कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु भएको कङ्गोका अधिकारीहरूले बताएका छन् । तर सो क्षेत्र नियन्त्रणमा राखेको विद्रोही समूहले मृत्यु सङ्ख्या निकै कम भएको दाबी गर्दै सरकारी विवरणमाथि विवाद जनाएको छ ।
कङ्गोको खानी मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा मङ्गलबार एम २३ विद्रोही समूहको नियन्त्रणमा रहेको रुबाया क्षेत्रको खानी भत्किँदा ठुलो जनधनको क्षति भएको जनाएको छ । खनिजले धनी तर लामो समयदेखि द्वन्द्वग्रस्त रहेको पूर्वी कङ्गोमा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् ।
तर खानी क्षेत्र नियन्त्रणमा राखेको एम२३ विद्रोही समूहका वरिष्ठ अधिकारी फेनी काजले सरकारी विवरण अस्वीकार गर्दै उक्त घटनालाई खानी भत्किने दुर्घटना नभई बम विस्फोट भएको बताउनुभएको छ । उहाँका अनुसार मृत्यु सङ्ख्या पाँच जनाभन्दा बढी नभएको दाबी गरिएको छ ।
“प्रकाशित भइरहेका विवरण सही होइनन् भन्ने कुरा म पुष्टि गर्न सक्छु”, काजले भन्नुभयो, “त्यहाँ कुनै भूस्खलन भएको थिएन, बम विस्फोट भएको थियो र मृत्यु सङ्ख्या मानिसले भनिरहेका जस्तो होइन । करिब पाँच जनाको मृत्यु भएको छ ।” तर घटनास्थलमा काम गर्ने खनिज मजदुर इब्राहिम तालुसेकले भने उद्धार कार्यमा संलग्न हुँदा आफूले २०० भन्दा बढी शव बाहिर निकालेको बताउनुभयो ।
उहाँका अनुसार वास्तविक मृत्यु सङ्ख्या लुकाइने प्रयास भइरहेको हुन सक्छ । “हामी डराएका छौँ, तर मानिसको जीवन खतरामा छ”, तालुसेकले भन्नुभयो, “पिटका मालिकले वास्तविक मृत्यु सङ्ख्या सार्वजनिक गर्न चाहँदैनन् ।” रुबाया क्षेत्र पूर्वी कङ्गोको महत्त्वपूर्ण खनिज क्षेत्रमा पर्छ । यो क्षेत्र दशकौँदेखि सरकारी सेना र विभिन्न सशस्त्र समूहबिचको सङ्घर्षका कारण अस्थिर रहँदै आएको छ । हालै पुनः सक्रिय भएको रुवान्डा समर्थित एम२३ विद्रोही समूहले यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि द्वन्द्व झनै चर्किएको छ ।
कङ्गो विश्वको प्रमुख कोल्टन आपूर्तिकर्ता देश हो । कोल्टन कालो धातुको अयस्क हो जसमा टान्टालम नामक दुर्लभ धातु पाइन्छ । यो धातु स्मार्टफोन, कम्प्युटर तथा विमानका इन्जिन निर्माणमा महत्त्वपूर्ण कच्चा पदार्थका रूपमा प्रयोग गरिन्छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार सन् २०२३ मा विश्वभर उत्पादन भएको कोल्टन मध्ये करिब ४० प्रतिशत कङ्गोबाट आएको थियो । अस्ट्रेलिया, क्यानडा र ब्राजिल पनि यसको ठुला आपूर्तिकर्ता देश हुन् ।
विश्वभर प्रयोग हुने टान्टालमको १५ प्रतिशतभन्दा बढी आपूर्ति रुबायाका खानीबाट हुने बताइएको छ । सन् २०२४ को मे महिनामा एम२३ विद्रोहीले रुबाया सहर कब्जा गरी त्यहाँका खानी नियन्त्रणमा लिएका थिए । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन अनुसार त्यसपछि विद्रोहीले कोल्टनको व्यापार र ढुवानीमा कर लगाउँदै आएका छन्, जसबाट उनीहरूले महिनामा कम्तीमा आठ लाख अमेरिकी डलर आम्दानी गर्ने गरेका छन् ।
पूर्वी कङ्गो लामो समयदेखि द्वन्द्व, हिंसा र अस्थिरताको चपेटामा छ । विभिन्न सशस्त्र समूह र सरकारी सेनाबिचको सङ्घर्षका कारण विश्वकै ठुलो मानवीय सङ्कटमध्ये एक उत्पन्न भएको छ । हालसम्म ७० लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्, जसमध्ये डिसेम्बर यता मात्र ३,००,००० भन्दा बढीले घर छोड्न बाध्य भएका छन् ।
गत जुनमा कङ्गो र रुवान्डा सरकारले संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । विद्रोही समूह र कङ्गो सरकारबिच वार्ता जारी रहे पनि पूर्वी कङ्गोका विभिन्न क्षेत्रमा अझै पनि लडाइँ जारी छ र यसबाट नागरिक तथा सैनिक दुवैतर्फ ठुलो क्षति भइरहेको छ । कङ्गो र रुवान्डाबिच भएको सम्झौताले अमेरिकी सरकार र अमेरिकी कम्पनीलाई महत्त्वपूर्ण खनिजमा पहुँच बढाउने बाटो पनि खोलेको छ । गत महिना पनि यस्तै प्रकारको खानी दुर्घटनामा २०० भन्दा बढी मानिसको ज्यान गएको थियो । राससरएपी
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




