Breaking News

निर्वाचन शान्तिपूर्ण तर आचारसंहिता कार्यान्वयन र चुनावी खर्चमा व्यापक कमजोरी रहेको एन्फरेलको निष्कर्ष

एशियाली स्वतन्त्र निर्वाचन सञ्जाल (एन्फरेल) ले नेपालको प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण र व्यवस्थित भएको निष्कर्ष निकालेको छ।

एन्फरेलले आईतवार पत्रकार सम्मेलन गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित भएको निष्कर्ष निकालेको हो । राजनीतिक अस्थिरताका बाबजुद जनताको उत्साहजनक सहभागिता देखिए पनि संस्थाले निर्वाचन आचारसंहिताको फितलो कार्यान्वयन, चुनावी खर्चको अपारदर्शिता र समावेशी सहभागितामा रहेका संरचनागत बाधाहरूप्रति भने चिन्ता व्यक्त गरेको छ । गत भदौ २३ र २४ को राजनीतिक उथलपुथलपछि ध्रुवीकृत र सङ्क्रमणकालीन वातावरणमा यो निर्वाचन सम्पन्न भएको थियो ।

एन्फरेलले खटाएको अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण नियोगको प्रारम्भिक प्रतिवेदनअनुसार छोटो समय र अपूर्ण पदाधिकारीका बाबजुद नेपालको निर्वाचन आयोगले गरेको प्राविधिक तयारी सन्तोषजनक रहेको छ । निर्वाचन आयोगप्रति सरोकारवालाहरूको विश्वास उच्च देखिए पनि, विशेषगरी दुर्गम क्षेत्रहरूमा मतदाता शिक्षा र निर्वाचनसम्बन्धी सूचनाको पहुँचमा भने कमी रहेको औंल्याइएको छ ।

चुनावी अभियानका क्रममा आचारसंहिताको कार्यान्वयन प्रमुख चिन्ताको विषय बनेको प्रतिवेदनमा उल्लेख छ । अनुगमन संयन्त्र भएपनि कारबाही प्रक्रिया अत्यन्तै कमजोर र असंगत देखिएको एन्फरेलको निष्कर्ष छ । आचारसंहिता उल्लंघन र चुनावी खर्चका विषयमा बारम्बार उजुरी पर्दासमेत कारबाही नहुँदा राजनीतिक दल र उम्मेदवारहरूमा जवाफदेहिताको कमी देखिएको औंल्याइएको छ ।

चुनावी खर्चको नियमनमा गम्भीर संरचनागत कमजोरी देखिएको पनि बताइएको छ । कानूनले खर्चको सीमा तोकेको भएपनि वास्तविक खर्च तोकिएको सीमाभन्दा निकै बढी हुने गरेको उनीहरको भनाइ छ । चुनावी खर्चको विवरणमा सर्वसाधारणको पहुँच नहुँदा पारदर्शिता र सार्वजनिक निगरानीमा कमी आएको छ । यस्तो परिपाटीले धनी उम्मेदवारहरूलाई फाइदा पुगेको र यसले महिला तथा सीमान्तकृत समुदायका उम्मेदवारहरूलाई चुनावी प्रतिस्पर्धामा संरचनागत अवरोध खडा गरेको प्रतिवेदनको ठहर छ ।

सुरक्षा व्यवस्थाको सन्दर्भमा, मतदान केन्द्रहरूमा खटिएका सुरक्षाकर्मीहरूले शान्तिपूर्ण वातावरण कायम राख्न महत्वपूर्ण भूमिका खेलेका थिए । सुरक्षाकर्मीको बाक्लो उपस्थिति आवश्यक रहेको सरोकारवालाहरूले महशुस गरेका भएपनि मतदान केन्द्रभित्रै हतियारधारी सुरक्षाकर्मीको उपस्थितिलाई भने पर्यवेक्षकहरूले विशेष चासोका साथ लिएका छन् ।

युवा सहभागिता उत्साहजनक तर समावेशीता र पहुँचमा अझै चुनौती

महिला तथा सीमान्तकृत समुदायको न्युन प्रतिनिधित्व, दलभित्रको एकाधिकार र संरचनात्मक पहुँचको अभावलाई मुख्य चुनौतीका रूपमा औंल्याइएको छ । निर्वाचनमा युवाहरूको उत्साहजनक उपस्थिति देखिए पनि उम्मेदवारी चयनमा दलहरूले नै अवरोध खडा गरेको तथा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । प्रत्यक्षतर्फको निर्वाचन प्रणालीमा महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व अझै पनि अत्यन्त न्युन छ । संविधानले समावेशीताको सुनिश्चितता गरे पनि व्यवहारमा त्यसो हुन नसकेको एन्फ्रेलको ठहर छ ।

यस्तै, निर्वाचन अघिको नागरिक आन्दोलन र निर्वाचनको समयमा युवाहरूको बाक्लो उपस्थिति देखिए पनि परम्परागत राजनीतिक दलहरूको संकीर्णताका कारण युवाहरूलाई उम्मेदवार बन्न र औपचारिक राजनीतिक प्रतिष्पर्धामा आउन कठिन भएको उल्लेख गरिएको छ ।

अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई सास्ती मतदान केन्द्रहरूको भौतिक संरचना र पहुँच अर्को प्रमुख समस्याको रूपमा देखिएको छ । विशेषगरी पहाडी र भिरालो स्थानमा रहेका विद्यालय वा सार्वजनिक भवनहरूमा मतदान केन्द्र राखिँदा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र शारीरिक अशक्तता भएका मतदाताले सास्ती खेप्नुपरेको छ ।

यद्यपि मतदान कर्मचारी र सुरक्षाकर्मीले सहयोग गरे पनि संरचनात्मक पहुँच भने असमान रहेको प्रतिवेदनमा भनिएको छ । अहिले युवा पुस्ताले खोजेको जवाफदेहिता, संस्थागत सुधार र राजनीतिक नविकरणको मागलाई सम्बोधन गर्ने प्रमुख जिम्मेवारी अब पुराना र नयाँ दुवै राजनीतिक दलहरूको काँधमा आएको छ। लोकतान्त्रिक मूल्यमान्यताको सम्मान र अर्थपूर्ण सुधारप्रतिको प्रतिवद्धताले मात्र नेपालको लोकतान्त्रिक प्रणालीप्रति जनविश्वास सुदृढ गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ ।

एशियाली स्वतन्त्र निर्वाचन सञ्जाल (एन्फरेल) सन् १९९७ मा स्थापना भएको थियो । यसले एशियामा निर्वाचन अवलोकन, क्षमता विकास र प्रवद्र्धनमार्फत लोकतान्त्रिक निर्वाचन प्रवद्र्धन गर्ने गरेको छ । यसका १८ देशमा २८ सय बढी सदस्य संस्था रहेका छन् । नेपालमा भने एन्फरेलले २०१७ को आम निर्वाचन र २०२२ को संघीय तथा प्रदेश निर्वाचनको अवलोकन गरेको थियो ।

सम्बन्धित समाचार

‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’

‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...

नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल

नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति...

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने...

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...