प्रमुख खवर

धरान नगरप्रमुख साम्पाङको श्रमदान अभियान

देवेन्द्र कार्की,धरान । सामाजिक अभियन्ताको चर्चा पाएर एका एक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिएका छन् । धरानमा भएको खानेपानी समस्या हल गर्न विभिन्न साना खोलाको पानी संकलन गर्न उनले अभियान नै सुरु गरेका छन् । उनको अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन् ।

धरानको नेतृत्वमा नआउँदासम्म उनी हप्ताको सातै दिन जनताको कामका लागि सडकमा देखिन्थे । त्यसबेला उनले गरेको काम र अभियानको चर्चा खासै थिएन । कतिपय उनले चलाएको अभियानमा असफल पनि भए । तर उनी असफलता नै सफलताको कडी हो भन्ने बुझेर उनले आफ्नो अभियान निरन्तर जारी राखे ।

दक्षिण एसियाको उत्कृष्ट अस्पताल तथा शिक्षण संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको बेथिति र जनताले स्वास्थ्य उपचार सेवामा भोग्नुपरेको समस्या समाधानका लागि उनले अभियान चलाए । खानेपानी समस्याका विषयमा उनको अझ बढी चासो र चिन्ता थियो । खानेपानी बोर्डका कार्यकारी निर्देशक, तत्कालीन नगर प्रमुख तिलक राई, धरान उपमहानगरपालिकाका अधिकृत खगेन्द्रप्रसाद खतिवडालाई उनले टेलिफोनमा थर्काएका भिडियो जनताले प्रत्यक्ष हेर्न पाएका थिए । जनताका लागि पदमा बसेका व्यक्तिलाई गरेको खबरदारीले धराने जनताबाट पाएको गहिरो सहानुभूतिले उनलाई प्रमुख भएर त्यही समस्या समाधान गर्ने स्थानमा पुर्‍यायो ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा करिब पाँच हजार मतान्तरले धरान उपमहानगरपालिकाको प्रमुखमा सानदार जीत निकाल्न सके । धरानको कुल मतदाता एक लाख ३२४ जना रहेकामा ६२ हजारले मतदान गरेका थिए । त्यसमध्ये २० हजार ८२१ मतदाताले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई पन्छाएर स्वतन्त्र उम्मेद्वार साम्पाङलाई मत दिएका थिए । आर्थिक अवस्था त्यति राम्रो नभएका उनलाई चुनाव खर्च पनि उनकै समर्थकहरुले जुटाइदिएका थिए ।

नेतृत्वमा पुगेपछि जनतासँग गरेको वाचा मात्र बिर्सने कतिपय नेताहरुका लागि उनी प्रमुखमा जित्दै गर्दा यस विषयमा निकै सचेत देखिए । उनी प्रमुखको कुर्सीमा बसेपछि पनि धराने जनताको साथ लिएर सडकमै उत्रिएका छन् । जनता पनि उनको साथ छाडेका छैनन् र उनका समर्थक, शुभचिन्तक अझ बढेको बताउछन् अभियानका सहयोगी हरि श्रेष्ठ । तीन लाख जनसङ्ख्या बस्ने धरानमा विगतका जनप्रतिनिधिले खानेपानीको विषयमा कसैले ध्यान नदिएको लिएको ऋणको पनि सदुपयोग नभए पनि जनताले स्वतन्त्र उम्मेदवारलाई रोजेको उनको भनाइ छ ।

उनले आफ्नो सम्पूर्ण समय पदीय जिम्मेवारीमै लगाएका छन् । साताको दुई दिन शुक्रबार र शनिबार समर्थक र शुभचिन्तकका साथमा कार्यस्थलमै जानुहुन्छ भने बाँकी दिन उपहानगरको दैनिक र प्रशासनिक कामका लागि दिए । उनले निर्वाचनमा प्रतिबद्धता जनाएको काम निर्वाचित भएर पदभार ग्रहण गरेकै दिनदेखि कार्यान्वयनका लागि लागे ।

