टी २० विश्वकप : स्कटल्यान्डमाथि जित निकाल्दै नेपालको यात्रा सुखद अन्त्य
काठमाडौँ। नेपालले टी २० विश्वकपमा १२ वर्षपछि जित निकालेको छ। आइसिसी टी(२० विश्वकप २०२६ अन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले १२ वर्षपछि जितको स्वाद चाखेको हो। स्कटल्यान्ड दिएको १७१ रनको लक्ष्य नेपालले १९।२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले नटआउट ५० रन जोडे भने गुल्सन झाले नटआउट २४ रन जोडे। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे भने गुल्सन ले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे। यससँगै दीपेन्द्र नेपालका लागि विश्वकपमा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी र लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। यसअघि उनले वेस्ट इन्डिजविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए।
नेपालले सन् २०१४ मा अफगानिस्तानलाई पराजित गरेपछि विश्वकपमा पहिलो जित निकाल्न सफल भयो। यसअघि जारी विश्वकपको समूहका तीन खेलमा पराजित हुँदा बाहिरिएको नेपालले अन्तिम खेलमा सान्त्वना जित निकालेको हो।
लक्ष्य पछ्याउँदा खेलमा नेपालले राम्रो सुरूवात गर्यो। नेपालले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले दशौं ओभरको पहिलो बलमा आउट हुनुअघि उनले ३५ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन जोड्न सफल भए। उनी नेपालका लागि विश्कवपमा एकै इनिङग्समा सर्वाधिक चार छक्का प्रहार गर्न सफल भए। यो साझेदारी नेपालको विश्वकपमा पहिलो विकेटका लागि उच्च साझेदारी हो।
अर्का ओपनर आसिफ शेखले ३३ रन जोडे। उनले २७ बलमा २ छक्का प्रहार गरेका थिए। उनी १२ ओभरमा आउट हुँदा दुई ओभरपछि पेभिलियन फर्किएका कप्तान रोहित कुमार पौडेलले १६ रन जोडे। रोहितसहित दुवै ओपनरको गरी सुरुवाती तीनै विकेट स्कटल्यान्डका स्पिनर माइकल लिस्कले लिए। उनले सुरुवाती तीन ओभरमा तीन विकेट लिँदा १० रन मात्र दिएका थिए। तर १६औं ओभरमा आफ्नो अन्तिम स्पेल गरेका लिस्कलाई दीपेन्द्रसिंह ऐरीले दुई छक्का र एक चौका प्रहार गर्दा उनले गुल्सन झासँग मिलेर कुल २० रन प्रहार गरेका थिए।
त्यसपछि दीपेन्द्रले नेपालको इनिङग्स सम्हाले। चुनौतीपूर्ण अवस्थामा दीपेन्द्रले स्कटल्यान्डका ब्राड ह्विललाई १८ औं ओभरको अन्तिम दुई बलमा छक्का र चौका प्रहार गर्दा नेपाललाई राहत मिलेको थियो। अर्को ओभरको पहिलो बलमा गुल्सन झाले ब्राड करीलाई छक्का प्रहार गरे। अन्तिम ओभरमा नेपाललाई जितका लागि पाँच रन चाहिदा गुल्सनले दोस्रो बलमा चौका प्रहार गरे। त्यसअघि भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनायो।
स्कटल्यान्डका लागि ओपनिङ ब्याटर माइकल जोन्सले अर्धशतक प्रहार गर्न सफल भए। स्कटल्यान्डले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरूवात गर्यो। पहिलो विकेटको साझेदारी नेपालका कप्तान रोहितकुमार पौडेलले तोडे। रोहितले दशौं ओभरको अन्तिम बलमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेलाई २७ रनमा आउट गरे। रिभर्स स्विप गरेका मन्सेलाई रोहितले लङ अनमा सन्दीप जोराबाट क्याच गराए। उनले २९ बलमा चार चौका प्रहार गरे।
