प्रमुख खवर

विदेशी पर्यटकलाई नक्कली उद्धार गरी ठगी गर्ने गिरोह नियन्त्रणमा

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यू) मार्फत ठगी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ ।

आईतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा। मनोजकुमार केसीले साढे दुई महिनाको सघन अनुसन्धानपछि तीनवटा कम्पनीसँग सम्बन्धित ६ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेहरूमा नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे तथा सञ्चालक एवं प्रबन्धक सुभाष केसी रहेका छन् ।

अनुसन्धानबाट उच्च हिमाली क्षेत्रमा सामान्य स्वास्थ्य समस्या जस्तै टाउको दुखाइ वा थकानलाई ‘एक्युट माउन्टेन सिकनेस’ भनेर झूटो प्रचार गरी हेलिकप्टरमार्फत फर्जी उद्धार गराउने, नक्कली उपचार बिल तथा कागजात तयार पार्ने र अन्तर्राष्ट्रिय बिमा कम्पनीबाट करोडौं रुपैयाँ ठगी गर्ने धन्दा चलिरहेको पुष्टि भएको छ । गिरोहले एउटै उडानमा बहुविध बिमा दाबी गर्ने, चार्टर फ्लाइटलाई रेस्क्यूमा रूपान्तरण गर्ने, प्राइभेट अस्पतालसँग मिलेर फर्जी बिल बनाउने तथा मिडलम्यानबाट कमिसन लिने गरेको तथ्य फेला परेको छ ।

सीआईबीको अनुसन्धानअनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले कुल १,२४८ जनाको उद्धार गरेको रेकर्डमध्ये १७१ जनाको फेक रेस्क्यू गरेको खुलेको छ । यसबाट कम्पनीले १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर बिमा दाबी गरेको पाइएको छ । त्यसैगरी नेपाल चार्टर सर्भिस प्रालिले कुल ४७१ जनाको उद्धारमध्ये ७५ जनाको फेक रेस्क्यू गरेको छ भने यसबाट ८२ लाख अमेरिकी डलर माग दाबी गरेको अनुसन्धानमा देखिएको छ ।

एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिले कुल ६०१ जनाको उद्धारमध्ये ७१ जनाको शंकास्पद रेस्क्यू गरेको पाइएको छ र यसबाट ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको छ । यी फेक रेस्क्यूबाट कुल ठगीको रकम करिव २ अर्ब ९० करोड नेपाली रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

विदेशी मिडियाले नेपालमा करिब ३५ प्रतिशत रेस्क्यू फेक भएको उल्लेख गरेका थिए भने २०८२ असोजयता थप उजुरीहरू आएका छन् । यसअघि सन् २०१८ मा पनि यस्तै घोटालाको प्रतिवेदन आएको थियो तर पूर्ण कारबाही हुन सकेन ।

डा। केसीले भन्नुभयो, “उनीहरूलाई राष्ट्रहित विपरीतको गतिविधिमा संलग्न भएको अभियोगमा मुद्दा चलाइनेछ । यस कार्यमा संलग्न अन्य व्यक्तिहरूको पनि प्रमाण खोजी भइरहेको छ र प्रमाण फेला लागेपछि तत्काल पक्राउ गरी कारबाही अघि बढाइनेछ ।”

सीआईबीले छुट्टै कार्यदल गठन गरी अनुसन्धान गरेको छ भने पर्यटन मन्त्रालयले पनि छानबिन समिति बनाएको थियो । फेक रेस्क्यूसम्बन्धी उजुरीहरू अझै आउने क्रम जारी छ । यस घटनाले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा गम्भीर असर पार्नसक्ने भएकाले प्रहरीले यसलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाइरहेको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...