
काठमाडौं। शुक्रबार बिहान सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ।
सोलुखुम्बुको सल्लेरीबाट काठमाडौँका लागि छुटेको उग्रचण्डी यातायातको बस शुक्रबार बिहान सोलुखुम्बुकै साल्मेनजिक सडकमा पल्टिएको हो।
काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५५८२ नम्बरको उग्रचण्डी डिलक्स बस अनियन्त्रित भई बिहान ४ बजे सडकमै पल्टिएको हो। बसमा चालक, सहचालक, कन्टेक्टरसहित ७ जना थिए।
दुर्घटनामा सिन्धुली फिक्कल गाउँपालिका २ निवासी ३२ वर्षीय बस चालक होम बहादुर लुङ्गेलीको दुवै घुँडा र देब्रे हातमा सामान्य चोट लागेको छ। त्यसैगरी रामेछाप लिखु गाउँपालिका ७ निवासी ३१ वर्षीय कन्डक्टर ताराबहादुर बुढाथोकीको दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। घाइते दुवै जना जिल्ला अस्पताल फाप्लुमा उपचार गराइरहेका छन्।
अन्य पाँच जना भने सकुशल छन्। बसको दाहिने भागमा क्षति पुगेको छ भने सडक अवरुद्ध भएको छ। बस हटाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।