मुख्य समाचार
२ असोज २०८२ ६:४७
खबर सेवा · More from author
आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै
खबर सेवा
काठमाडौँ। विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहनुभएका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बन्नुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा पनि उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका उहाँ विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा सक्रिय हुनुभएको थियो । राणाशासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो ।
विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । पछि विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको विकास र विस्तारमा आजीवन योगदान दिनुभयो । प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिमा एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनः बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन उहाँ सदा क्रियाशील रहनुभयो ।
विसं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सिंहले सक्रिय भूमिका खेल्नुभयो ।
गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित उहाँले २०४६ सालको आन्दोलनमा महत्त्वपूर्ण योगदान दिनुभयो । कम्युनिष्ट पार्टीसँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनको सर्वोच्च कमान्डर हुनुहुन्थ्यो ।
नेता सिंहको २८औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् । यस अवसरमा आज बिहान ०७ः४५ बजे शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण कार्यक्रम राखिएको जनाइएको छ ।
–––
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
२५ फागुन २०८२ २१:०६
निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...
२५ फागुन २०८२ १८:२६
निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ
काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...
२५ फागुन २०८२ १४:०६
लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...
२५ फागुन २०८२ १२:४८




