पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या

काठमाडौं । पाकिस्तानको पञ्जाव प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ ।

गएको २४ घन्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो ।

पञ्जाव प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको प्रहरीले जनाएको छ ।सो स्थानमा बुधबार अपराह्न सवारी साधनमै गोली हानेर चार जना यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ ।

सडकमै गोली प्रहार गरेर चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि बुधबार रातिसम्म पक्राउ गर्न सकेको छैन ।

त्यसैगरी पञ्जाव राज्यको भवलपुर जिल्लामा पनि भ्यानमा यात्रा गरिरहेका यात्रुमाथि गोली चलाइएको थियो । त्यसमा परेर पाँच जना मारिएका थिए ।

सो घटनामा संलग्नको पनि प्रहरीले खोजी जारी राखेको बताएको छ । सडकमा गुडिरहेको भ्यानमा एक अज्ञात व्यक्तिले गोली हानेर भागेको थियो । रासस/सिन्ह्वा

You might also like
Comments
Loading...