व्यवाहारिक ज्ञानबाट दक्ष जनशक्ति उत्पादन गर्दै ‘गेट भोकेशनल फ्याब स्कूल’

पोखरा । हस्पिटालिटी क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नेपालमा धेरै शैक्षिक संस्था तथा तालिम प्रदायकहरु खुलेका छन् । यस्ता धेरै संस्थाहरुको भिडमा केही संस्थाले फरक शैलीमा आफ्नो पहिचान प्रस्तुत गर्न सफल छन् । यस्तै एउटा उदाहरणीय संस्था बनेको छ, ‘गेट भोकेशनल फ्याब स्कूल’ । सुन्दर पर्यटकीय नगरी पोखराको छोरेपाटन डेभिज फल्सबाट २ किलोमिटर पश्चिममा अवस्थित यो फ्याब स्कुल आफैमा एउटा नमुना व्यवहारिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्था हो ।

शिक्षण होटलको प्रभावकारी भूमिका खेल्दै फ्याब स्कूलले आफ्नो स्थापना २०७३ सालदेखि नै विभिन्न विभागीय होटल तालिमबाट देश तथा विदेशमा युवाहरुलाई सफतापूर्वक रोजगारी दिलाउन सक्षम छ । काठमाडौं मण्डीखाटारमा रहेको ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (GATE College) को भगिनी संस्थाको रुपमा फ्याब स्कुल स्थापना भएको हो । फ्याब स्कुलले हाउसकिपिङ, कुलिनारी, बेकरी, फ्रन्ट अफिस, सर्भिस्, बारिष्टा लगायत विभिन्न शिपमुलक व्यवाहारिक तालिम दिंदै दक्ष जनशक्ति उत्पादनमा उल्लेखनिय योगदान पुर्याउँदै आएको छ ।

फ्याब स्कुलबाट हालसम्म २६५ जना दक्ष जनशक्ति उत्पादन भइसकेको महाप्रबन्धक विवेक पौडेलले जानकारी दिए । ‘यहाँ हामीसँग जोडिएका विद्यार्थीलाई सिपमुलक तालिममा दक्ष बनाउँछौं,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न सफल छौं ।’

संस्थाको पढाईको स्वरूप र पढाउने शैली पृथक छ । बिहानीको शुरुवात योगा र ध्यानबाट हुन्छ । वास्तविक पाहुनालाई आतिथ्य सत्कार दिँदै यहाँका विद्यार्थीको दैनिकी सुरु हुन्छ । स्कुलमा १२ ओटा पाहुना कोठा छन् । जहाँ पाहुनाहरु बुकिङ गरेर बस्ने गर्छन् । यहाँ आएर बस्ने पाहुनाले विद्यार्थीले गर्ने आतिथ्यता तथा सत्कार मन पराउने गरेका छन् ।

होटलमा बसेका पाहुनालाई विद्यार्थीले खाद्य तथा पेय सेवा प्रदान गर्छन् । ‘जुन सेवाबाट विद्यार्थीले हस्पिटालिटी करियरमा जान्नैपर्ने सबै ज्ञान आर्जन गरिरहेका हुन्छन्,’ पौडेलले भने । यसरी दिने सेवा नै विद्यार्थीको व्यवाहारिक शिक्षा रहने हुन्छ । अनि पढाई सक्ने बेलासम्म आफूले चाहेको विभागमा पोख्त हुँदै पूर्ण अनुभव बटुल्ने अवसर विद्यार्थीलाई मिल्छ । सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षा, त्यो पनि वास्तविक पाहुनासँग जोडिएर लिने अवसर विद्यार्थीले पाएका छन् । यो सबै कुराको अनुभव लिँदै गर्दा विद्यार्थीको मनोबल बढ्नुको साथै होटल क्षेत्रमा चाहिने न्यूनतम योग्यताको पनि समानान्तर विकास भइरहेको हुन्छ ।

शिक्षण होटलको एउटा नमुना हुँदै गर्दा फ्याब स्कुलमा पाहुना कोठा, सेमिनार हल, विद्युतीय पुस्तकालय, व्यावसायिक रेस्टुरेन्ट र आधुनिक किचेन, व्यवस्थित फ्रन्ट अफिस अहिले सञ्चालनमा छन् । सौन्दर्य स्वस्थ स्पा र व्यावसायिक लन्ड्री छिट्टै सञ्चालनमा ल्याइने पौडेलले बताए । होटलको लागि आवश्यक पर्ने हरेक जस्तो दक्ष जनशक्ति उत्पादन गर्दै फ्याब स्कूलले आतिथ्य सत्कारमा उल्लेखनीय भूमिका खेलेको छ ।

