दिवाली र छठको खर्च जुटाउँदै कुमाल समुदाय
महोत्तरी । मुलुक चुनावी रन्कोमा छ । जिल्लामै पनि चुनावका लागि राजनीतिक दल र उमेदवारको चहलपहल बढ्दो छ । तर, महोत्तरीका कुमाल जाति समुदाय यो रन्कोबाट बेखबर जस्तै बनेर दिवाली (तिहार) र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् ।
भर्खरै कसैगरी दसैँ पर्व टारेका कुमाल समुदायलाई अहिले दिवाली र छठको खर्चको जोहो गर्न माटाका भाँडा बनाउने व्यस्तताले छोपेको हो । चाडपर्वको विधि र प्रयोगको अभ्यासले दसैंभन्दा तिहार र छठमा माटाका भाँडाको माग बढ्ने भएकाले दसैं सकेलगत्तै कुमाल माटाका भाँडा बनाउन दिनरात नभनी जुटेका छन् । दिवाली (दिपावली, तिहार) र छठपर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याची (दही जमाउने भाँडा), तौला (माटोको डेक्ची) र ढकना (बिर्को)सहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीमा यस्ता भाँडाको माग बढ्ने गरेको छ । यसै बेलालाई आफ्नो कमाइको मुख्य समय ठानेर कुमाल समुदाय अहिले भाँडा बनाउन व्यस्त भएका हुन् ।
“दसैंमा त हाम्रो सीपको खासै माग हुँदैन, खोजमेल गरेर नै दसैं टारियो”, जिल्लाको भङ्गाहा नगरपालिका-५ भुचक्रपुर कुमाल टोलका सीताराम पण्डित कुमालले भने, “दिपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाँडाको प्रयोजन जोडिएकाले हाम्रो सीपको उत्पादन भाँडाको माग बढ्छ ।” दसैंपछिको तिहार र छठअघिको समय नै आफूहरुको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुने सीतारामको थप भनाइ छ ।
अन्यबेला खासै प्रयोगमा नआउने माटाका भाँडा पर्व विशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिने भएकाले जिल्लाका सबैजसो बजारमा यसको बेग्लै बजार लाग्ने गरेको देखिन्छ । दिवाली र छठपर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठपर्वमा सूर्यदेवलाई चढाइँने दही माटोकै छ्याचीमा जमाउन पर्ने, लक्ष्मीपूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाँडामा राख्नुपर्ने परम्पराले यी पर्व विशेषमा माटाका भाँडाको कारोबार बढ्ने गरेको छ । यसै परम्पराको अवसरमा दिपावली र छठअघि माटाका भाँडाको बजार जम्ने गरेको कुमाल बताउँछन् ।
खासगरी कात्तिक कृष्णपक्ष सुरु हुनासाथ कुमाल समुदाय पर्व लक्षित भाँडा बनाउन व्यस्त हुने गर्छन् । दिवाली र छठ मिथिला क्षेत्रको साझा पर्वजस्तै भएकाले महोत्तरीका सबैजसो गाउँ÷नगर बस्तीका हटियामा माटाका भाँडाका छुट्टै बजार लाग्ने गरेको छ । साप्ताहिक हटिया (सातामा फरक–फरक स्थानमा लाग्ने हाटबजार) बाहेक नगर/गाउँ बस्तीका चोक/चोकमै कुमालले माटाका भाँडाको बजार लगाउन सुरु गरिसकेका बर्दिबास उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद गौतम बताउछन् ।
मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक/सांस्कृतिक र धार्मिक मान्यताले दिवाली र छठपर्वमा यसको माग बढ्ने गरेको हो । कुमाल जाति दसैं सकेर दिवाली, छठअघिको समयलाई किसानको मुख्य फसल धान थन्क्याउने मङ्सिरसँग तुलना गर्ने गर्छन् । भाँडा बिक्रीबाट हुने आम्दानीबाटै तिहार, छठ मनाइने, दसैंमनाउदाको सरसापट तिर्ने र वर्षभरिका अन्य नगद खर्चको जोहो गरिने अहिले आफूहरुको उपयुक्त अवसर भएको जिल्लाकै लोहारपट्टी-४ पिपराढी बस्तीको कुमाल टोलका रामप्रवोध पण्डित (कुमाल) बताउछन् ।
विगतमा (केही दशकअघिसम्म) घरव्यवहार प्रयोजनमा बाक्लै माटाका भाँडा प्रयोग गरिने भए पनि अब दैनिक प्रयोजनमा यसको प्रयोग हुन छाडेकाले चाडपर्वका लागि मात्र माग हुने गरेको कुमाल बताउँछन् । मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाँडा दैनिक प्रचलनमा रहेपनि त्यसयता प्लास्टिकका भाँडाको प्रयोग बढेकाले आफूूहरुको व्यवसाय चाडपर्व विशेषमा मात्रै चल्ने गरेको उनीहरुको भनाइ छ ।
अहिलेको कमाइले सालभरिको नगद खर्चको जोहो गर्नुपर्ने हुँदा भाँडा बनाउने कामले भ्याइनभ्याइ परेको जिल्लाकै मनराशिशवा नगरपालिकाको सहसराम बस्तीका रामशोभित पण्डित बताउछन् । तिहार र छठपर्वका अवसरमा महोत्तरीमा मात्र १० लाखभन्दा बढीको माटाका भाँडाको कारोबार हुने गरेको महोत्तरी उद्योग वाणिज्य संघका पदाधिकारीको अनुमान छ ।
यसपाली दसैं सकिएलगत्तै जमेको माटाका भाँडाको बजार छठसम्म रहने भएकाले र मूल्यवृद्धिसमेत भएकाले यो पर्वभित्र १५ लाखभन्दा बढीको कारोबार हुने जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष लवराजा सिंहले बताए ।
जिल्लाको लोहारपट्टी, भङ्गाहा र मनराशिशवा नगरपालिकाका केही बस्तीमा छुट्टै कुमाल टोल छन् । यी बाहेक जिल्लाका अन्य गाउँ/नगर बस्तीमा भने छिटफुट रुपमा कुमाल छरिएर बसेका छन् । दिवालीमा आफ्नो पूख्र्यौली पेसाको परम्परा थाम्दै जिल्लाका सबैजसो गाउँ/नगरबस्तीका घर-घरैजसो आफ्ना भाँडाको प्रचार, प्रबद्र्धन र बिक्रीमा कुमाल जुट्ने गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




