समाचार

जनार्दनको गजल सङ्ग्रह सार्वजनिक, ४ जनालाई शुक्ला साहित्य पुरस्कार

पोखरा । गजलकार जनार्दन दाहालको तेस्रो गजल सङ्ग्रह ‘यी मान्छे, यी नजर’ शनिबार तनहुँमा सार्वजनिक गरिएको छ ।

शुक्ला साहित्य सङ्गम, दुलेगौँडाद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले कृतिको लोकार्पण गरे । शुक्ला साहित्य सङ्गमले तनहुँको साहित्यिक फाँटमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सरुभक्तले जनार्दन १ नम्बर प्रदेशका स्थायी वासिन्दाभन्दा बढी गण्डकी प्रदेशकै एक महत्त्वपूर्ण स्रष्टाका रूपमा आफूले चिनेको स्मरण गरे । आफूले चिनेदेखि नै दाहाल एक धैर्यशील सर्जक भएको उनको भनाइ थियो । गजल र कविता दुवैमा कलम चलाउने जनार्दनको सम्पादक व्यक्तित्वबाट पनि आफू प्रभावित भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका सरुभक्तले सुनाए ।

कृतिको समीक्षा गर्दै साहित्यकार रुपिन्द्र प्रभावीले दाहालको ‘यी मान्छे, यी नजर’ गजल सङ्ग्रहभित्र गेय गुणले युक्त गजलहरू समेटिएको बताए । समसामयिक धाराका प्रतिभाशाली गजलकारका रूपमा दाहाललाई सङ्ग्रहले स्थापित गर्ने उनको भनाइ थियो । ‘जनार्दन दाहाल जीवन र जगतका विसङ्गतिहरूलाई शालीन प्रहार गर्ने गजलकार हुन्’ प्रभावीले भने, ‘शास्त्रीय बहरमा पनि गजल लेख्ने रहर कृतिमार्फत् देखाए पनि स्वनिर्मित लयविधानमै लेखिएका उनका गजलहरू सशक्त छन् ।’ उनले दाहाललाई परिपक्व गजलकार रूपमा चिनाए । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित कृतिभित्र ८५ ओटा गजल समेटिएका छन् ।

यसअघि दाहालका २०६३ मा ‘मधुरिमा’ र २०६५ मा ‘उद्वेलित मनहरू’ गजल सङ्ग्रह प्रकाशित छन् । २०६४ मा ‘कविको मृत्यु’ कविता सङ्ग्रह पनि पाठकसामु ल्याएका उनको ‘यी मान्छे, यी नजर’ चौथो कृति हो । झापाको अर्जुनधारामा जन्मेका गजलकार दाहाल विगत २ दशकदेखि तनहुँको दुलेगौँडामा रही साहित्य र शिक्षाका क्षेत्रमा क्रियशील छन् । उनी शुक्ला साहित्य सङ्गमका पूर्व अध्यक्षसमेत हुन् ।

यसै बिच, शुक्ला साहित्य सङ्गमले ४ जना स्रष्टालाई शुक्ला साहित्य पुरस्कार प्रदान गरेको छ । कला र साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै बिम्बकवि रमेश श्रेष्ठलाई १५ हजार रुपैयाँसहितको शुक्ला विशिष्ट सम्मान, गजलकार जनार्दन दाहाललाई १० हजार नगदसहितको शुक्ला पुरस्कार, कवि अनिल श्रेष्ठलाई ५ हजार रुपैयाँ नगदसहितको शुक्ला प्रतिभा पुरस्कार र बालप्रतिभा अनुप लामिछानेलाई २ हजार ५ सय रुपैयाँ रहेको पूर्ण-शुक्ला बाल प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानित प्रतिभा रमेश श्रेष्ठले शुक्लाले गरेको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताए । सङ्गमका कार्यवाहक अध्यक्ष रामशरण गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको परिचय नारायण श्रेष्ठ, आनन्दसुन्दर श्रेष्ठ, टुकादेवी आचार्य र आकाश अधिकारीले दिएका थिए । सोही अवसरमा संस्थामा आबद्ध भएर कृति प्रकाशन गरेका नारायणकैलाश सिग्देलआकाश अधिकारीजुनु खड्काटुकादेवी आचार्यजीवन सागरटीकाराम पौडेल र शेषमणि आचार्यलाई पनि सम्मान गरिएको थियो ।

सहसचिव सुरज लम्सालको सञ्चालन र सदस्य युवराज पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा पञ्चमुनिदेव माविका प्रधानाध्यापक ध्रुवकुमार मल्ल, संस्थाका संरक्षक शेषमणि आचार्य र सल्लाहकार मोती पौडेलले शुभकामना दिएका थिए ।

सोही अवसरमा सम्पन्न १८० औँ नियमित काव्य शृङ्खलामा अनुप लामिछाने, यामप्रसाद सापकोटा, शान्ता बाँस्तोला, मोहन भुजेल, सुपुन पौडेल, कविता मानन्धरलगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए । सङ्गमले हरेक महिनाको अन्तिम शनिबार काव्य शृङ्खला सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

काठमाडौँ। ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब...

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

काठमाडौँ। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।...