प्रमुख खवर

साउनको पहिलो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजन

काठमाडौं । पशुपति क्षेत्रमा भजन र शिव महिमाका श्लोक घन्किएका छन् । रातो र हरियो पहिरनमा सजिएका महिलाको पशुपति क्षेत्रमा भीड लागेको छ ।

बाँसबारीबाट साउने सोमबार पारेर पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएकी सुशीला गिरी लामो लाइनका कारण बाहिरबाटै दर्शन गरेर फर्कनुपरेको बताउछिन् । विसं २०७७ /२०७८ का साउन महिनामा कोरोना महामारीका कारण मन्दिर बन्द गरिएकाले यस वर्ष धेरै भक्तजन दर्शनका लागि आएका छन् ।

साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपति क्षेत्र विकास कोषले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । आज दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्ने गरी व्यवस्था मिलाइएको छ ।

आज विशेष पूजाका लागि १६० भक्तजनले रसिद काटेका छन् । साउन महिनामा रु सात हजार ५०० भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ । कोषले साउन १ गतेदेखि विशेष पूजाको शुल्क रु एक हजार १०० बाट बढाएर रु दुई हजार १०० पुर्‍याएको छ ।

साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पुरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

भक्तजनलाई निःशुल्क भोजन

पशुपति क्षेत्रमा आउने भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ । मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाल असार ३२ गते शनिबारदेखि एक महीना पशुपति क्षेत्रमा पशुपतिनाथको प्रसादका रुपमा निःशुल्क भोजनको व्यवस्था गरिएको बताए । यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ ।
यसअघि मगन्तेरहित घोषणा गरिएको पशुपति क्षेत्रमा साउने सोमबारका अवसरमा धेरै मानिस माग्न बसेको देखियो । महाशाखा प्रमुख पराजुली भने कोरोना महामारीपछि मानवीयताका नाताले मगन्ते हटाउन बल प्रयोग नगरिएको बताउछन् ।

साउन महीनाका अवसरमा पशुपति क्षेत्रमा अतिरुद्राभिषेक कार्यक्रम पनि आयोजना गरिएको छ । महायोग सिद्ध परिवारले आयोजना गरेको महायज्ञ आज सुरु भई साउन १० गते सम्पन्न हुने जनाइएको छ । अति रुद्राभिषेकमा १२१ ब्राह्मण पण्डितले रुद्राभिषेक गर्ने आयोजक समितिले जनाएको छ ।

राजधानीका अन्य शिवालयमा पनि भक्तजनको भीड
राजधानीका अन्य शिवालयमा पनि रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छ । विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाई पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउँछन् ।

घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजा आजा गर्छन् । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन २, ९, १६, २३ र ३० गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यता समेत छ । विशेष कामना सहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्र सहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।

गोकर्णेश्वर मन्दिरमा भक्तजनको लर्को

यसैगरी राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारका अवसरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना गर्ने प्राचीन कालेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यता समेत छ । यही मान्यताका आधारमा पशुपतिनाथ मन्दिर दर्शन गरेको अधिकांश भक्तजन गोकर्णेश्वरमा आउन थालेका छन् । मन्दिर दर्शनका लागि आउने भक्तजनका लागि आवश्यक व्यवस्था मिलाइएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं। ४ का अध्यक्ष जयराम महतले बताए ।

सुन्दरीजल-पशुपतिनाथ बोल बम यात्रा

वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि सोमबार बिहानैदेखि भीड लागेको छ । कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुली सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाउन चाहने भक्तजनका लागि एउटा ढोकाको व्यवस्था गरिएको बताउछन् । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा आएर चढाउने परम्परा छ ।

यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवर सहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिर लगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउने परम्परा कोरोनाका कारण दुई वर्ष विसं २०७७ र २०७८ मा प्रभावित भएको थियो । कोरोनाको प्रभाव कम भएसँगै यसले फेरि निरन्तरता पाएको छ ।

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दुध लगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महीनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परा समेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नहुने, सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यता समेत छ ।

नागेश्वरमा बढे भक्तजन

यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी विभिन्न व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिए ।
मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लाग्ने गरेको छ । साउन महीनाको सोमबार पारेर मन्दिरमा दर्शन गरेमा मनोकांक्षा पूरा हुने, मुद्दामामिलाको झन्झटबाट मुक्ति पाइने र कालसर्प योगको दोष जन्मकुण्डीमा भए त्यसबाट समेत राहत मिल्ने धार्मिक विश्वास छ । राजधानीका वसन्तपुरस्थित सानो पशुपतिनाथ, साँगा भञ्ज्याङको शिव मन्दिरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...