थिलोथिलो परेको प्रहरी संगठनमा पदका लागि छिनाझपटी
काठमाडौं। जेन जी आन्दोलनका कारण अहिले देश थिलोथिलो अवस्थामा छ। भाद्र २३ गते भएको जेन जी आन्दोलनका क्रममा बानेश्वरमा १९ जनाको मृत्यु र सयौं घाइते भएपछि २४ गते देशभर आगजनी र लुटपाट भयो। सो क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, शितलनिवासदेखि देशभरका सरकारी तथा निजी क्षेत्रमा ठूलो क्षति भयो।
भाद्र २३ गते बानेश्वर घटनापछि २४ गते देशभरका प्रहरी कार्यायालय तथा प्रहरीहरु आन्दोलनकारीको निसानामा परे। सो क्रममा प्रहरी आफ्नो कार्यालय छोडेर भाग्नुपर्यो भने सयौं हातहतियार लुटिए। जसका कारण सबैभन्दा धेरै भन्दा क्षति सुरक्षाको पहिलो घेरामा खटिने नेपाल प्रहरीले भोग्नुपर्यो।
यो विसम परिस्थितिका बाबजुत जलेका संरचना र स्रोत साधनको खरानी टक्टकाएर उठ्नुपर्ने अवस्थामा नेपाल प्रहरी छ। जसका लागि प्रहरी संगठन एकढिक्का हुन अपरिहार्य छ। तर, प्रहरी संगठन भित्र भने अवस्था फरक देखिएको छ।
प्रहरी संगठन एकढिक्का भएर दह्रो आत्मबाल लिएर अगाडि बढ्नुपर्ने बेला एक महिनापछि हुने प्रहरी महानिरीक्षक बन्नका लागि छिनाझपटी सुरु भएको छ। जसको असर पछिल्लो आन्दोलनका क्रममा ठूलो पिडा भोगेको र अहिले पनि जनतासँग घुलमिल हुन नसकेको प्रहरी संगठन पर्न थालेको बताइएको छ।
हालका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ कार्तिक २७ गते अवकास हुँदै छन्। त्यसपछि अतिरिक्त प्रहरी महानिरीक्षकहरु मध्यबाट प्रहरीमा नयाँ आईजीपी आउनेछन्।
त्यसका लागि कुनै अस्वस्थ चलखेल नहुँदा पहिलो बरियताका एआईजी दानबहादुर कार्की आईजीपी बन्नेछन्।तर, उनलाई रोक्न सकिन्छ कि भनेर प्रहरी संगठन भित्रकै सहकर्मीबाट घिनलाग्दो खेल सुरु भइरहेको प्रहरीकै एक उच्च अधिकारीले बताए।
आफ्नै सहकर्मीको कत्लेआम गर्ने उद्देश्यले ‘नख्खु कारागारमा रहेका रवि लामिछानेलाई मुख्य सचिव एकनारायण अर्याल, गृहसचिव गोकर्ण मणि दवाडी र एआईजी कार्कीको मिलेमतोमा भगाइएको भनेर सञ्चार माध्यममा समाचार लेखाइएको छ,’ स्रोतले भन्यो, ‘सोही दिन प्रहरीकै कर्मचारीको तर्फबाट भन्दै आठ पानाको उजुरी जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको छानवीन गर्न बनेको आयोगमा पुर्याइएको छ।‘
त्यो आठ पाने उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) भित्रै तयार भएको स्रोतको दाबी छ।उक्त उजुरी पीडित कर्मचारीको तर्फबाट भनिएको तर एकजनाको मात्रै हस्ताक्षर रहेको पाइएको छ।
‘यो कुनै व्यक्तिको कुरा होइन, यस्ता स्वार्थ केन्द्रीत गतिविधिले पछिल्लो परिस्थितिले थिलोथिलो परेको प्रहरी संगठनलाई कमजोर बनाउँछ,’ ती अधिकारीले भने, ‘उक्त उजुरी प्रहरीमा चलखेल गरिरहने प्रहरीका आधारभूत तहका कर्मचारीको रगत पसिना चुस्ने विचौलिया मार्फत भएको पाइएको छ। यस्ता विचौलियासँग पनि प्रहरीका केही उच्च तहका अधिकृतको उठबस हुने गरेको छ। जुन संगठनका लागि आत्मघाती विषय हो।‘
आईजीपीका लागि कार्कीपछि दोस्रो वरियतामा राजन अधिकारी र तेस्रो वरियतामा हाल सीआईबीका प्रमख तथा एआईजी डा. मनोज केसी छन्। केसीले आफू आईजीपीमा बढुवा हुन अरुलाई बद्नाम गराउन लागेको विश्वस्त स्रोतको दाबी छ।
