
काठमाडौँ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै पनि गुट नरहेको दाबी गरेका छन् ।
प्रेस चौतारी ताप्लेजुङले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिङ्गो एमाले एकताबद्ध रहेको बताएका हुन् ।
भट्टराईले देशको आवश्यकताले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सहितको सरकार बनेकोले आगामी निर्वाचनसम्म यही सरकार रहने बताए । ‘देशमा विषम परिस्थिति सृजना भएकोले गत वर्ष नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएको हो’ भट्टराईले भने– ‘सरकारले देशको आर्थिक स्थिति,अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाएको छ । कतिपय कानुन संशोधन गरेको छ । विकासका कामलाई तीव्रता दिएको छ ।’
भट्टराईले संविधान संशोधनको समयमा स्थानीय तहको सङ्ख्या घटाएर र वडाको सङ्ख्या बढाउनुपर्ने धारणा राखे । संविधान संशोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगका सङ्ख्या पनि घटाउनुपर्ने भट्टराईको भनाइ छ ।
वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेको भन्दै उनले एमालेको नेतृत्वमा सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको बताए ।
सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानीका लागि आह्नवान गरेको छ’ भट्टराईले भने ‘थुप्रै आर्थिक ऐन संशोधन भएका छन् । केही नयाँ बनाइएको छ । विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुनलाई संशोधन गरिएको छ ।’