सरकारले साझामार्फत ३७ विद्युतीय बस भित्र्याउँदै

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सरकारले दीर्घकालीन रूपमा विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको बताएकी छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज आयोजना गरेको कार्यशाला गोष्ठीमा मन्त्री यादवले साझा यातायातमार्फत ३७ विद्युतीय बस ल्याउन लागिएको बताइन् । तीमध्ये अहिले तीन बस परीक्षणमा रहेको र परीक्षण सकिएपछि बाँकी बस आइपुग्ने उनले बताइन् । सरकारले सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग विद्युतीय हुने र आगामी दिनमा यातायातमा विद्युतीय माध्यमको प्रयोग बढाइने यादवले बताइन् ।

त्यस्तै, सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पहिले काठमाडौं आउँदा ट्रलिबस देखेको भएपनि अहिले त्यसको अवशेषसमेत बाँकी नभएको बताएकी छन् ।

साझा यातायातले पहिले तामझामका साथ ल्याएको विद्युतीय बसको अवस्थाबारे अहिले जानकारी नभएको उनले बताइन् । काठमाडौंलगायतका सहरी क्षेत्रको एकीकृत विकासका लागि युटिलिटी करिडोरसम्बन्धी विधेयक अघि बढाइएको उनको भनाइ छ ।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले २० वर्ष पुराना सबै सवारीसाधन चल्न नदिइने व्यवस्थामा परिवर्तन गर्न खोजिएको बताएका छन् । सवारीसाधनको अवस्था सही छ भनी परीक्षण भएका सवारीसाधन चल्न दिने गरी विधेयक अघि बढाएको उनले जानकारी दिए। मन्त्रालयका सहसचिव केशवकुमार शर्माले विद्युतीय सवारीसाधनको विकासका लागि कानुन आवश्यक भएको बताए ।

You might also like
Comments
Loading...