‘प्रहरी संगठन संधै राजनीतिक हस्तक्षप र अस्वस्थ प्रतिस्पर्धाले कमजोर हुँदै आएका छ,’ प्रहरी स्रोतले भन्यो, ‘अब यस्ता अस्वस्थ चलखेल रोक्नुपर्छ।‘
कार्की आन्दोलनको दोस्रो दिन उपत्यका प्रहरी प्रमुखको जिम्मेबारी पाएका थिए।सोही दिन काठमाडौं लगायत देशभर तोडफोड, आगजानी र लुटपाट भएको थियो।
सोही दिन नख्खु कारागारबाट रवि लामिछाने र देशभरबाट करिब १५ हजार कैदिबन्दी फरार भएका थिए। ‘देशभर आन्दोलन नियन्त्रण बाहिर गएको बेला बल प्रयोग गर्दा थप मानवीय क्षति हुने र मुलुक नै संकटमा पुग्ने अवस्था आउन सक्थ्यो,’ प्रहरी स्रोतले भन्यो, ‘प्रहरी रक्षात्मक बन्न पुगेको थियो जसले गर्दा आफ्नो हतियार र ठूलो मानवीय क्षति भएन।‘
सो अवस्थामा जेलमा रहेका कैदीहरु पनि भाग्न पुगेका थिए।अवस्था कसैको नियन्त्रणमा थिएन। सो समयमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च तहका नेताहरुका घर जलाइएको थियो भने उनीहरुलाई सेनाले सुरक्षित स्थानमा सारेको थियो।
‘उक्त समय मुख्य सचिव, प्रधानसेनापति, गृहसचिव, प्रहरी महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान प्रमुख, गृहका उच्च अधिकारीसहित एआईजी कार्की संगै हुनुहन्थ्यो,’ स्रोतले भन्यो, स्थिति यति जटिल थियो सबै एकैठाउँ हुँदा पनि स्थिति नियन्त्रणमा आउने अवस्था थिएन।त्यस्तो परिस्थितिमा उपत्यका प्रहरी प्रमुखले कुनै जादू त गर्न सक्दैन। त्यसकारण घटनाको जिम्मा वा दोष कुनै एक व्यक्तिलाई दिने कुरा न्यायोचित हुँदैन।‘
यद्यपी दुबै दिनको घटना छानविन गर्न र दोषी उपर कारबाही गर्न विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनेर काम गरिरहेको छ।सो आयोगको सिफारिसमा दोषी उपर कारबाही नि होला। तर, सो घटनालाई देखाएर आफ्नो स्वार्थको रोटी सेक्न खोज्नु संगठनका लागि प्रतिउत्पादक हुने प्रहरीकै एक अर्का उच्च अधिकारीले बताए।
विधिको शासन र अनियमिताविरुद्ध भएको जेन जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायधीस शुसीला कार्कीको नेतृत्वमा बनेको छ। कार्की प्रधानन्यायधीस हुँदा प्रहरीमा पहिलो वरियताका नवराज सिलवाललाई आईजीपी बनाउन आदेश दिनुभएको थियो।
‘सम्माननीय प्रधानमन्त्री विधिको शासन पालना गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ,’ एक उच्च अधिकारीले भने, ‘भोलि हुने निर्णयमा पनि संगठनले न्याय पाउनेछ। तर. हामी भित्रै अस्वस्थ्य प्रतिस्पर्धा गर्ने, एकले अर्कोलाई खुइल्याउन थाल्ने हो भने संगठन कमजोर हुन्छ।‘
प्रहरीका एक पूर्व उच्च अधिकृतले संगठनलाई व्यवस्थित र अनुशासित बनाउने जिम्बेवारी प्रहरी कै भएको र पछिल्लो चुनौतिको सबै मिलेर सामना गर्नुपर्ने बताए।
उनले भने, ‘मुलुकभर शान्ति सुरक्षाको स्थितिलाई मजबुद गराएर घोषित निर्वाचन सम्पन्न गराउने दायित्व भएको बेलामा व्यक्तिगत स्वार्थ केन्द्रित गतिविधि गर्नुभनेको प्रहरी संगठनलाई कमजोर बनाउनु हो।‘
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




