निर्वाचन मुलुकलाई लयमा फर्काउने कडी हो, कुनैपनि हालतमा रोकिँदैनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानद्वारा आयोजित ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उहाँले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनैपनि हालतमा नरोकिने दृढता व्यक्त गर्नुभयो । निर्वाचनको विकल्प निर्वाचन नै भएको उहाँको भनाइ छ । केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेको उहाँको आरोप छ ।
‘निर्वाचनको विकल्प निर्वाचन नै हो ।’ भण्डारीले भन्नुभयो, ‘केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेका छन्, तर नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन् । २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएरै छाड्छ ।’
सञ्चार जगत र आयोगः एउटै सिक्काका दुई पाटा
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आयोग र सञ्चार जगतलाई एउटै सिक्काका दुई पाटाको रूपमा चित्रण गर्नुभयो । आयोगले निर्वाचनको व्यवस्थापकीय पाटो हेर्ने भएपनि निर्वाचनको माहोल सिर्जना गर्ने र मतदातालाई सुसूचित गर्ने मुख्य जिम्मेवारी सञ्चारकर्मीको रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘तपाईंहरूले सिर्जना गरिदिएको माहोल र मलजलका कारण नै आज निर्वाचनको वातावरण यो अवस्थासम्म आइपुगेको हो ।’
मत सर्वेक्षणमा प्रतिवन्ध र आचारसंहिता
भण्डारीले निर्वाचन आचारसंहिता र विशेषगरी ‘मत सर्वेक्षण’ नगर्न आग्रह गर्नुभयो । मतदान हुनुअघि गरिने मत सर्वेक्षणले मतदाताको मनस्थिति परिवर्तन गराई निर्वाचनको स्वच्छतामा असर पार्ने भएकाले यसलाई वर्जित गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
‘संविधानको अधिकारको नाममा निर्वाचनको निष्ठामाथि खेलबाड गर्न पाइँदैन’ उहाँले चेतावनी दिँदै भन्नुभयो, ‘मत सर्वेक्षणले हार्ने उम्मेदवारलाई जित्ने र जित्नेलाई हार्ने देखाएर मतदातामा भ्रम छर्नसक्छ, जुन समुच्च निर्वाचन प्रक्रियाकै लागि घातक हुन्छ ।’
युवा मतदाताको उत्साह र सुशासनको आशा
यस पटकको निर्वाचनमा ९ देखि १० लाख नयाँ मतदाता थपिनुलाई उहाँले सकारात्मक परिवर्तनको रूपमा लिनुपर्ने बताउनु भयो । थपिएका मतदातामा युवाहरूको बाहुल्यता रहेको र उनीहरू सुशासनको खोजीमा निर्वाचन प्रक्रियामा सहभागी हुन उत्सुक रहेको उहाँको विश्लेषण छ । ‘युवाहरूको यो जोस र उत्साहले नेपालमा सुशासन प्रवाह गर्ने मार्ग प्रशस्त गर्नेछ ।’ उहाँले भन्नुभयो ।
पर्यवेक्षकमाथि ‘तेस्रो आँखा’ को निगरानी
निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएका स्वदेशी तथा विदेशी संस्थाहरूले आफ्नो सीमाभित्र रहेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विगतमा केही संस्थाहरूले निश्चित मत चिन्हमा भोट हाल्न प्रचार गरेको तितो अनुभव सुनाउँदै उहाँले सञ्चारकर्मीहरूलाई पर्यवेक्षकका गतिविधिमाथि पनि ‘तेस्रो आँखा’ को रूपमा निगरानी राख्न आग्रह गर्नुभयो ।
मुलुकलाई लयमा फर्काउने कडी
राजनीतिक विद्रोह र प्रतिनिधि सभा विघटनपछिको जटिल परिस्थितिमा हुन लागेको यो निर्वाचनले मुलुकको भड्किएको अनुशासनलाई लयमा ल्याउने भण्डारीले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो शताब्दीकै पेचिलो निर्वाचन भएपनि हामीले यसलाई सरल बनाइसकेका छौँ । निर्वाचनपछि आउने प्रतिनिधिहरूले जनमतको कदर गर्दै मुलुकमा शान्ति र सुशासन कायम गर्नेछन् ।’
उहाँले निर्वाचन सम्पन्न गर्ने ‘पवित्र यज्ञ’ मा सबै सरोकारवाला, राजनीतिक दल, उम्मेदवार र मतदातालाई जिम्मेवार भएर प्रश्तुत हुन र शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सहयोग गर्न अपिल गर्नुभयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...




