निर्वाचनका लागि बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन

काठमाडौं । बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् ।

शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

बाँकेमा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल रहेका छन् ।जिल्लाका १३६ मतदान केन्द्रमध्ये १०६ मतदान केन्द्र अत्यन्तै संवेदनशील भएको र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी सोअनुरुप सुरक्षा प्रबन्ध मिलाइएको छ ।

सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै सुरक्षा निकायलाई जिम्मेवारीअनुसार परिचालन गरिएको छ ।

प्रजिअ खत्रीले भारतसँंग खुला सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतदान केन्द्रलाई अतिसंवेदनशील र संवेदनशिलको रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाएको उल्लेख गर्दै भारतँंग सीमा जोडिएका पालिकाको वडामा रहेका मतदान केन्द्र अत्यन्तै संवेदनशीलको रुपमा लिइएको बताए ।

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल-भारत सीमा ७२ घण्टाका लागि बन्द गर्ने द्विपक्षीय सहमति भइसकेकाले यही वैशाख २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्मका लागि सीमाक्षेत्रबाट हुने आवागमन पूर्णरूपले बन्द गरिएको छ ।

एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा कूल तीन लाख २९ हजार ४७३ ले मतदानमा भाग लिदैछन् ।

You might also like
Comments
Loading...