प्रहरीले सर्वसाधारण नागरिकको सुरक्षामा कुनै कमी हुन दिँदैन : प्रहरी महानिरीक्षक कार्की
बुटवल। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले सर्वसाधारण नागरिकको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।
उहाँले चन्दा उठाउने, चोरी–डकैती गर्ने र उच्छृङ्खल गतिविधि गर्नेहरूलाई कानुनी दायरामा ल्याउने बताउँदै उद्योगी व्यवसायीलाई ढुक्क भएर काम गर्न सक्ने वातावरण बनाउने जिम्मा प्रहरी प्रशासनले लिन्छ भन्नुभयो ।
लुम्बिनी प्रदेश सुरक्षा परिषद्को बैठकमा सहभागी हुन रूपन्देही आउनु भएका प्रहरी महानिरीक्षक कार्की र बुटवल उद्योग वाणिज्य सङ्घका पदाधिकारीबिच मङ्गलबार बुटवलमा भएको भेटघाट तथा छलफलमा महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो ।
महानिरीक्षक कार्कीले भन्नुभयो– उद्योग, व्यापार र लगानी सुरक्षित रहे देश समृद्धितर्फ अघि बढ्ने भएकाले निजी क्षेत्रलाई सुरक्षाको सम्पूर्ण प्रत्याभूति दिलाउँछौं ।
भारत र चीनजस्ता छिमेकी मुलुकले औद्योगिक विकास र निर्यात वृद्धिका आधारमा तीव्र आर्थिक प्रगति हासिल गरेको उल्लेख गर्दै उहाँले नेपालमा पनि निजी क्षेत्र र सरकारबिच समन्वय बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।
छलफलका क्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले गत भदौ २३ र २४ मा जेन–जी आन्दोलनका क्रममा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले निजी क्षेत्र त्रसित र अन्योलमा परेको बताउनुभयो ।
उहाँले यस्ता गतिविधिमा संलग्नलाई चाँडो पहिचान गरी कानुनी कारबाही गर्न र भरपर्दो सुरक्षा वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो।
अध्यक्ष अर्यालले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उद्योग–व्यवसायलाई भयरहित वातावरणमा सञ्चालन गर्न नसकिए अर्थतन्त्रमा गम्भीर असर पर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो–‘‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान रहेको निजी क्षेत्र सुरक्षित नहुँदा मुलुककै आर्थिक स्थिरता सङ्कटमा पर्न सक्छ ।’’
छलफलमा सङ्घका पूर्व अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरू, यस क्षेत्रका प्रहरी अधिकारीहरूको उपस्थिति रहेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...
घट्यो नेप्से
काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...




