प्रमुख खवर

अलबिदा प्रदीप गिरी !

काठमाडौं । नेपाली कांग्रेसले दिवंगत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । त्यसैगरी कांग्रेसले भदौ ६ गते सोमबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिन (भदौ १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

स्वर्गारोहणको १३ औँ दिन (भदौ १६ गते) मा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । नेता गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् त्यागी एवम् बहुआयामिक व्यक्तित्व हुन् । उनको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको हो ।

सरल जीवनशैलीका गान्धीवादी नेता
पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट विसं २००४ असोज २४ गते गोवर्धन पूजाका दिन सिरहाको बस्तीपुरमा जन्मनुभएका गिरी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गरेका थिए । गिरी समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता थिए।

गिरीले राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता, ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रबिन्दुमा राख्थे । कांग्रेसलाई थप समावेशी र सबल बनाउन गिरी हरदम क्रियाशील रहेका कांग्रेसले जनाएको छ ।

नेता गिरी नेपालमा राजनीतिक दल प्रतिबन्धित भएको समय बनारसबाट कांग्रेस पार्टीमा आबद्ध भई पार्टी संगठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतका विरुद्ध निरन्तर संघर्षरत रहे । सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी लोकतान्त्रिक आन्दोलनमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटकपटक जेल र निर्वासनमा रहे।

गिरी कांग्रेस पार्टीमा मात्रै नभएर नेपाली र विदेशी राजनीतिक समकक्षीबीच लोकप्रिय थिए। महान दार्शनिक नेता प्रदीप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको बैठकको ठहर छ ।

बैठकले गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यस दुःखद् घडीमा उनको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जलीका साथ शोकाकूल परिवारजन एवं समस्त पार्टी सदस्यमा समवेदना प्रकट गरेको छ । दिवङ्गत नेता गिरीप्रति उच्च सम्मान र उनको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको बैठकमा दुई मिनेट मौन धारण गरिएको थियो ।

कांग्रेसका नेता गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको छ । तत्पश्चात् पशुपति आर्यघाटमा गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कार गरिने कार्यक्रम छ । नेता गिनीको उपचारका क्रममा ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति साढे ९ बजे निधन भएको हो ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...