धरानको प्रमुख समस्याका रुपमा रहेको खानेपानी समस्या समाधान गर्न पानी व्यवस्थापनका लागि उनले यतिबेला आफ्नो बढी समय खर्चिएको स्थानीयवासी बताउँछन् । उनले दैनिक गर्ने हरेक कामको जनतालाई आफ्नो फेसबुक पेजबाट जानकारी गराउँदै आएका छन् । आफूले जिताएको जनप्रतिनिधिले के गर्दैछ भन्ने जानकारी फेसबुक पेजबाट जनताले थाहा पाउँदा मतदाता पनि खुसी लागेको धरान १५ का विष्णु लिम्बू बताउँछन् । उनी भन्छन्, “त्यही सूचनाका आधारमा जनता आफ्ना जनप्रतिनिधिको काममा सहयोग गर्न जाने गरेका छौँ ।”

नगर प्रमुख भएर आउनेबित्तिकै उनले उनले खानेपानी स्रोत व्यवस्थापनका लागि प्राविधिक टोलीसहित स्थलगत अध्ययन गरे । धरानका साना खोला र सप्तकोसीबाट पानी ल्याउन अध्ययनका लागि जाने । उनले धरानको वडा नं २० मा पर्ने पकुवा खोलामा खेर गइरहेको पानी व्यवस्थापन गर्न पहिलो अभियान चलाए । फेसबुकबाट श्रमदानको आह्वान र पाइप सहयोगका लागि गरेको आह्वानले देश विदेशमा रहेका धराने जनताले सहयोग गरे । धरानमा हुनेले श्रमदान र विदेशमा हुनेले आर्थिक सहयोग गरे ।

शनिबार, शुक्रबार र अन्य सार्वजनिक बिदाका दिन प्रमुख आफैँ पुगेर श्रमदान गरे । अन्य दिन धराने जनताले श्रमदान गरेर तीन हप्ताको मेहनतमा पहाड छेडर पकुवाको पानी पाइपमार्फत सर्दुखोला हुँदै धरान–११ स्थित पानेपानीको ट्याङ्कीसम्म जोडिएको छ । सरकारी बजेट हुने हो भने यो करिब रु ६०÷७० लाखको योजना हुने प्राविधिकले बताएका छन् ।

पकुवा खोलाको पानी खानेपानीको ट्याङ्कीसम्म ल्याउन सफल भएपछि प्रमुख साम्पाङ सामाजिक सञ्जालबाटै आह्वान गरेर धरान–४ बाट बग्ने निशाने खोलाको पानी व्यवस्थापनमा लागेका छन् । एक सातादेखि उहाँ धराने जनतासँगै श्रमदान गर्दै आएका छन् । पर्यावरण सन्तुलन कायम गर्न साप्ताहिकरुपमा उनी वृक्षरोपण कार्यक्रम बनाएर पाखाभित्तामा फलफूलका बोटबिरुवा रोप्दै आएका छन् । वन, जङ्गल अभाव र भएको वन जङ्गलमा चराचुरुङ्गी, बाँदरलगायत पशुपक्षीले खाने आहाराको अभावले बाँदर सहर पसेको र अन्य पशुपक्षी मासिएको उनको बुझाइ छ । त्यही भएर उनी वृक्षरोपण कार्यक्रममा पनि उत्तिकै समय दिँदै आएका छन् । शुक्रबार उनी सार्वजनिकरुपमा लागुऔषधसम्बन्धी सचेतना जगाउन धरानका चोकमा नियमित ‘प्ले कार्ड’ बोकेर ‘नो ड्रक्स’ को अभियान पनि चलाइरेका छन् ।

प्रमुख साम्पाङले भविष्यमा कोसीको पानी धरान ल्याउने योजना रहेको र अध्ययन भइरहेकाले उक्त पानीलाई ठूलो जलाशय बनाएर जम्मा गर्ने र त्यसबाट नै बिजुली पनि निकाल्ने आफ्नो अवधारणा सुनाए । त्यसका लागि जलाशय बनाउन भनेर प्रस्तावित ठाउँसम्म प्राविधिक, इञ्जिनीयरलाई अवलोकन गराएका छन् ।

पूर्वाञ्चल प्राविधिक कलेका इञ्जिनीयरले कोसीको पानी जम्मा गर्न जलाशय बनाउने ठाउँ उपयुक्त भए पनि त्यस स्थानको सोइल टेष्ट गरेर मात्रअघि बढ्न सुझाव दिए । अहिले वर्षाको समयमा पनि खर्दु खोलाको पानीबाट ४० किलोवाट बिजुली उत्पादन गर्न सकिने र हिउँदमा पाँच÷छ किलोवाटसम्म बिजुली उत्पादन गर्न सकिने सुझाव दिएको प्रमुख साम्पाङले बताए । पकुवा खोलामा जनश्रमदान गरेर पानी ल्याउने प्रमुख साम्पाङको योजना सफल भएपछि कोसी राजमार्गको धरान धनकुटे सडकखण्डमा पर्ने निशाने खोलामा पनि श्रमदान अभियान सुरु गरिएको छ ।

जङ्लमा जमिनमुनिको पानी तान्ने पम्प महिनामा दुई÷तीनपटक बिग्रिने र एउटा पम्प बनाउन रु दुई लाखसम्म खर्च हुने गरेको छ । वर्षायाममा खोला खोल्सीमा भएको सतहको पानी ल्याउनसके पम्प चलाइरहन नपर्ने र वर्षायामभरि पम्प बिग्रेर बनाउनु नपर्ने तथा बिजुली चलाएको खर्च जोगिने प्रमुख साम्पाङले बताउछन् । दीर्घकालीन समाधान भने कोसीबाट पानी ल्याउनैपर्ने उनी बताउँछन् ।

उनी खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा आफ्नो स्थान बनाउन संघर्षरत पात्र हुन् । विसं २०३९ फागुन १५ गते खार्ताम्छामा जन्मिएका साम्पाङ त्यहीँको शुक्रबारे माविबाट एसएलसी गरेर २०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरे । अध्ययनकै क्रममा उनले धरानमा एउटा ल्याङ्ग्वेज सेन्टरमा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसमा पनि चित्त नबुझेपछि अफगानिस्तान जानुभएका उनी त्यहाँबाट फर्किएर पुनःइराकतिर लागे ।

विदेशमा छ वर्ष काम गरेपछि नेपाल फर्किएका उनि देशमै केही गर्नुपर्छ भनेर सामाजिक काममा लागे । धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गमा परेका स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनको चर्चा सुरु भएको हो । सडक विस्तारका नाममा नगरवासीलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएसँगै उनको परिचय फैलियो र धेरैले उनलाई जनताका पक्षमा बोल्ने अगुवाका रुपमा चिन्न थाले ।

सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भएको थियो । भूमिगत खानेपानीका लागि काम सुरु भएर पानी वितरण त भयो तर समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । उनले पहिलोपटक हिक्मत गरेर आयोजनाप्रति नै प्रश्न गर्न थाले । खानेपानीमा राजनीतिक दलले गरेका बद्मासीबारे खुलेर विरोध गरे । उनी एक्लै सडकमा उत्रिए र पछि विस्तारै अरुले साथ दिन थालेका थिए ।

कतिपय अभियानमा असफलता भए तर कहिल्यै निराश भने भएनन् । सामाजिक, राजनीतिक र स्थानीय तह र सार्वजनिक संस्थामा हुने गरेका विकृति र विसङ्गतिविरुद्ध उनले निरन्तर प्रश्न उठाए । आज पनि उनको अभियान जारी छ ।

धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पारे । दलको कामबाट दिकदार भएका धराने जनता फाट्टफुट्ट उनको आन्दोलनमा साथ दिन थाले । उनको आन्दोलनबारे राजनीतिक दल, सञ्चारमाध्यामले कुनै चासो नदिए पनि उनि निरन्तर खबरदारीमा लागि रहे ।

राजनीतिक दल र नेताहरू सुध्रिनुपर्छ, भ्रष्टाचार, कमिसन र लुट शासनको अन्त्य हुनुपर्छ भन्ने उनको मान्यता रहेको छ । यस्ता विषयमा उनी निरन्तर फेसबुकमा लाइभ गर्दै आए । प्रमुख भएपछि पनि उनी सार्वजनिक चासोका विषय, धरान उपमहानगरपालिकाले गरिरहेको गतिविधि नियमित सामाजिक सञ्जालमार्फत जानकारी गराइ राखेको छ ।

एक दशकदेखि धरानका सडकमा कहिले एक्लै कहिले सानो समूह लिएर प्लेकार्ड, ब्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुनुहुन्छ । उनले सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका मानिसले पनि भू–माफियासँग मिलेर फेरि जमिन हड्प्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । हर्क साम्पाङ पनि त्यसमा जोडिएका थिए । पोलिखे उनको मृत्यु भएपछि त्यो काम साम्पाङले गरे ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...