टीकापुरमा बालबालिकाको पोषणका लागि बालभिटा खुवाइँदै
काठमाडौं । कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम सञ्चालनमा छन् । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ ।
बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ ।
बालबालिकाको पोषणमा ध्यान दिन कैलाली जिल्लाभरि यस वर्ष बालभिटा खुवाउन थालिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । गत असोजदेखि कैलालीको टीकापुर नगरपालिकाले छ महिना पुगिसकेका बालबालिकालाई अनिवार्य बालभिटा खुवाउन थालेको हो ।
“बालबालिकालाई छ महिनादेखि दुई वर्षसम्म बालभिटा खुवाइने भएपछि बच्चाका आमाहरूले बालभिटालाई बच्चाको खानामा मिसाएर खुवाउने गरेका छन्”, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका चन्द्रावती शर्माले भनीन्, “बच्चालाई स्वस्थ रहन सघाएको छ । बच्चाले पनि बालभिटा रुचाएर खाने गरेका आमाहरू बताउँछन् ।”
टीकापुरकी पुष्पा देवकोटाले पनि आफ्नो बच्चालाई नियमित बालभिटा खुवाइरहेको बताइन् । “पहिलो बच्चा हुँदा बालभिटा खुवाउन पाइएन, अहिले दोस्रो बच्चाको पालामा स्वयंसेविकाले बालभिटा दिनुभयो, मैले खुवाइरहेकी छु”, देवकोटाले भनीन्, “छोरी स्वस्थ छिन्, सरकारले बालबालिकाको स्वास्थ्य राम्रो होस् भनी ल्याएका कार्यक्रम राम्रा छन् ।”
बालभिटा १५ प्रकारका भिटामिन तथा खनिजतत्वको मिश्रण हो । यो सानो पुरियामा पाइन्छ । बालभिटा खानामा मिसाएर खुवाइन्छ । बालभिटा छ महिना पूरा भएदेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाउनुपर्छ ।
बालभिटा घरमा तयार पारिएका खानेकुरा (जाउलो, लिटो, मिचिएको दाल, भात) सजिलैसँग मिसाएर खुवाउन सकिने भएकाले बालबालिका पनि रुचाएर खाने गरेको आमाहरू बताउँछन् ।
टीकापुरकै दुर्गा चौधरीको बच्चाले पनि खानासँग बालभिटा खाइरहेको छ । “पालिकाले बच्चाको नियमित वृद्धि अनुगमन, स्वस्थ बच्चाबीच प्रतिस्पर्धाजस्ता कार्यक्रम पनि गरिरहेको छ । यसले हामी आमाहरूलाई पनि सचेत गराउने गरेको छ”, चौधरीले भनीन्, “मेरो बच्चा स्वस्थ छ । हरेक महिना वृद्धि अनुगमन गर्दा स्वास्थ्यकर्मीले बच्चाको अवस्थाबारे भन्छन्, कसरी स्याहार्ने भनी सुझावसमेत दिने गरेका छन् ।”
बालभिटामा आइरनलगायत खनिजतत्व उपलब्ध हुने भएकाले रक्तअल्पता हुनबाट जोगाउने स्वास्थ्यकर्मी बताउँछन् । छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई हरेक छ महिनाको अन्तरालमा दैनिक एक प्याकेटको दरले ६० प्याकेट बहु सुक्ष्म पोषकतत्वको मिश्रण थप आहारमा मिलाएर खुवाउनुपर्ने टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सिनियर अहेव कमलबहादुर रावल बताउछन् ।
“बालभिटा खुवाउँदा बच्चाको दिमागको विकास, शरीरको वृद्धि विकास, रोगसँग लड्ने क्षमताको विकास, खाना खाने रुचिमा वृद्धि, रक्तअल्पता तथा अन्य सुक्ष्म पोषकतत्वको कमीले हुने विकृति कुपोषणबाट जोगाउँछ”, रावलले भने, “बालबालिकालाई चनाखो र दरिलो बनाउन सघाउने भएकाले एक दिनमा एउटा बच्चालाई एक पुरिया बालभिटा खुवाउनुपर्ने मापदण्डअनुसार आमाहरूलाई खुवाउन भनेका छौँ । राम्रो प्रतिक्रिया आएको छ ।”
बालभिटा समुदायमा महिला स्वास्थ्य स्वयंसेविकामार्फत वितरण गर्ने गरिएको छ । यसका साथै पालिकाले स्वस्थ बच्चा प्रतिस्पर्धामा उत्कृष्ट हुने बच्चा र आमालाई पुरस्कृत गर्ने गरेको छ ।
यसका साथै कुपोषित बालबालिकाको उपचारका लागि सबै स्वास्थ्य संस्थामा आकस्मिककक्ष स्थापना गरिएका छन् । कुपोषित बालबालिकालाई तयारी खाना खुवाउने गरिएको छ ।
“समुदायमा रहेका कुपोषित र कुपोषणको जोखिममा रहेका बालबालिकालाई स्वास्थ्य संस्थामा प्रेषित गर्छौँ”, स्वयंसेविका सुशीला ढुङ्गानाले भनीन्, “स्वास्थ्य संस्थाले प्रत्यक्ष निगरानीमा बच्चाको उपचार गर्छन् । बालबालिका भविष्यका कर्णधार भएकाले पोषणमा ध्यान दिन आवश्यक छ ।”
ताजा अपडेट
-
१.
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
-
२.
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
-
३.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
४.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
५.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
ट्रेन्डिङ
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




