मङ्लबार, फाल्गुन २७, २०८१
English
Follow us:

महानगरको विकासमा मेरो सदैव समर्थन : दाहाल

महानगरको विकासमा मेरो सदैव समर्थन : दाहाल

  • खबर सेवा

  • शनिबार, जेष्ठ २१, २०७९

  • 12
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई महानगरभित्रको फोहोर व्यवस्थापनदेखि हरेक विकास निर्माणका काममा आफ्नो साथ रहने बताएका छन् ।

शनिबार बिहान ललितपुरको खुमल्टारस्थित दाहाल निवासमा शाहसँगको भेटमा दाहालले उक्त प्रतिवद्धता जनाएका हुन् । भेटमा शाहले अध्यक्ष दाहालसँग काठमाडौं महानगरको समग्र विकासका सन्दर्भमा पनि कुराकानी गरेका छन् । महानगरको विकासका सन्दर्भमा विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेटवार्ता गर्ने क्रममा मेयर शाहले आज अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन् ।

भेटमा प्रमुख शाहले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको जानकारी दिँदै फोहर व्यवस्थापनलगायतका कामको थालनी भएको जानकारी गराएको अध्यक्ष दाहालका प्रेस सहयोगी सूर्यकिरण शर्माले जानकारी दिए।

अध्यक्ष दाहालले माओवादी पार्टीले पनि युवालाई समेटेर अघि बढेको र यसपालीको स्थानीय तह निर्वाचनमा पनि युवाहरु नै बढी विजयी भएको जानकारी दिँदै युवाको विकास अभियानमा साथ र सहयोग रहने विश्वास व्यक्त गरे।

शाहको सचिवालयका अनुसार काठमाडौंमा उनको विजय नै आम नेपालीको विजय भएको उल्लेख गर्दै कुनै एउटा पार्टीगतभन्दा पनि मतदाताको सम्मानका लागि विकासका काम गर्न अध्यक्ष दाहालले शुभकामना दिएका छन् । अध्यक्ष दाहालले धरान, काठमाडौंलगायतमा स्वतन्त्र उम्मेदवार विजयी हुनुले मुलुकमा नयाँ क्रान्तिको शुरुवात भएको बताएको दाहालको सचिवालयले जनाएको छ ।

भेटपछि राससँगको कुराकानीमा प्रमुख शाहले अध्यक्ष दाहालसँगको भेटमा आफूले विकासको काममा निरन्तरता दिने, विकासको एजेण्डा बोक्न सक्ने र दृष्टिकोण भएका व्यक्तिलाई राजनीतिमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएको जानकारी दिए । यसअघि प्रमुख शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology