बालबालिकाको स्वास्थ्यप्रति सचेत बन्दै शिक्षण संस्थामा जंक फुड निशेध गर्न पहल गर्छुः जि.सी.

पोखरा । कास्की क्षेत्र नं. २ ‘ख’बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएकी स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले आफ्नोे क्षेत्र भित्रका शिक्षण संस्थामा जंक फुड निशेध गराउन आफूले पहल गर्ने बताएकी छन् । जंक फुडका कारण विद्यार्थी तथा बालबालिकाहरु धेरै बिरामी हुने गरेको बताउँदै उनले शिक्षण संस्थामा अनिवार्य रुपमा जंक फुड नियन्त्रण गर्नुपर्ने धारणा राखिन् ।

जंक फुडका कारण आफ्ना बालबालिका बिरामी हुने गरेको गुनासो धेरै अभिभावकबाट आइरहेको बताउँदै जि.सी.ले जंक फुड नियन्त्रण अभियानको सुरुवात शिक्षण संस्थाबाट हुनुपर्ने बताएकी छन् । मंगलबार आफ्नो निर्वाचन क्षेत्र भित्रका मतदाताहरुसँग छलफल गर्दै उनले आफूले शिक्षण संस्थामा जंक फुड नियन्त्रण गराउन सशक्त भूमिका खेल्ने र दबाब दिने बताइन् ।

‘शिक्षण संस्थासँगै घर–घरमा पनि जंक फुड नियन्त्रण गर्न आवश्यक छ,’ उनले भनिन्, ‘जंक फुडको सट्टा अर्गानिक खाजा तथा खाना खुवाउने वातावरण बनाउन जरुरी छ ।’ जंक फुड नियन्त्रण गर्न सके बालबालिकाहरुको स्वास्थ्य समस्या पनि कम हुने जि.सी.को भनाइ छ । जंक फुडका कारण रुघा, खोकी, टन्सिल, नाक बन्द हुने, स्यास्या हुने लगायत स्वास्थ्यमा अन्य धेरै समस्या देखिने भएकाले सबै सचेत हुन जरुरी रहेको जि.सी.ले बताइन् । जंक फुड नियन्त्रणका लागि राज्य संयन्त्रले शिक्षण संस्थाहरुमा अनुगमन गर्नसमेत आवश्यक रहेको जि.सी.को भनाइ छ ।

त्यसैगरी सरकारले खाद्यान्नको गुणस्तर समय समयमा चेक गर्नुपर्ने पनि जिसीले माग गरेकी छन् । जनताको स्वास्थ्यमा असर गर्ने गरी गुणस्तरहिन सामानहरु बिक्री गरेको पाइएमा तत्काल कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

You might also like
Comments
Loading...