भदौ २३ र २४ गते घटेका घटनापछि मुलुक असामान्य अवस्थामा धकेलियो : ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले पार्टी मात्र होइन, समग्र नेपाली लोकतन्त्रलाई नयाँ भरोसा र आत्मबल दिएको बताउनुभएको छ । शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिकूल राजनीतिक परिस्थितिबीच सम्पन्न महाधिवेशनले प्रतिगमनकारी र अराजक शक्तिलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीका अनुसार मङ्सिर २७ देखि पुस ३ सम्म सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशन सामान्य पार्टीगत प्रक्रिया मात्र नभई राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा प्रभाव पार्ने ऐतिहासिक घटना बनेको छ । उहाँले भन्नुभयो, ‘सामान्यतया राष्ट्रिय महाधिवेशन पार्टीको आन्तरिक विषय हो, तर जस्तो समय र सन्दर्भमा यो आयोजना गरियो र जुन भव्यता तथा सन्देशका साथ सम्पन्न भयो, त्यसले समग्र राष्ट्रिय राजनीतिलाई नै सकारात्मक रूपमा प्रभावित गरेको छ ।’
अध्यक्ष ओलीले भदौ २३ र २४ गते घटेका घटनापछि मुलुक असामान्य अवस्थामा धकेलिएको स्मरण गर्नुभयो । उहाँका अनुसार नवयुवाहरूका सामान्य माग र शान्तिपूर्ण प्रदर्शनभित्र योजनाबद्ध रूपमा घुसपैठ गरी हिंसात्मक मुठभेडमा परिणत गरिँदा १९ जना युवाको ज्यान गएको थियो । त्यसलाई बहाना बनाएर भोलिपल्ट देशभर व्यापक दहन, विध्वंस र लुटपाट गरिएको उहाँको भनाइ थियो ।
उहाँले ती घटनालाई नेपालको इतिहासकै अत्यन्तै त्रासद घटना भन्दै एकै दिन कार्यकारी, विधायिकी र न्यायिक संरचनामाथि आक्रमण गरिएको उल्लेख गर्नुभयो । ‘राष्ट्रपति भवनदेखि वडा कार्यालयसम्म, सुरक्षा पोष्टदेखि मिडिया हाउससम्म, दलका कार्यालयदेखि शहीदका स्मारकसम्म र निजी सम्पत्तिसम्म व्यापक विध्वंस भयो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँका अनुसार यी घटनाहरू कुनै स्वतःस्फूर्त आक्रोशको परिणाम नभई लोकतन्त्र समाप्त पार्ने, संविधान असफल बनाउने र देशलाई दशकौँ पछाडि धकेल्ने नियोजित षड्यन्त्रको अङ्ग थिए । भदौ २३–२४ का घटनाका सन्दर्भमा एमालेले यसअघि नै केन्द्रीय कमिटी बैठक र महाधिवेशनबाट पारित प्रस्तावमार्फत् आफ्नो दृष्टिकोण सार्वजनिक गरिसकेको उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले त्यसपछि लोकतान्त्रिक दल र प्रणालीविरुद्ध नियोजित घृणा, निषेध र आक्रमणको शृङ्खला चलाइएको बताउनुभयो । विध्वंसलाई ‘विद्रोह’ र ‘आन्दोलन’ का नाममा महिमामण्डन गर्दै स्थापित दल, नेतृत्व र लोकतान्त्रिक प्रणालीमाथि झुटा आरोप, धम्की र योजनाबद्ध प्रहार गरिएको उहाँको भनाइ थियो ।
उहाँले जनादेशप्राप्त सरकारलाई विस्थापन गर्ने, प्रतिनिधिसभा विघटन गरी रिक्तता सिर्जना गर्ने र अनिर्वाचित तथा अराजक पात्रहरूले कानुन हातमा लिने दुष्प्रयास गरेको घटनालाई पनि स्मरण गर्नुभयो । समाजलाई युवाहरू र वृद्ध उमेर समूहबिच विभाजित गर्ने, राजनीतिलाई विचार र मुद्दाबाट हटाएर ‘नयाँ’ र ‘पुरानो’ को हानिकारक कित्ताकाटतर्फ धकेल्ने प्रयास भएको उहाँको भनाइ थियो ।
‘लोकतान्त्रिक प्रणाली असफल भयो, पुराना पार्टी असान्दर्भिक भए र पुराना नेता समाजका बाधक हुन् भन्ने नकारात्मक भाष्य निर्माण गरियो,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँका अनुसार यति गहिरो षड्यन्त्रलाई बुझ्न दलहरूमा केही समय अलमल पनि देखियो ।
अध्यक्ष ओलीले यही पृष्ठभूमिमा सम्पन्न एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको विशेष र राष्ट्रिय महत्त्व रहेको बताउनुभयो । भदौ २३–२४ का घटनामा सर्वाधिक क्षति व्यहोरेको पार्टी एमाले नै भएको उल्लेख गर्दै उहाँले पार्टीले सरकारको नेतृत्व गुमाउनुका साथै सत्ताबाटै विस्थापित हुनुपरेको, केन्द्रीय कार्यालयसहित ६४ भन्दा बढी पार्टी कार्यालय ध्वस्त भएको र करिब २ सय नेता–कार्यकर्ताको घर दहन र लुटपाट भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यति ठुलो धक्का व्यहोरेको पार्टीले तीन महिनाको छोटो अवधिमै आफूलाई सम्हाल्दै पुनः उठ्नु, आधारभूत तहसम्म चलायमान हुनु र लोकतन्त्रको रक्षाका लागि देशभर प्रदर्शनमा उत्रिनु सामान्य विषय थिएन । ‘त्यति छोटो तयारीमा यति भव्य महाधिवेशन सम्पन्न हुनु एमालेको जनाधार, कार्यकर्ताको मनोबल र पार्टीको प्रतिरोधी क्षमता कति सशक्त छ भन्ने प्रमाण हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले महाधिवेशनको पहिलो सन्देश पार्टी जस्तोसुकै प्रतिकूलतालाई पनि अनुकूलतामा बदल्न र जस्तोसुकै जोखिमसँग पनि जुझ्न सक्षम छ भन्ने रहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीका अनुसार महाधिवेशनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक शक्तिलाई ठुलो भरोसा दिएको छ । ‘प्रतिगमनको चक्कामा ब्रेक लागेको छ र अराजक तथा देशद्रोही शक्तिको मनोबल खस्किएको छ,’ उहाँले भन्नुभयो । महाधिवेशनको उद्घाटन सत्रमा भक्तपुरको सल्लाघारीमा उपस्थित लाखौँ जनताले एमाले मात्र होइन, लोकतन्त्रको रक्षाकवचका रूपमा आफूलाई उभ्याएको उहाँको भनाइ थियो । भदौ अन्तिम साताका घटनापछि ‘पुराना दल सिद्धिए’ भन्ने भ्रमलाई महाधिवेशनले खण्डन गरेको र लोकतन्त्र अजेय छ भन्ने सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले एमालेले लिएको राष्ट्रिय दृष्टिकोण, व्यवहार र अडान नै नेपाली जनताको दृष्टिकोण भएको दाबी गर्नुभयो । राष्ट्रियता, सुशासन, भ्रष्टाचार नियन्त्रण, जनताको हकअधिकारको सुरक्षा र तीव्र विकासका पक्षमा एमाले अडिग रहेको सन्देश महाधिवेशनले पुनः स्पष्ट पारेको उहाँको भनाइ थियो ।
उहाँले महाधिवेशनमार्फत् नेतृत्वको वैधता र स्वीकार्यताको प्रश्न विधिसम्मत् ढङ्गले समाधान भएको बताउनुभयो । पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर छ भन्ने भ्रम चिरेको र समूहबन्दी तथा विवादहरू टुंगिएको उहाँले उल्लेख गर्नुभयो ।
महाधिवेशनले केन्द्रीय कमिटीमा नवपुस्ताको प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभव दुवै आवश्यक हुने बताउनुभयो । ‘एमालेले भनाइबाट होइन, व्यवहारबाटै योजनाबद्ध रूपमा पुस्तान्तरण अघि बढाएको छ,’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनको मूलधार र मुख्य शक्तिका रूपमा एमालेले विभिन्न धार र समूहलाई एकत्रित गर्दै अघि बढेको उल्लेख गर्नुभयो । घर फर्क अभियानमार्फत् पार्टीमा पुनः जोडिएका कमरेडहरूलाई सम्मानपूर्वक आत्मसात् गरिएको उहाँको भनाइ थियो ।
महाधिवेशनको भव्य व्यवस्थापनले पार्टीको व्यवस्थापकीय क्षमता र स्वयंसेवकहरूको भूमिका पनि प्रमाणित गरेको अध्यक्ष ओलीले बताए । अन्त्यमा उहाँले महाधिवेशनका सन्देशहरू पार्टी पङ्क्तिमा राम्रोसँग स्थापित गर्दै विधान महाधिवेशनबाट पारित दस्ताबेजका आधारमा नयाँ ढङ्गले प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभयो । ‘अब पछाडि फर्कने होइन, अग्रगतिमा लाग्ने हो । महाधिवेशनले समाधान गरिसकेका विषयहरू दोहोर्याएर अल्झिनु हुँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँका अनुसार पार्टी अब अझ गहिरो समझदारी र सुदृढ एकताका साथ अघि बढ्नेछ ।
ताजा अपडेट
-
१.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
२.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
३.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
४.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
-
५.
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
ट्रेन्डिङ
सम्बन्धित समाचार
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...




