आइतवार, पुस ७, २०८१
English
Follow us:

दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा-बढुवा : प्रहरी महानिरीक्षक

दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा-बढुवा : प्रहरी महानिरीक्षक

  • खबर सेवा

  • बिहिबार, जेष्ठ १९, २०७९

  • 2
    SHARES

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजनीतिक दबावले भन्दा पनि उत्कृष्टताका आधारमा प्रहरी कर्मचारीको सरुवा-बढुवा हुने बताएका छन् ।

प्रहरी महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले उत्कृष्ट र कार्य दक्षता हेरेर नै सरुवा-बढुवा हुने स्पष्ट पारे ।

अन्य कारणबाट गरिएको बढुवाले संगठनको श्रीवृद्धिमा सहयोग नगर्ने पनि उनको धारणा थियो । मिडियामा आएका कतिपय कुरामा सत्यता बुझ्न पनि उनले पत्रकारलाई आग्रह गरे ।

उनले संगठन प्रमुख फेरिँदैमा प्राथमिकता नफेरिने बरु त्यसलाई सफलरुपमा कार्यान्वयन गर्नु महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै आफूले अहिले विगतका योजना कार्यान्वयनमा ध्यान दिएको बताए ।

प्रहरी महानिरीक्षक सिंहले संगठनको निष्पक्षतामा कुनै सम्झौता नहुने र प्रहरीको नियमभन्दा बाहिर जाने कारवाहीको भागिदार हुने पनि बताए ।

प्रहरी कार्यालयमा जाहेरी लिन आनाकानी गरेका सन्दर्भमा उठेको जिज्ञासामा उनले अपराध संहितामा प्रहरीले जाहेरी लिनुपर्ने कुरा स्पष्ट उल्लेख भएकाले कुनै प्रहरी कार्यालयले जाहेरी नलिएमा त्योभन्दा माथिल्लो कार्यालय वा प्रशासन कार्यालयमा जाहेरी दिन सकिने पनि बताए ।

उनले संगठित अपराधमा तथा अन्य घटनामा वस्तुनिष्ठ अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन प्रहरी कटिबद्ध रहेको पनि बताए ।

निर्मला पन्त प्रकरणको अनुसन्धानसमेत आफ्नो प्राथमिकतामा रहेको प्रहरी महानिरीक्षकको भनाइ छ । विसं २०५१ पछि पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएकामा उनले सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology