बुधबार, माघ २३, २०८१
English
Follow us:

युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : नेता महतो

युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : नेता महतो

  • खबर सेवा

  • शुक्रबार, बैशाख २, २०७९

  • 36
    SHARES
युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : नेता महतो

काठमाडौं । युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र समाजले समृद्धिको मार्ग पहिल्याउन सकिने आवश्यकता औँल्याइएको छ ।

नयाँवर्ष २०७९ को उपलक्ष्यमा सुडी समाज काठमाडौँ, युवा उपसमितिद्वारा शुक्रबार यहाँ आयोजित ‘शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन’ कार्यक्रमका वक्ताले सुडी समुदायका युवालाई स्वरोजगार, उद्यमशीलता, नवप्रवर्तन र सीप विकासका माध्यमबाट समाज निर्माणको मूल प्रवाहमा समाहित गर्नुपर्ने आवश्यकता औँल्याएको हुन् । उनीहरुले भने, “समाजको अग्रगामी रुपान्तरणका लागि युवामैत्री नीति अवलम्बन गर्नुपर्ने र उनीहरुको सहभागिता, परिचालन र नेतृत्व विकास गर्नुपर्ने आजको आवश्यकता हो ।”

सो अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सामाजिक सङ्घसंस्थाले समाजको रुपान्तरणका लागि कार्य गर्नुपर्ने बताउँदै समाजमा देखिएको विकृति विसङ्गतिको न्यूनीकरण गरी सबल, सक्षम र सुदृढ समाज निर्माणका लागि अग्रसर हुन युवालाई आग्रह गरे ।

सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने उल्लेख गर्दै उनले मानवीय र सामाजिक सेवाबाट मात्र आत्मसन्तुष्टि हुने बताए ।

सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज निर्माण गर्नुपर्ने बताउँदै समाजका सबै सदस्यबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी समृद्ध समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना गरे ।

सुडी समाज महासङ्घ नेपालको सल्लाहकारद्वय वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र इञ्जिनीयर ओमप्रकाश महतो, सुडी समाज काठमाडौंको सल्लाहकारद्वय विश्वनाथ साह र जयशङ्कर महतो, अध्यक्ष डा अशोक महासेठ र महासचिव शीतलप्रसाद महतोले समाजको संस्थागत विकास र उन्नयनका लागि यस समुदायका सबैपक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै समाजभित्रको यथार्थलाई आत्मसात् गरेर यसको विकास र विस्तारमा युवाले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यमा निर्वाचित भएकामा मिर्चैया–६ सिरहाका डा गुरुशरण साह र अमेरिकाको कोलगेट विश्वविद्यालयमा इञ्जिनीयरिङ विषयमा पूर्ण छात्रवृत्ति पाउने जनकपुरधाम–१५ धनुषाका राघवराज साहलाई प्रशंसापत्रद्वारा सम्मान गरियो ।

त्यस्तै ‘सुडी समुदाय काठमाडौंको दुई दशकः स्मारिक–२०७९’ को पनि विमोचन गरियो ।
युवा उपसमितिका संयोजक इञ्जिनीयर रामस्वरुप महासेठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सुडी समाज काठमाडौंका उपाध्यक्ष डा रामनन्दनप्रसाद चौधरीले समाजको संस्थागत विकासका लागि सम्बन्धित सबै पक्षको सक्रिय सहभागिता, समन्वय र सहयोग अपरिहार्य भएको बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology