परीक्षण भएका ८४ नमूनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलिफर्म’
बलेवा । बागलुङ जिल्लाका अधिकांश खानेपानीका मुहानमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’ फेला परेको हो ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गरिरहेको खानेपानीको मुहानदेखि जिल्लाका अधिकांश मुहानमा ‘कोलिफर्म’ भेटिएको कार्यालयले जनाएको छ ।
नगरमा वितरित पानीका धारामा भने ‘कोलिफर्म’को मात्रा शून्य छ । ट्याङ्कीमा पानीको उपचारका लागि क्लोरिन पाउडरको प्रयोग हुने भएकाले धारामा ‘कोलिफर्म’ नदेखिएको स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले बताए ।
बागलुङ नगरपालिकाका १७ मुहानको पानी परीक्षण गर्दा १० वटा मुहानमा ‘कोलिफर्म’ देखिएको छ । जैमिनी नगरपालिकाका १० मुहानमध्ये सात, गलकोट नगरपालिकाका १२ मध्ये तीन, ढोरपाटन नगरपालिकाका सातमध्ये दुई, तमानखोला गाउँपालिकाका १६ मध्ये सात र बडिगाड गाउँपालिकाका नौमध्ये तीनवटा पानीको मुहानमै ‘कोलिफर्म’ भेटिएको हो ।
त्यस्तै निसीखोला गाउँपालिकाका आठमध्ये चार, तमानखोला गाउँपालिकाका ११ मध्ये चार र बरेङ गाउँपालिकाका १२ मध्ये चारवटा मुहानमा ‘कोलिफर्म’ भेटिएको आचार्यले बताए । स्वास्थ्य कार्यालयले स्थानीय तहको अनुरोधमा प्रतिनिधिमूलक हिसाबमा पानीका मुहानहरु परीक्षण गरेको थियो । “मुहानमा मात्रै होइन पाइपलाइन, ट्याङ्की र धारामा समेत ‘कोलिफर्म’को मिसावट पुग्न सक्छ,” आचार्यले भने, “कैयौँ ठाउँमा मुहानमा सफा रहेको पानी धारामा पुग्दा ‘कोलिफर्म’को मात्रा भएको भेटिन्छन् ।” उपभोक्ताको धारासम्म पुग्ने पाइपलाइन बीचमा टुटेफुटेर मिसावट हुने ठाउँ भएमा मुहान तथा ट्याङ्कीमा नभेटिएको ‘कोलिफर्म’ धारामा भेटिने जोखिम हुन्छ । खुल्लाचौरभन्दा तल्लो भागमा रहेका मुहान, मानव बस्तीको नजिकै रहेका मुहान र खोलामा बगेको पानीलाई एकीकृत गरेर ल्याइएका मुहानमा ‘कोलिफर्म’को मात्रा बढी देखिने गरेको छ ।
मानव दिशामा हुने ‘कोलिफर्म’युक्त पानी पिउँदा हैजा, झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, हेपाटाइटिस रोगहरुको संक्रमण हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । ‘कोलिफर्म’ देखिएका मुहानको पानी उपभोग गर्ने उपभोक्तालाई सरसफाइ गर्न, पानी शुद्धीकरण गरेर र पानी उमालेर मात्रै पिउन आग्रह गर्ने गरिएको छ । ‘कोलिफर्म’को मात्रा देखिएका ठाउँहरुको पानीलाई तत्काल शुद्धीकरणका उपाय नअपनाए जुनसुकै बेला महामारी फैलिन सक्ने उनले बताए ।
स्वास्थ्य कार्यालय : जसले काम सक्न मसान्त कुरेन
बागलुङमा रहेको स्वास्थ्य कार्यालयमा असार मसान्तको चाप निख्रिएको छ । जिल्लामा नै पहिलो पटक कार्यालयले चालु आर्थिक वर्षमा विनियोजित कार्यक्रम समयमै सकेर फुर्सदिलो बनेको छ । कार्यालयले असार २१ गतेपछि कुनै पनि भुक्तानीका काम नगर्ने जनाएको छ । “हामीले आफ्नो काम निरन्तर गरिरहेका थियौँ र समयमै सक्यौँ, अब किन असार मसान्त कुर्नु,” कार्यालय प्रमुख सुरज गुरौले भने, “हामीले गरेका कामका विषयमा जानकारी गराएका छौँ, अब कुनै पनि कार्यक्रमको भुक्तानी गर्दैनौँ ।”
कार्यालयले आगामी आर्थिक बर्षको नियमित कामको थालनी गर्ने छ । वर्षभरिका काम कारबाही समयमै सकेर पत्रकार सम्मेलनमार्फत जानकारी गराउने स्वास्थ्य कार्यालय पहिलो हो । कोभिड–१९ विरुद्धको खोप, टाइफाइड बिरुद्धको खोप, नियमित खोप, हात्तीपाइले विरुद्धको खोप अभियान र अन्य कार्यालयले सम्पादन गर्ने नियमित तथा आकस्मिक तालिम र रोगहरुको खोजपड्ताल तथा नियन्त्रणका काम भएका गुरौले बताए । यो वर्ष कार्यालय परिसरमा खोपहरुको सुरक्षणका लागि कोल्ड रुम स्थापना गरेको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा कार्यालयले प्रदेश सरकारबाट प्राप्त हुने चालुतर्फको रु दुई करोड ९९ लाख ६५ हजारमध्ये दुई करोड १५ लाख ५२ हजार खर्चेको छ । चालुतर्फ ९६ प्रतिशत भौतिक प्रगति गरेको कार्यालयले वित्तीय प्रगति भने ७२ प्रतिशत भएको जनाएको छ । त्यस्तै प्रदेशको पूँजीगततर्फ नौ लाख ५० हजारमध्ये रु नौ लाख ३५ हजार खर्चेको छ । संघीय सरकारबाट प्राप्त भएको चालु खर्च चार करोड ८२ लाख ८१ हजारमध्ये तीन करोड एक लाख खर्च भएको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
-
३.
दुई सातादेखि बेपत्ता थिङको शव फेला
-
४.
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
-
५.
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
-
६.
ओली-लेखकलाई अनुसन्धान गर्न १० दिनको समय माग
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




