घरदैलोमा उम्मेदवार, स्थानीयवासीलाई धान काट्ने चटारो
महेन्द्रनगर । दोधारा चादँनी नगरपालिका-१० का दिलबहादुर सुनारले गत वर्ष बेमौसमी बाढी आउँदा धान बाली समेट्न नपाउँदा जेनतेन गुजारा गरे । यसवर्ष पनि वर्षाले कतै फेरि जोगबुढाको बाढी पसेर धानबाली नोक्सान गर्छ की भन्ने पिरलोमा रहेका दिलबहादुर धान समेट्दै गर्दा खेतमा भेटिइन् ।
पाँच कठ्ठामा लगाएको धान कटाउन छिमेकीलाई समेत सहारा मागिरहेका दिलबहादुर जस्तै अहिले कञ्चनपुरका अधिकांश किसानलाई धान समेट्ने चटारो छ । स्थानीय कौशीलादेवी सुनारले कुतियाकवर बस्ती कटान समस्याबाट मुक्त हुन नसकेको बताइन् । “यहाँ खेतीयोग्य जमिन बर्सेनि जोगबुढा नदीले कटान गर्दै बस्ती समेत जोखिममा छ”, उनले भनिन्, “चुनावका बेला खेतमा मत माग्न पुग्नु भन्दा कटान नियन्त्रणमा लागि पहल गरिदिनु पर्यो ।”
“ बिहान नै नास्ता खाएर धान काट्न परिवार नै खेतबारीतिर लाग्नु दैनिकी बनेको छ”, दोधारा चादँनी–४ का जग्गे सुनारले भने, “पोहोर साल धान क्षति हुँदा दीर्घकालीन सहयोग हुने खालका प्याकेज दिने आश्वासनमै बित्यो ।” ५४ वर्षीय सुनार अहिले बस्तीमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार घरदैलोमा आउँदा कुनै उमङ्ग नभएको बताउछन् । “किसानलाई धान समेट्न भ्याइनभ्याइ छ, नेताहरु घरदैलोमा पुगिरहेका छन्”, उनले भने,“कतिपय नेता खेतमै मत माग्दै पुगिरहेका पनि छन् ।” उनले किसानलाई जनप्रतिनिधि भएर जानेहरुले कुनै सुविधा दिने चासो नै नदेखाएको गुनासो गरे । “ खेती गर्दा न मल पाउँछ नत बालीको उचित मूल्य नै”, उनले भने, “सरकारले दिने अनुदान पनि पहुँच भएकाले पाउने त होलान् ।” कञ्चनपुरमा दल र स्वतन्त्र व्यक्तिले चुनावी घरदैलो अभियानलाई तीव्रता बनाएका बेला यहाँका तीन वटै प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा भने किसान धान काट्न र भित्र्याउन सक्रिय रहेका छन् ।
“केही दिनअघि त महेन्द्रनगरमा एक जना उम्मेदवारले त धान काट्न सहयोग गरिरहेको फोटो पनि हामीले सामाजिक सञ्जालमा हेर्यौँ”, यहाँको शुक्लाफाँटा नगरपालिका-५ का वीरेन्द्र जोशीले भने, “चुनावका बेला मतदाता रिझाउन अनेक प्रपञ्च गरिँदो रहेछ ।” उनले चुनावका बेला रिझाउन आउने भन्दा पनि कृषि, शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासमा पहल गर्ने प्रतिनिधि छनोट जनताले गर्ने बताए । “हामी किसान अब चुनावको बेलाका आश्वासन सुनेर हुरुक्क हुने स्थिति छैन्”, उनले भने, “कृषिप्रधान मुलुकमा मल र उत्पादन गरेको बस्तुको भाउ नपाउने अवस्था कहाँबाट सिर्जना भयो ?।” उनले पनि शुक्लाफाँटा नगरपालिकामा प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार घरदैलो अभियान सञ्चालन गरिरहेको बताए ।
यहाँस्थित कृषि ज्ञान केन्द्रका अधिकृत हरि जोशीले जिल्लामा अनुमानित ६० प्रतिशत धान कटाइ सकिएको बताए । उनले केही समयअघि यहाँ आएको वर्षाले धानबालीमा नोक्सानी पुर्याएको विवरण पेस गर्न स्थानीय पालिकालाई पत्राचार गरेको जानकारी दिए । कञ्चनपुरमा कूल ४८ हजार चार सय ९४ हेक्टर क्षेत्रफलमा धानीखेती हुँदैआएको छ । “डुबानलगायतका समस्याले वर्षा हु्ँदा पाँच देखि १० प्रतिशत धानबालीमा नोक्सान पुर्याएको भन्ने अनुमान छ”, जोशीले भने, “पालिकाहरुबाट एकीन विवरण आउन बाँकी छ ।”
कञ्चनपुरबाट राष्ट्रिय राजनीतिमा परिचय बनाएका पुर्वमन्त्रीत्रय रमेश लेखक, नारायण प्रकाश साउँद र वीना मगर गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन् । त्यसैगरी नेकपा एमालेका तर्फबाट पुर्व सांसदहरु निरुदेवी पाल, नरबहादुर धामी र प्रदेशसभाका पुर्वमन्त्री तारा लामा तामाङ चुनावी मैदानमा छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