सामान्य व्यवाहारिक सिपमुलक शिक्षा बाहेक अतिरिक्त सामाजिक तथा बौद्धिक शिक्षामा पनि फ्याब स्कूल एक कदम अगाडि छ । सामाजिक सन्तुलनको एउटा राम्रो प्रयास गर्दै फ्याब स्कूलका हरेक विद्यार्थीले महिनावारी र त्यसबाट महिलाको दैनिकीमा पर्ने असर अनि त्यसको व्यवाहारिक रुपान्तरणको बारेमा हरेक हप्ता बेग्लै कक्षा लिन्छन् । एउटा महिलाको उचित बुझाई पछि गरिने सम्मान र समान व्यवहारमा सन्तुलन ल्याउने यो एउटा सामाजिक कार्य हो । त्यस्तै विभिन्न सामाजिक घटना, दुर्घटनालाई न्यून गराउन लागुऔषध, सडक सुरक्षा, अग्नि नियन्त्रण, आत्मरक्षा र अभिभावकीय शिक्षा कलाको थुप्रै परिवर्तनकारी तालिम सत्रहरु पनि निरन्तर सञ्चालमा छन् ।

सामाजिक, आर्थिक र लैङ्गिक विभेदको चपेटा परेर उचित शिक्षा र अवसरबाट वञ्चित युवालाई पनि उज्ज्वल भविष्य प्रदान गर्ने सपनाका साथ फ्याब स्कूलले विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्दै विपन्न, सामाजिक उत्पीडन र आर्थिक कमजोर पारिवारिक पृष्ठभूमिको युवा विद्यार्थीलाई पूर्ण र आंशिक छात्रवृत्ति योजनामा विभिन्न तालिम दिँदै रोजगारीको सम्पूर्ण अवसर दिँदै आएको छ ।

विभिन्न देशका शैक्षिक संस्थासँग सहकार्य गर्दै विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गरिसकेको फ्याब स्कूलले स्वीजरल्या्ड, नर्वे, भियतनाम, फ्रान्स र हङकङको अन्तर्राष्ट्रिय विद्यार्थीलाई नेपाल तथा नेपाली विद्यार्थीलाई विदेशमा तथा स्वदेशमै अनुभव र शिप आदानप्रदान कार्यक्रमको महत्वपूर्ण अवसर दिलाइराखेको छ ।

पर्यटन तथा आतिथ्य सत्कारको व्यवसायमा दक्ष युवा जनशक्ति उत्पादन गर्ने प्राथमिकतामा हालै पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सी टी इ भी टी) बाट स्वीकृति प्राप्त विभिन्न व्यवाहारिक तालिमहरु सञ्चालन भइरहेको छ । साथै स्कुलमा उपलब्ध अन्य व्यावसायिक सेवा जस्तै सेमिनार हल, खाना, खाजा सहित, होटल रूम र बेकरी उत्पादनहरु पोखरामा गुणस्तरीय रुपमा प्राप्त गर्न सकिन्छ ।

शिक्षण होटलको स्वरूपमा विभिन्न व्यावसायिक व्यवहारिक तालिम दिंदै गरिखाने शिक्षाको विकासमा टेवा पुर्याउँदा बेग्लै खुसी प्राप्त हुने गरेको महाप्रबन्धक पौडेल बताउँछन् । कुनै समय आफै विद्यार्थी हुँदाको अनुभव अहिले रुपान्तरण गर्दै युवा माझ फैलाउन पाउँदा निकै सन्तुष्ट महसुस गरेको उनको भनाइ छ ।

चरम बेरोजगारीको चपेटामा लाखौं युवा विदेशिन परेको तीतो यथार्थलाई सम्झिदै केही सीप हातमा हुँदा गरिने व्यवहार र कमाईको सतह नै फरक रहने पौडेलले बताउँछन् । ‘स्वदेशमै अथाह सम्भावना र अवसर हुँदाहुँदै बिना शिप विदेशिएका युवालाई कुनै न कुनै रूपले देशमै स्वरोजगारी तथा रोजगाीको अवसर दिने हो भने हामी पर्यटन क्षेत्र तथा यस क्षेत्रसँग आबद्ध अन्य पेशालाई निकै बलियो र प्रभावकारी बनाउँदै देशको उज्ज्वल भविष्य कोर्न सफल हुने थियौं,’ उनले भने ।

You might also like
Comments
Loading...