली’ काम के हो? (भिडियो)

काठमाडौं। जेनजी आन्दोलपछि भएको राजनीतिक परिवर्तनले चालू संसद तीन वर्ष नपुग्दै विघटन भयो। सोही आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले...

महानिरीक्षक कार्कीको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक (भिडिओ)

महानिरीक्षक कार्कीको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ।...

पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्कियो : थापा

पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्कियो : थापा

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको बताउनुभएको छ।...

कांग्रेसलाई समाप्त हुन नदिन नेतृत्व परिवर्तन गर्न चाहेको हौंः प्रदीप पौडेल

कांग्रेसलाई समाप्त हुन नदिन नेतृत्व परिवर्तन गर्न चाहेको हौंः प्रदीप पौडेल

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताउनुभएको छ । ...