आइतवार, साउन १२, २०८२
English
Follow us:

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगमाथि प्रतिबन्ध

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगमाथि प्रतिबन्ध

  • खबर सेवा

  • शनिबार, साउन ११, २०८२

  • 12
    SHARES
भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगमाथि प्रतिबन्ध

भक्तपुर । यहाँको चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाको अनुगमन समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उद्योगलाई आजैदेखि पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीका अनुसार ती उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित ती उद्योगले बिक्री गर्दै आएको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक इकोली, कोलिफार्म, एमोनियालगायतका तत्व पाइएको नगरपालिकाका उपप्रमुख बुढाथोकीले जानकारी दिए ।

प्रतिबन्ध लगाइएका उद्योगहरूमा जय छुमा गणेश खानेपानी, ओके मिनिरल वाटर, झौखेल खानेपानी, कर्णाली खानेपानी र भक्तपुर खानेपानी उद्योग छन् ।

गत सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकृष्ण श्रेष्ठसहित अनुगमन समितिका सदस्य सन्तोषी नेपाली, वडा नं। ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल, निलाकुमारी घिमिरे, वास संयोजक सुरेन्द्र लामिछाने, विभिन्न विषयगत समितिका प्रतिनिधिलगायतले पानी उद्योगहरूको उत्पादन प्रक्रिया, सरसफाइको अवस्था, दर्ता तथा नवीकरणको अवस्थालगायतको स्थलगत निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा खानेपानीको उत्पादनमा समस्या देखिएको, गुणस्तरमा कैफियत भेटिएको र पानीको शुद्धतामा ध्यान नदिएको पाइएपछि पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो ।

नगरपालिकाको निर्देशनको अवज्ञा गर्ने उद्योगहरूलाई नियमानुसार कानुनी कारबाही गरिने जनाइएको छ । झौखेलमा मात्रै ५० वटाभन्दा बढी खानेपानी उद्योग सञ्चालनमा छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology