
काठमाडौँ। शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ। बुधबार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको हो।
अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको आन्दोलनमा रहेको र चैत २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए।
धर्ना कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए।
उनका अनुसार फागुन २८ गते नेकपा एमाले, चैत १ गते नेकपा माओवादी केन्द्र, चैत २ गते नेकपा एकीकृत समाजवादी, चैत ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी, चैत ४ गते जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा तथा चैत ५ गते जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको केन्द्रीय कार्यालय अगाडि धर्ना दिने कार्यक्रम छ।