प्रमुख खवर

श्रमिकको गुनासो– महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन

–सुशीला रेग्मी रामपर/
पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन । उनले आइतबार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिएका छन् ।

दश वर्षको उमेरदेखि सडक, भवन तथा पुल, पुलेसा, सामान ओसारपसारजस्ता विभिन्न क्षेत्रमा मजदुरी गर्दै आएका छन् । यसरी नै उनले करिब तीन दशक बिताए। श्रमिक दिवसको दिन पनि उनले आराम गर्ने समय पाएका छैनन् । उनले भने “श्रमिक दिवस भनेको के हो हामीलाई त काम नै ठूलो छ, काम गरिएन भने घरमा चुल्हो बल्दैन, अहिलेसम्म श्रमिक दिवसको दिन ठेकेदार, साहुले बिदा दिएको पनि पत्तो छैन, आफ्नै काममा दैनिकी बितिरहेको छ ।” उनले मजदुरी गरेवापत दैनिक रु ६०० ज्याला बुझ्छन् । त्यसैबाट चार छोराछोरी र श्रीमतीको पालनपोषण गर्नुपर्ने बाध्यता छ ।

सोही ठाउँकै २५ वर्षीय राजु माझी मजदुरीमै व्यस्त हुनुहुन्छ । बिहानदेखि साँझसम्म सडक कालोपत्र गर्ने काममा खट्छन्। आइतबार परेको मजदुर दिवसबारे आफू पनि बेखबर रहेको उनले बताए । “श्रम नगरी खान पुग्दैन, अर्काले कमाएर देला भन्ने आश छैन, घरमा छोराछोरी, श्रीमती पाल्नै प¥यो, आफ्नो दुःख आफैसँग छ, हामीलाई दैनिक काम गर्ने अवसर पाए भयो, भरसक आफ्नै गाउँ–ठाउँमा काम पाएमा परिवारका साथ बस्न पाइन्थ्यो”, उनले भने ।

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटका ३० वर्षीय टीकाराम पुनलाई घरको गारो लगाउन भ्याइनभ्याई छ । मे १ तारिख अर्थात् आज मनाइने श्रमिक दिवसबारे उहाँलाई जानकारी भए पनि यस दिवसले आफूहरूको जीवनस्तरमा कुनै फरक ल्याउन नसकेको
उनले बताए । यसैले आज पनि काममै ब्यस्त हुन्छन्। उनी। यस अनौपचारिक क्षेत्रमा गएको पाँच वर्षदेखि श्रम गर्दै आएका छन् । उनको दैनिक ज्याला रु ७५० छ ।

उनी भन्छन् “एक दिन काम छाडियो भने रु ७५० गुम्छ, ठेकेदारले घण्टा गन्ती गरेरमात्रै ज्याला दिन्छन्, श्रमिक दिवस भनेर कहिल्यै छुट दिँदैनन्, एक दिन रमाएर के गर्नु, पेट पाल्नै प¥यो ।” श्रमिक दिवस मनाइरहँदा समयानुसार श्रमिकको पारिश्रमिक वृद्धि, गाउँघरमा नै रोजगारी, विदेशिएकालाई स्वदेशमै बस्ने वातावरण मिलाइदिन सरकारसँग उनको अनुरोध छ ।

रामपुर नगरपालिका–७ बहखोलाका बस्ने ४२ वर्षीय नेत्रबहादुर रानाले छ वर्षदेखि मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । दैनिक आठ घण्टा खटेर काम गरेवापत रु ७५० ज्याला पाउँछन्। रामपुर क्षेत्रमा हाल छवटा घर बनाउने जिम्मेवारी लिएका रानालाई कामको व्यस्तताले श्रमिक दिवस मनाउने फुर्सद नै छैन ।

सरकारले श्रमिक मजदुरको हकहितका लागि काम गर्छौँ भने पनि अहिलेसम्म उपलब्धि केही नदेखिएकामा उनि गुनासो गर्छन् । चुनाव आएसँगै नेता, कार्यकर्ताले उनलाई धेरै आश्वासन पनि देखाए । तर निर्वाचन सकिएपछि भने नेता दैलोमा फर्केर नआउने प्रवृत्ति रहेकाले मजदुरका समस्या सम्बन्धित निकायमा पुग्न नसकेको उनी बताउछन् । “हामीजस्ता तल्ला स्तरका श्रम गरेर जीवन धान्नेका लागि नेताले गर्ने केही होइन, सधैँ झुट्टा आश्वासनमात्रै दिन्छन्, हाम्रो माग भनेको बजारमा हरेक सामानको महङ्गी बढिरहेको छ, सोअनुसार पारिश्रमिक वृद्धि हुनुप¥यो, निरन्तर काम पाए भयो”, उनले भने ।

निस्दी गाउँपालिका–४ मित्यालका १७ वर्षीय खुमबहादुर खाम्चा आइतबार घरको गारो लगाउने, सिमेन्ट बोक्ने काममा व्यस्त देखिनुहुन्छ । मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा उनले भने दिनभर काम गरेको ज्यालाले घरमा बिहान–साँझ खाद्यान्नको जोहो पुग्छ भन्नेतिर मात्रै ध्यान छ ।

पारिवारिक अवस्था नाजुक हुँदा कक्षा ६ मा अध्ययन गरिरहेका उनी बीचमै छाडेर विभिन्न ठाउँमा घर भवन, पुल पुलेसा, सडक निर्माणलगायतका क्षेत्रमा दैनिक मजदुरी गरी बुझेको ज्यालाबाट घर धान्नुपर्ने बाध्यता छ । सरकारले श्रमिक मजदुरको हकहितका लागि उपलब्धिमूलक काम गर्न नसक्दा यसरी अनौपचारिक क्षेत्रमा काम गर्ने प्रायः सबै मजदुर असन्तुष्ट छन् । राज्यले तोकेको न्यूनतम पारिश्रमिक पनि पाउन नसकेको श्रमिकहरूको गुनासो छ । उनीहरूको गुनासो छ– उहिलेको ज्याला अहिले छ, तर महङ्गीको हिसाब गर्ने हो भने दैनिक ज्यालाले खानलाउनै पुग्दैन ।

आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनलाई उत्सवका रूपमा मनाइने पर्व हो आज । विश्वका कैयौँ देशमा सार्वजनिक बिदा नै दिएर मजदुर दिवस मनाइन्छ । तर खास मजदुरी गर्ने वर्ग भने यो दिवसबाट नेपालमै पनि बेखबर रहने गर्दछ ।

देशमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू भने श्रममै रहन्छन् र बेखबर हुने गर्दछन् । यहाँका लाखौँ श्रमिक अनौपचारिक क्षेत्रमा कार्यरत छन् । त्यसैले यो वर्गका श्रमिकले आजका दिनको बिदा या सुविधा पाउँदैनन् । यसरी जसको अधिकारका लागि सरकारले सार्वजनिक बिदा नै दिएर पर्वको आयोजना गर्छन् ती श्रमिक आज पनि श्रममै रहन्छन् ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...