शिक्षा

विद्यालय शिक्षा विधेयक पारितका लागि नयाँ ढाँचाका कार्यक्रम अघि सार्दै महासंघ

काठमाडौँ। विद्यालय शिक्षा विधेयक पारितको दबाब दिँदै आएको नेपाल शिक्षक महासंघले नयाँ आन्दोलनका कार्यक्रम अघि सारेको छ। शिक्षक महासंघले भोलि बुधबारबाट अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्ने भएको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो ।

महासंघले पहिलो चरणअन्तर्गत गत फागुन २४ काठमाडौंमा जुलुस र विरोधसभा गरेको थियो । त्यस्तैदोस्रो चरणमा फागुन २७ बाट चैत ५ सम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो । त्यस्तै, चैत ७ देखि १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन सम्पन्न गरेको थियो ।

दोस्रो चरणको अन्तिम र निर्णायक कार्यक्रमको रुपमा बुधबार (चैत २०)बाट काठमाडौंकेन्द्रित सडक आन्दोलन गर्न लागेको महासंघका राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

स्थायी राहत, साबिक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा अस्थायी करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालयलगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चलिरहने विज्ञप्तिमा जनाइएको छ ।

‘ने शि महासंघ र सरकारबीच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको उद्देश्य हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो उद्देश्यप्राप्तिका लागि हामीले गर्ने आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुनेछ ।’

आन्दोलन शिक्षक–कर्मचारीको पेसागत मागमुद्दा सम्बोधनसँग मात्र नजोडिएको उल्लेख गर्दै यसले गुणस्तरयुक्त विद्यालय शिक्षा तथा विद्यार्थीको हित र उन्नयनका पक्षमा समेत आवाज मुखरित गर्ने दाबी गरिएको छ ।

महासंघले आन्दोलनप्रति ऐक्यबद्धता, सहयोग र समर्थन गर्न विद्यार्थी, अभिभावक विद्यालय व्यवस्थापन समिति तथा सबै शैक्षिक सरोकारवालाई अपिल गरेको छ ।

सम्बन्धित समाचार

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल

काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...