काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते नेपाल प्रहरीका ४६५ युनिटमा क्षति पुगेकोमा हालसम्म ४४८ वटा युनिट पुनः सञ्चालनमा आएका छन्।
राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले देशभरका सुरक्षा तथा प्रशासनिक अवस्थाबारे विवरण प्रस्तुत गर्दै क्षति पुगेका १० जिल्ला प्रशासन कार्यालय र ४ इलाका प्रशासन कार्यालयको सेवा पनि सुचारु भइसकेको जानकारी दिएका हुन्।
गृहमन्त्री अर्यालका अनुसार, आन्दोलनपछि करिब दुई महिनाको अवधिमा शान्ति–सुरक्षा सामान्य अवस्थामा फर्किएको छ। उनले आन्दोलनका क्रममा आपराधिक गतिविधिमा संलग्न ४२९ जनालाई पक्राउ गरी हालसम्म १६८ वटा मुद्दा दर्ता भइसकेको जानकारी दिए।
‘भदौ २३ र २४ गतेका घटनापछि लुटिएका वा हराएका सुरक्षाकर्मीका ७१८ थान हतियार फिर्ता ल्याइसकिएको छ,’ मन्त्री अर्यालले समितिलाई जानकारी दिँदै भने, ‘बाँकी हतियार खोजीका लागि सुरक्षा निकायहरूले संयुक्त अपरेसन सञ्चालन गर्दै तीव्र खोजी कार्य गरिरहेका छन्।’
उनले थपे, ‘सुरक्षा संयन्त्रबीचको सहकार्य र स्थानीय तहको सहयोगका कारण स्थिति नियन्त्रणमा ल्याउन सफल भएका छौँ।’ गृहमन्त्री अर्यालले उक्त घटनामा देशका विभिन्न कारागारबाट १४ हजार ५५४ कैदीबन्दी फरार भएकोमा हालसम्म ९ हजार ५४१ जना पुनः नियन्त्रणमा आएका र बाँकी ५ हजार १३ जनाको खोजी जारी रहेको जानकारी दिए।
त्यस्तै, उनले आगामी फागुन २१ गते निर्धारित निर्वाचन सम्पन्न गर्नु सरकारको प्राथमिक जिम्मेवारी भएको दोहोर्याउँदै भने, ‘हामी समयमै निर्वाचन सम्पन्न गरेर छिटोभन्दा छिटो जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन आतुर छौँ।’
गृहमन्त्रीका अनुसार, निर्वाचन पूर्व सुरक्षा सुदृढीकरण, मतदाता सहजता र आपराधिक गतिविधि नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको छ।