उनै सन्दीप जोराले १४औं ओभरमा भने क्याच छाडे। १४औं ओभरको पहिलो बलमा नन्दन यादवको बलमा १६ रनमा ब्रान्डन म्याकमुलेनको क्याच जोराले छाडेका थिए। आकासिएको बल क्याच लिने क्रममा उनले सहि ठम्याउन नसक्दा हातमा लागेर भुइँमा झर्न पुगेको थियो। त्यसबेला स्कटल्यान्डको स्कोर १ विकेटको क्षतिमा ११० रन भइसकेको थियो। स्कटल्यान्डले ६ ओभरको पावरप्लेमा विनाविकेटको क्षतिमा ५२ रन बनाएर नेपाली बलरमाथि सुरूमै दबाब बढाएका थिए। जर्ज मन्सेले सम्हालिएर खेले पनि अर्का ओपनर माइकल जोन्स आक्रामक ब्याटिङ गरेका थिए। उनले ३१ बलमै अर्धशतक पूरा गर्दा नेपाली बलरलाई ६ चौका र २ छक्का प्रहार गरेका थिए।
आक्रामक ब्याटिङ गरेका जोन्सले दोस्रो विकेटका लागि म्याकमुलेनसँग ५२ रनको साझेदारी गरेका थिए। नेपालका लागि खतरा देखिएका उनलाई १६औं ओभरको दोस्रो बलमा सोमपाल कामीले बोल्ड गरिदिए। सोमपालबाट बोल्ड हुनुअघि उनले ७१ रन जोड्दा ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। एक बलपछि सोमपालले अर्को विकेट लिए। उनले म्याकमुलेनलाई पीचमै एक हाते उत्कृष्ट क्याच लिएका थिए। म्याकमुलेन २५ रन जोड्ने क्रममा १९ बलमा १ चौका र १ छक्का प्रहार गरे।
लोकेश बमले १७ औं ओभरमा बाउन्ड्री नजिक बेरिङटनको क्याच मिस गरेका थिए। लङ अफमा भुर्तेलको बलमा बमले क्याच लिन खोजे पनि हातबाट खुस्किएर छक्का भएको थियो। तर दुई बलपछि नेपालले विकेट लिन सफल भयो। भुर्तेलले बेरिङटनलाई जोराबाट १० रनमा क्याच गराए। उनले ६ बलमा १ छक्का प्रहार गरे।
१८औं ओभरमा नेपालले अर्को विकेट लियो। नन्दन यादवले तेस्रो बलमा म्याथ्यु क्रसलाई ४ रनमा बोल्ड गरिदिए। नन्दनले लेग स्टम्पबाट योर्कर फ्याँक्दै क्रसलाई बोल्ड गरेका थिए। सोमपालले १९औं ओभरमा अर्को विकेट लिन सफल भए। उनले टम ब्रुसलाई पाँच रनमै बोल्ड गरेर पेभिलियन फर्काए। उनले ब्याक ह्यान्ड स्लो बलमा ब्रुसलाई सिकार बनाएका थिए। अन्तिम ओभरमा नन्दन यादवले माइकल लिक्सलाई विकेट पछाडि आसिफ शेखबाट चार रनमा आउट गरे। यो विकेट नेपालले रिभ्यू लिएर हात पारेको थियो। तर अन्तिम बलमा नन्दनलाई मार्क वाटले छक्का हिर्काए। वाटले नटआउट १० बनाए।
नेपाली बलरले खराब सुरुवात गरे पनि अन्तिम पाँच ओभरमा ६ विकेट लिँदा ३९ रन मात्र खर्चिएको थियो। बलिङमा नेपालका सोमपालले तीन विकेट लिए। उनले चार ओभरमा उत्कृष्ट तीन विकेट लिँदा २५ रन मात्र दिए। नन्दनले चार ओभरमा दुई विकेट लिँदा ३४ रन खर्चिए।
कप्तान रोहित पौडेल र कुशल भुर्तेलको नाममा एक एक विकेट रह्यो। कुशलले चार ओभरमा ३७ रन खर्चिए। रोहितले २ ओभरमा १२ रन दिए। नेपालका मुख्य स्पिनर सन्दीप लामिछाने आज पनि विकेटबिहीन बने। उनले तीन ओभर बलिङ गर्दा २९ रन खर्चिए।
खेलमा नेपालले करण केसीको स्थानमा सन्दीप जोरालाई खेलाएको हो। यससँगै १५ सदस्यीय नेपालको टोलीबाट बसिर अहमदले मात्र यसपटक मौका पाउन सकेनन्। समूह ‘सी’ मा नेपाल लगातार तीन खेल हार्दै बाहिरिएको थियो। यस्तै स्कटल्यान्ड पनि बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाइँको रुपमा थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
अण्डाको मूल्य बढ्यो
चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...
‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य...
भुसालको हुङ्कार : हामी आजको राजनीतिका वास्तविक प्रतिपक्ष हौँ
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले नेपालको लोकतन्त्र क्रमशः ‘गाईजात्रा’ र ‘महामूर्ख सम्मेलन’ मा परिणत हुँदै गएको बताउनुभएको...
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...




