अन्तर्राष्ट्रिय

अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध

इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत ढुवानी भइरहेको रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको अमेरिको अखबार द वासिङ्टन पोस्टले जनाएको छ।

यसअघि अमेरिकाले रूसबाट तेल किन्ने देशलाई उच्च भन्सार दर लगाउँदै आएको थियो। फेब्रुअरीको अन्तिमयता इरानमाथि अमेरिका र इसराइलले संयुक्त रूपमा आक्रमण गर्दै आएको छ। जबाफमा इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडा र अन्तर्राष्ट्रिय जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’मा तेल बोकेका ट्यांकरहरूलाई लक्ष्य गरेर आक्रमण गरिरहेको छ।

यसले विश्व बजारमै तेलको आपूर्ति घटेर लगातार मूल्य बढिरहेको छ। मूल्यवृद्धि नियन्त्रणका लागि समुद्रमै रहेका तेलमाथिको प्रतिबन्ध मात्रै हटाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ। प्रतिबन्ध हटाइएपछि अन्तर्राष्ट्रिय जलमार्गमा रहेका तेल ट्यांकरहरू रूसले विश्वका विभिन्न देशमा पठाउन सक्नेछ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यो छुट अस्थायी मात्रै रहेको र अप्रिल ११ सम्म मात्रै लागु हुने बताएका छन्। यसबाट विश्व बजारमा करोडौं ब्यारेल कच्चा तेल थपिने र इरान युद्धपश्चात प्रतिब्यारेल १०० डलरसम्म पुगेको कच्चा तेलको मूल्य घटाउन सहयोग पुग्ने उनले बताएका छन्।  सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले रूसी अर्थतन्त्रमा दबाब सिर्जना गरी युद्धमा कमजोर पार्नका लागि रूसी तेलमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्ध छल्नका लागि रूसले अस्पष्ट पहिचान भएका तेल ट्यांकहरू प्रयोग गर्दै आइरहेको छ। रूसी तेल किनेर उसलाई युक्रेनविरूद्ध आक्रमणमा सघाएको भनेर अमेरिकाले भारत लगायतका अरू देशहरूमाथि भन्सार दर लगाएपछि ती देशहरूले रूसी तेल किन्न छाडेका थिए। इरानमा युद्धपछि भने अमेरिकाले भारतलाई रूसी तेल किन्न अनुमति दिइसकेको छ। अहिले प्रतिबन्ध खुकुलो पारिएको नयाँ तेलका लागि नभई समुद्रमा ढुवानी भइरहेका तेलका लागि मात्रै रहेको पनि अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री बेसेन्टले यो कदमबाट रूसलाई ठूलो आर्थिक लाभ नहुने पनि दाबी गरेका छन्। तर अमेरिकी सिनेटका शीर्ष डेमोक्र्याट नेताहरूले भने यो निर्णयको आलोचना गरेका छन्।उनीहरूले इरान युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्य अत्यधिक बढेको र त्यसको दबाब कम गर्न ट्रम्प प्रशासनले रुसमाथिको प्रतिबन्ध कमजोर बनाएको आरोप लगाएका छन्।

ऊर्जा बजारसम्बन्धी तथ्यांक सङ्कलन गर्ने कम्पनी केप्लरका अनुसार हाल करिब १३ करोड ब्यारेल रूसी तेल अन्तर्राष्ट्रिय जलमार्गमा छ। विशेषज्ञहरूले भने यस्तो छुटले वास्तवमै तेलको मूल्य घट्ने भन्दा पनि रुसमाथिको तेल प्रतिबन्ध प्रभावहीन बन्न सक्ने चेतावनी दिएका छन्। साथै यस निर्णयले अमेरिका र युरोपबीचको मतभेद अझ बढ्न सक्ने विश्लेषण पनि गरिएको छ।

सम्बन्धित समाचार

म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी

म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा २ लाख ५५ हजारभन्दा बढी विद्यार्थी सहभागी

आधिकारिक टेलिभिजन च्यानल एमआरटीभीका अनुसार २०२६ को परीक्षाको पहिलो दिन बुधवार म्यानमारको राष्ट्रव्यापी म्याट्रिक परीक्षामा कुल २ लाख ५५...

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...

दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै

दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै

दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले टर्मिनल हाई एल्टिच्युड एरिया डिफेन्स (थाड) ब्याट्रीका इन्टरसेप्टर क्षेप्यास्त्रहरू मध्यपूर्वमा सार्ने तयारी गरिरहेको एक...

मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल

मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधवार मध्यपूर्व र सोभन्दा बाहिरका सबै पक्षहरूलाई आफ्ना सैन्य गतिविधिहरू तुरुन्त रोक्न, थप तनाव नबढाउन...